• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २३ साउन । बारा जिल्लाको बारागढी गाउँपालिका वडा नं. ३ मुर्कीपलिया स्थित श्री राम कबिर भगवान मठको नाममा रहेको जग्गा केही स्थानीयले मोहीको नाममा बाँडफाँड गरेको पाइएको छ । मठको पुजारी भारतीय नागरिक रहेको मौका छोपी स्थानीय बुद्धिजीवी एवं शिक्षकले मोहीको नाममा करिब ४ विगहा जग्गा बाँडफाँड गरेको पाइएको हो । मठको नाममा दर्ता रही तत्कालीन पुजारी हरिशरण दासको नाममा मोही रहेको किता नं. ३२६ को २ विगहा ३ कठ्ठा १० धुर खेत स्थानीय हरिहर साह कानुले आफ्नो नाममा मोही कट्टा गराएको पाइएको छ ।
मठको नाममा रहेको करिब १० विगहा जग्गामध्ये पुजारी हरिशरण दासको नाममा मोही रहेको जग्गाहरुमा स्थानीय हरिहर साह कानु, महेन्द्र प्रसाद कुम्हारले फर्जी कागज तयार पारि आफ्नो नाममा मोही कट्टा गराई नामसारी गराएको तथ्य बाहिरिएको छ । हरिहर साह कानुले एकै कित्ताको २ विगहा ३ कठ्ठा १० धुर जग्गा मोही नामसारी गराएका छन् भने महेन्द्र प्रसाद कुम्हारले किता नं. ७७ को ४ कठ्ठा, किता नं. ८६ को ७ कठ्ठा १० धुर, किता नं. १४० को ६ कठ्ठा गरि साढे १७ कठ्ठा जग्गा मोही नामसारी गराएका हुन् ।
वि.स. २०२१ सालको मोहीमा किता नं. ५७ मा १२ कठ्ठा, किता नं. ८२ मा ७ कठ्ठा १५ धुर, किता नं. ११३ मा ३ विगहा १३ कठ्ठा १० धुर, किता नं. ३२६ मा २ विगहा ३ कठ्ठा १० धुर जग्गा मोही रहेकोमा पुजारी दासको मृत्यू भइसकेपछि स्थानीय महेन्द्र प्रसाद कुम्हार र हरिहर साह कानुले भारतीय नागरिकलाई पुजारीको हकदार बनाई उनीसँग मिलोमतो गरि आफ्नो नाममा मोही नामसारी गराएको पाइएको हो । वि.स. २०२१ सालको जग्गा लालपुर्जामा किता नं. ३२६ को २ विगहा ३ कठ्ठा १० धुर जग्गा तत्काली स्व. पुजारी हरिशरण दासको नाममा मोही देखिएपनि वि.स. २०४० सालमा हरिहर साहले आफ्नो नाममा मोही नामसारी गराएका छन् ।
मठको जग्गामा पुजारीको हक लाग्ने र उनी नभए उनको सन्तानको हक लाग्ने प्रावधान छ । तर पुजारीको मृत्यु भएको मौका छोपी अलि पढेलेलेखका दुबैजनाले नक्कली छोरा (हकदार) खडा गरि आधा आधा बाँडफाँड गर्ने योजना अनुरुप तेश्रो व्यक्तिको नाममा मोही नामसारी दर्ता गराइएको पाइएको छ । महेन्द्र प्रसाद कुम्हार तत्कालीन शिक्षक पेशाबाट सेवा निवृत्त व्यक्ति हुन् भने हरिहर साह कानु लेखापढी गर्ने व्यक्ति हुन् । गाउँघरमा पहिला शिक्षित व्यक्तिहरु नभएको मौका छोपी दुबैजनाले ४ किताको करिब ४ विगहा जग्गा आफ्नो नाममा मोही नामसारी गराएका छन् । मठको जग्गा विगत लामो समयदेखि गाउँका स्थानीयहरुले मालपोत कार्यालयदेखि मठलाई कोत तिरेर जोतभोग गर्दै आएका थिए ।
मठको जग्गा खाली गराउने अभियान सुरु भएपछि ति सबैले जग्गा छाडेपछि ति दुई व्यक्तिले जग्गा नछाडेपछि मोही नामसारी गराएको घटना बाहिरिएको थियो । साह र कुम्हारले तत्कालीन पुजारी हरिशरण दासको मृत्यु पश्चात भारतको विहार घोरासहन निवासी ललित दासलाई अशिँयार बनाएको पाइएको छ । ललित दास भारतीय नागरिक भएपनि उनले जन्मको आधारमा नेपाली नागरिकता पनि प्राप्त गरेका छन् । लेखनदास साहको इसारामा भारतीय नागरिक ललित दासले जन्मको आधारमा लिएको ना.प्र.नं. ३३३०४७/४८ को नागरिकता प्रतिलिपी लिएका छन् र २०७३ साल पुसमा हकदार (अँशियार) को कागजात बनाएका छन्, जबकी तत्काली पुजारी वि.स. २०३५ सालमै नेपाल छाडी अयोध्या गएको र त्यही स्वर्गवास भइसकेका छन् ।
उनको नामको मोही जग्गालाई निजी व्यक्तिको नाममा नामसारी गराउन विभिन्न प्रपञ्च रचि कागजातहरु तयार पारिएको पाइएको हो हरिहर साह कानु आफै लेखनदास भएको कारण भारतीय नागरिक ललित दासलाई तत्कालीन स्व. पुजारीको अँशियार बनाएको कागजात पनि फेला परेको छ । २०७३ साल पुस रोज ५ मा बनाइएको कागजातमा स्व. पुजारीले ललित दासलाई धर्मपुत्र (चेला) बनाएको उल्लेख गरिएको छ ।
कागजातमा ‘लिखितम धर्मपुत्र बस्नेको नाम महन्थ रामरुप दासको नाती, मोहनलाल दासको छोरा गाविस विशुनपुर्वा वडा नं. ५ बस्ने २९ वर्षीय ललित दास धर्मपुत्र (चेला छोरा), लिनेको नाम ठाकुर दासको नाती, महन्थ रामरुप दासको छोरा जिल्ला बारा गाविस खोपवा वडा नं. २ बस्ने ७० वर्षीय रामानन्द दास अविवाहित रहेको र मेरो बुढेसकालमा सेवा टहल रेखदेख गर्न कोही नभएकोले बुढेसकालमा सेवा टहल रेखदेख औषधी उपचार गर्न गराउनलाई खासै भाई मोहन २ छोरा मध्ये जेठो ललित दास र कान्छो वृजकिशोर दासमध्ये जेठो छोरा ललित दासलाई धर्मपुत्र (चेला छोरा) लिएको भनेर सही छाप गरिएको छ ।
अँशियार छोरा ललित दासलाई बारा जिल्ला खोपवा गाविस निवासी मोहन दासको छोरा बनाई नेपाली नागरिकता बनाइएको छ भने दासको ८०८५०८७२०३४८ नम्बरको भारतीय पहचानपत्रमा ललितकिशोर प्रसाद दास र बुवाको नाम रामानन्द प्रसाद यादव उल्लेख गरिएको छ । यसैगरि उनको भारतीय भोटर कार्डमा नाम ललितकिशोर र बुवाको नाम राजमोहन राम उल्लेख छ । यसैगरि छोरा तीर्थराज यादवको ९५९१३९१६६०२८ नम्बरको भारतीय पहचानपत्रमा आफ्नो नाम ललितकिशोर प्रसाद यादव नाम राखेका छन् भने अर्का छोरा अभय कुमारको ८८२०१८३७७५८४ नम्बरको पहचानपत्रमा ललितकिशोर प्रसाद यादव नै नाम राखेका छन् । त्यसैगरि श्रीमती पुष्पा देवीको ६७५१८७९५०१५६ नम्बरको भारतीय पहचानपत्रमा श्रीमान्को नाम ललितकिशोर प्रसाद मात्रै राखेका छन् ।
पुजारीको अँशियार बनेका ललित दासले नेपाल भारतमा परिवारको आधारकार्ड, भोटरकार्ड जतिपनि कागजात बनाएका छन्, सबैमा बेग्लाबेग्लै नाम राखेका छन्, यसैबाट उनको गलत काम पुष्टि हुन्छ । उनले लिएको नेपाली र भारतीय नागरिक प्रमाणपत्रमा छुट्टा छुट्टै बुवाको नाम राखेका छन् । उनी भारतीय नागरिक भएपनि स्थानीय मोहन दासको छोरा बनेर नागरिकता बनाई मठको अँशियार कागजात हात पारेका छन् र त्यही अँशियारको बहानामा स्थानीय व्यक्तिहरुको नाममा मठको जग्गा मोही नामसारी गराउन सघाउँदै आएका छन् ।
तत्कालीन पुजारी हरिशरण दासको नाममा रहेको मोही जग्गा अन्य स्थानीय व्यक्तिको नाममा मोही नामसारी भएको र कब्जा गरेको घटना बाहिर आएपछि स्थानीयहरुले मठको जग्गा संरक्षण गर्न समिति बनाएर जिल्ला प्रशासन कार्यालयदेखि अदालतसम्म जाहेरी दिएका छन् । मठको जग्गा संरक्षण गर्न रामबाबु यादवको अध्यक्षतामा १३ सदस्यीय श्री राम कबीर भगवान मठ संरक्षण समिति गठन गरेर हालको पुजारी भारतीय नागरिक ललित दास विरुद्ध जिल्ला प्रशासन कार्यालयमा नागरिकता छानविनको लागि उजुरी समेत दिएका छन् । तर प्रशासनबाट खासै पहल हुन नसकेको स्थानीयहरुको भनाई छ । उनीहरुको अनुसार लेखनदास हरिहरसाह कानुले बि.स. २०४१ सालमा मालपोत कार्यालयका कर्मचारीसँग मिलोमतो गरि मठको जग्गा आफ्नो नाममा मोही नामसारी गराएको बताए । दुई चार जना व्यक्तिको समूहले मठलाई संरक्षणमा बाधक बनि रहेको र व्यक्ति विशेषको नाममा मोही नामसारी गराउन सहयोग गर्ने गरेको बताए ।
मठको जग्गा संरक्षण गर्न धेरै कसरत गरेको तर कुनै ठोस परिणाम निस्किन नसकेको स्थानीयहरुको भनाई छ । मठको जग्गा संरक्षण गर्नुपर्ने सबैको दायित्व रहेको अवस्थामा दुई चारजना पढेलेखेका व्यक्तिहरुको कारण मठको जग्गा गलत प्रक्रियाबाट मोही नामसारी भएको बताए । हरिशरण दासको मोही रहेको जग्गा अन्य स्थानीय व्यक्तिहरुको मोही नामसारी कसरी भयो ? भनेर सम्बन्धित निकायसँग प्रश्न गर्दा कसैसँग ठोस् जवाफ नरहेको उनीहरुको भनाई छ । फर्जी कागजात तयार पारी जग्गा कब्जा गरेका हरिहर साह कानुका छोराले खेतलाई पनि अन्य व्यक्तिलाई जोतभोग गर्न दिएको स्थानीयहरुको भनाई छ ।
हाल अँशियार बनाइएका पुजारी ललित दास पनि फट्हा व्यक्ति रहेको स्थानीयहरुको आरोप छ । भारतीय नागरिक ललित दासले एकदिन पनि मठमा पुजा नगरि सधैं भारतमै बस्ने गरेको र भित्रभित्रै केही व्यक्तिहरुको मिलोमतोमा अन्य व्यक्तिहरुको मोही नामसारी गराउन सघाई रहेको उनीहरुको भनाई छ । त्यस बखत पढेलेलेका ति दुई व्यक्ति मात्रै रहेकोले समाजलाई डराई धम्काई विभिन्न फर्जी कागज तयार पारि जग्गा मोही नामसारी गराएको उनीहरुको भनाई छ ।
यता मोही नामसारी गराएका लेखनदास हरिहर साह कानुले आफूले अदालतको आदेशबाट जग्गा नामसारी गराएको बताए । उनले अदालतको निणर्य अनुसार नै यो जग्गा आफ्नो नाममा मोही नामसारी भएको भन्दै यसको जवाफ अदालतसँग माग्नुपर्ने बताए । उनले भने ‘तपाइँ अदालतमा खोज्नुस्, कसरी नामसारी भयो ? किन निणर्य गर्यो ? मेरो नाममा नामसारी भएको जग्गा हो, यो मेरो हो, बाँकी कुरा अदालतबाट बुझ्नुस्’ ।
यसैगरि अर्का मोहीयानी तत्कालीन शिक्षक महेन्द्र प्रसाद कुम्हारका छोरा सुरेन्द्र पंडितले बुवाबाजेको पालामा नै बि.स. २०४० सालमा अदालतबाट मुद्दा लडेर लिएको बताए । नियम कानून पूर्वक कागजात पुर्याई मोही नामसारी गराएको बताए । मोहीयानीसँग पनि कसरी मोही लिन सकिन्छ ? भनेर सोध्दा त्यसको जवाफ अदालतसँग लिनुपर्ने बताए । उनले अदालत र भूमिसुधारको फैसला अनुसार मोही नामसारी बाँडफाँड भएको २ वर्ष वितिसकेको बताए । उनले भने अदालतले कसरी फैसला गर्यो त्यहाँ गएर बुझ्नुस्, अदालतको आदेशमा भूमिसुधार कार्यालयको निणर्य अनुसार बुवाको नाममा मोही नामसारी भएको बताए ।
मठ गुठी सँस्थानमा सूचिकृत नरहेको कारण पनि मठको जग्गामा केही व्यक्ति विशेषहरुले लुटतन्त्र मच्चाएका छन् । मठको पुजारीको मृत्युपछि अस्त व्यस्त बनाई फर्जी कागज, नक्कली छोरा बनाई पुजा पनि गर्ने युवकलाई पुजारी बनाई शिक्षक र लेखनदासले जग्गा हड्पेका छन् ।
प्रतिक्रिया दिनुहोस् !