• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २१ साउन । नेपाल भारत दुबै देशको नागरिकता लिएकाहरुको पर्सामा हालीमुहाली बढ्दै गएको छ । जिल्लाको सदरमुकाम वीरगंजमा दोहोरो नागरिकताधारीहरुको हालीमुहाली बढि रहेको अवस्थामा जिल्लाको ग्रामीण भेगमा समेत दोहारो नागरिकताधारीहरुको दबदबा बढ्दै गएको छ । विगत लामो समयदेखि वीरगंजमा बसोबास गरि व्यापार, व्यवसाय गर्दै आएका अधिकाँश व्यापारीहरुसँग दोहोरो नागरिकता रहेको पटक पटक सार्वजनिक हुँदै आएको छ । उनीहरुले व्यापार गर्नुको साथसाथै सार्वजनिक ऐलानी जग्गा कब्जा गर्नेदेखि मिटरव्याजको कारोबार गर्नेहरुसम्मको वीरगंजमा विगविगी छदैछ । तर पर्सा जिल्लाको कुना कुनामा भारतीय नागरिकहरुले फर्जी कागजात तयार पारी नेपाली नागरिकता लिएर कब्जा जमाउन खोजि रहेको पाइएको छ ।
पर्सा जिल्लाको तत्कालीन महादेवपट्टि गाविस वडा नं. ४ (हाल जिराभवानी गाउँपालिका वडा नं. १) बाट वंशजको आधारमा नागरिकता लिएका रामचन्द्र ख्वास थारुले स्थानीय वृद्ध महिलाको नाममा दर्ता हुन लागेको १७ धुर घरारी जग्गा झुक्याएर आफ्नो कब्जामा लिन विभिन्न प्रपञ्च रचेको घटना बाहिरिएको छ । भारतको दिल्ली स्थायी घर भई पर्साको जिराभवानी गाउँपालिका वडा नं. १ मा बस्दै आएका ख्वास थारुले छिमेकी ७२ वर्षीय किसुन दिस्वाको नाममा रहेको किता नं. १५ को ०००९६ वर्गमिटर र किता नं. १७ को ०००३१ वर्गमिटर जग्गाको बीचमै फर्जि किता तयार गरि १७ धुर जग्गा आफ्नो नाममा दर्ता गराएको छोरा राजेन्द्र दिस्वा चौधरीले आरोप लगाएका छन् ।

बुवा किसुन दिस्वा थारुको नाममा दर्ता रहेको जग्गालाई बि.स. २०७६ वैशाख १२ गते आमा दुलरी थरुनीको नाममा दर्ता गराउन मालपोत तथा नापी कार्यालयमा जाँदा बुवा आमा अशिक्षित रहेको मौका छोपी ख्वास थारुले लेखापढी गर्नेसँग मिलोमतो गरि दुबै किताको बीचमै १७ धुर जग्गाको १४०/३९ फर्जी किता नं. तयार गरि आफ्नो नाममा दर्ता गराएको छोरा राजेन्द्रको भनाई छ । ख्वास थारुले बुवा आमा अनपढ रहेको कारण बुवाको जग्गा आमाको नाममा गराई रहेको बखत दुबैजनासँग औठा छाप लगाई १७ धुर घरारी जग्गा हड्पेको उनको भनाई छ ।
भारतीय नागरिक ख्वास थारुले बुवाको नामको जग्गा आमाको नाममा नगराई आफ्नो नाममा नामसारी गराएको थाहा पाएपछि छोरा राजेन्द्रले ख्वास थारु विरुद्ध जिल्ला प्रहरी, जिल्ला प्रशासन कार्यालयदेखि जिल्ला अदालतसम्म न्यायको लागि गुहार गर्दा न्याय नपाएको उनको भनाई छ । राजेन्द्रले भारतीय नागरिक ख्वास थारु विरुद्ध नक्कली बुवा खडा गरि फर्जी कागज तयार पारि वंशजको आधारमा नागरिकता लिएको विरुद्ध जिल्ला प्रशासन कार्यालय पर्सामा उजुरी दिएको दुई वर्ष वित्न लाग्दा कुनै किसिमको सुनुवाई नभएको गुनासो पोखे ।
राजेन्द्रले जिल्ला प्रशासन कार्यालय पर्सामा दिएको उजुरीमा भारतको भारतीय नागरिक ख्वास थारुले दिल्ली राज्य खिरकी बाग वडा नं.. १२ दिल्लीबाट भारतीय विशिष्ठ पहचान प्राद्यिकरणबाट पहचान पत्र नं. ८६११३३८१३९७३ र भारतीय आयकर विभागबाट EAHPA6138H भएको स्थायी लेखा नम्बर समेत लिएको र बि.स. २०५४ सालमा तत्कालीन अवस्थामा खटेको नागरिकता टोलीबाट २०४५/०२/१४ गते ना.प्र.प.नं. ५७२९१३५६ को वंशजको आधारमा नागरिकता प्रमाणपत्र प्राप्त गरेको हुनाले आवश्यक छानविन गरि पाउँ उल्लेख गरिएको छ । साथै अनुसन्धानमा सहज होस् भनेर ख्वास थारुको भारतीय विशिष्ठ पहचान पत्र र भारतीय आयकर विभागबाट प्राप्त स्थायी लेखा प्रमाणपत्रको छायाँकपी समेत पेश गरिएको छ । तर उजुरी दिएको दुई वर्ष वित्न लाग्दा प्रहरी प्रशासनबाट कुनै किसिमको कारवाही नभएको कारण ख्वास कानूनी कारवाहीबाट उम्किदै आएका छन् ।
पीडित राजेन्द्रले एक त भारतीय नागरिक, त्यसमाथि उनकै ज्यादति भनेर प्रशासनसँग हार गुहार माग्दा कुनै कारवाही नभएपछि सञ्चारकर्मीलाई गुहारेका छन् । यस्ता थुप्रै घटनाहरु पर्सामा छन् तर प्रहरी प्रशासनले पैसाको आडमा ति घटनाहरुलाई दबाउँदै आएको सर्वविदितै छ । पटक पटक नागरिकताका विषयहरु उठान गर्दा, प्रमाणपत्र सहित लिखित जाहेरी दिदाँ समेत यस्ता घटनाहरु प्रहरी प्रशासनबाट दबाउँदै आएका कारण दोहोरो नागरिकताधारीहरु आफ्नो दबदबा बनाउन थालेका छन् । विदेशबाट आएर नेपाली नागरिकमाथि दमन, अत्याचार, शोषण, जग्गा कब्जा गर्ने परिपाटी कहिलेसम्म ? यस्ता घटनाहरुमा सम्बन्धित निकायहरु थुप्रै ठाउँमा चुकि रहेका छन् ।













प्रतिक्रिया दिनुहोस् !