वीरगंज (पर्सा), २८ साउन । वि.सं. १९८४ (सन् १९२७) मा चन्द्र शमशेरको शासनकालमा स्थापित नेपाल गभर्मेन्ट रेल्वे नेपालको पहिलो रेल सेवा हो । तत्कालीन बेलायती सरकारले भारतको रक्सौलदेखि नेपालको अमलेखगन्जसम्म ४७ किलोमिटर रेल्वे निर्माण गरी सेवा सञ्चालनमा ल्याएको थियो । उक्त समयमा तराईका यस भेगका मानिसहरु अमलेखगन्जबाट भीमफेदी हुँदै काठमाडौंसम्म पुग्न पैदल यात्रा गर्थे ।
नेपाल गभर्मेन्ट रेल्वे (Nepal Government Railway ‘NGR’) नेपालको पहिलो रेलमार्ग थियो । अमलेखगञ्ज र रक्सौल जोड्ने ४७ किलोमिटर लामो पहिलो नेपाल गभर्मेन्ट रेलवे तात्कालीन प्रधानमन्त्री चन्द्र शमशेरको शासनकालमा वि.सं. १९८४ स्थापना भएको रेल्वे वि.सं. २०३१ मा बन्द भएको थियो । चन्द्रशमशेरले रक्सौलसम्म आएको अङ्ग्रेजको रेल अमलेखगञ्जसम्म जोडेका थिए ।
सन् १९२३ मा, भारतीय वन सेवाका जेभी कोलिएरले नेपालको वन पैदावर परिवहनको लागि सर्ट न्यारो गेज रेलवे निर्माण गरेका थिए । कोलिएरलाई राणा प्रधानमन्त्रीले नेपालको वन विभाग व्यवस्थापन गर्ने जिम्मेवारी दिएका थिए । सन् १९२३ को जाडोमा, कोलकाताको मार्टिन्स लाइट रेलवे (मार्टिन एन्ड को.) ले उत्तरको सिमाबाट अमलेखगञ्जसम्म रेलमार्ग निर्माण गर्न सर्वेक्षण गरेका थिए ।
निर्माण कार्य सन् १९२६ मार्चबाट सुरु भयो र सन् १९२७ फेब्रुअरी १६ मा नेपाल गभर्मेन्ट रेलवे सञ्चालनमा आएको थियो । न्यारो गेज रेलवेले २ फिट ६ इन्च (७६२ मिमी) को ट्रयाक गेज उपयोग गर्थ्यो । यस रेल्वेमा सातवटा वाष्प लोकोमोटिभ, १२ कोच र ८२ बोगी थिए । यो रेल्वे बेलायतको ‘बेयेर, पिकक एन्ड कम्पनी’ द्वारा निर्मित ग्यारेट लोकोमोटिभबाट सञ्चालन हुन्थ्यो ।
राजमार्ग नबन्दासम्म, अमलेखगञ्ज-रक्सौल रेलमार्ग अप्रत्यक्ष रूपमा काठमाडौँलाई भारतसँग जोड्ने एकमात्र बाटो थियो । काठमाडौँबाट यात्रीहरू पहाडै-पहाडको बाटो हिडेर चुरेको फेदीमा पुग्थे जहाँबाट उनीहरू लरी चढेर अमलेखगञ्जसम्म आएर रेल चढेर भारत जाने गर्दथे । सन् १९५६ मा त्रिभुवन राजमार्गको निर्माणपछि हिड्नु पर्ने बाध्यता अन्त्य भएको थियो । नेपाल ट्रान्सपोर्ट सर्भिस नामक एक निजी कम्पनीले सन् १९५९ मा पहिलो पटक बस सेवा सुरु गरेको थियो ।
प्रतिक्रिया दिनुहोस् !