• मुस्कान श्रेष्ठ
वीरगंज (पर्सा), २ साउन । नेपालमा असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाहरुको संख्या बढ्दै गएको पाइएको छ । आईतबार वीरगञ्जमा नेपाल पत्रकार महासंघ पर्सा शाखाको सभाहलमा आयोजित महिला स्वास्थ्य तथा गर्भपनत सम्बन्धीत अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ्य लाइभका प्रबन्ध निर्देशक अर्जुन अधिकारीले पछिल्लो समय असुरक्षित तरिकाले गर्भपतन गराउने महिलाको संख्या बढ्दै गएको बताए । उनले विश्वमा अनुमानित २५ करोड ७० लाख गर्भधारण गर्न नचाहने महिलाहरु परिवार नियोजनका सुरक्षित र आधुनिक तरिकाहरु नअपानाएको बताए । यस्तै स्वास्थ्य क्लिनिकहरुले अवैधानिक तरिकाले गर्भपतन गराइरहेको अधिकारीको भनाई छ ।
कार्यक्रममा बिपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्राध्यापक श्याम लम्सालले असुरक्षित गर्भपतनले महिलाहरुमा गम्भीर रोगहरु देखा पर्ने गरेको हुँदा सुरक्षित गर्भपतन सम्बन्धी जानकारी गराउन पत्रकारहरुलाई आग्रह गरे । उनले सांस्कृतिक तथा सामाजिक कारण खास गरी तराई मधेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी रहेको बताए । उनले भने, ‘हाम्रो समाजमा अहिले पनि गर्भपतनको विषयमा खुल्ला रुपमा बहस गर्न सकिदैन । त्यसैले अधिकांश गर्भवती महिलाहरुले नबुझी जथाभावी, लुकीछिपी गर्भपतन गराईरहेका छन् ।’ असुरक्षित गर्भपतनका कारण भएका स्वास्थ्य समस्याहरुको उपचार गराउन आउने महिलाहरु मध्ये २० देखि २२ हजारको मृत्यु हुने गरेको लाम्सालले बताए । असुरक्षित गर्भपतनले महिलाहरुमा बढी रक्तश्राव हुने, मृगौला खराब हुने, पाठेघरमा प्वाल पर्न सक्ने र पिसाबको थैलीमा प्वाल पर्न सक्ने लगायतको सम्सयाहरु देखिन्छ ।
गर्भपतन गराउने स्वास्थ्य संस्था तथा चिकित्सकले अनुमति लिनुपर्ने हुन्छ । तर, अहिले प्राय जसो अस्पताल तथा स्वास्थ्य क्लिनिकहरुले बिना अनुमतिकै गर्भपतन गराइरहेका छन् । नेपालमा ५० प्रतिशत महिलाले १८ वा सो भन्दा कम उमेरमा प्रथम पटक यौन सम्पर्क राखेको पाइएको छ । संयुक्त राष्ट्रसंघीय जनसंख्या कोष (युएनएफपीए) ले नेपालमा प्रत्येक वर्ष हुने १२ लाख गर्भधारण मध्ये झण्डै आधा अनिश्चित र करिब दुई तिहाई गर्भपतन हुने गरेको प्रतिवेदन सार्वजनिक गरेको छ । नेपालमा अनिश्चित गर्भको ६२ प्रतिशत गर्भपतन हुने गरेको छ भने ती मध्ये ५८ प्रतिशतले असुरक्षित गर्भपतन गर्छन् । यस्तै कुल मातृ मृत्यु मध्ये ७ प्रतिशत असुरक्षित गर्भपतनको कारणले हुने गरेको छ ।
कार्यक्रममा अर्जुन अधिकारीले मधेश प्रदेशमा गर्भपतनको अवस्थाको तथ्यांक सार्वजनिक गरेका थिए । आर्थिक वर्ष २०७७÷७८ मा मधेश प्रदेशमा २० वर्ष मुनीका ६ हजार १ सय ५६ जना किशोरी तथा युवतीहरुले सुरक्षित गर्भपतन गराएका छन् । वीरगञ्ज महानगरपालिकामा मात्रै ७ सय ७८ जनाले सुरक्षित गर्भपतन गराएको आधिकारीले बताए । जस मध्ये ४ जना औषधि, ९ जनाले शल्यक्रिया मार्फत सुरक्षित गर्भपतन गराएका छन् । मधेश प्रदेशमा भने २ सय ८१ जनाले औषधि र ४ सय ३१ जनाले शल्यक्रियामाफर्त गर्भपतन गराएका छन् । यस्तै मधेस प्रदेशमा २० वर्षभन्दा माथिका ४ हजार ६० जना महिलाले औषधि सेवन गरेर तथा १ हजार ३ सय ८४ जनाले शल्यकृया मार्फत सुरक्षित गर्भपतन गराएको तथ्याङकले देखाएको छ । अधिकारीले सार्वजनिक गरेको मन्त्रालयको तथ्याङक अनुसार देशका अन्य ६ प्रदेशको तुलनामा मधेस प्रदेशमा असुरक्षित गर्भपतन गराउनेको संख्या बढी छ ।
औषधि व्यवस्था विगागले गर्भपतनका लागि नेपालमा १० वटा औाषधि प्रयोग गर्न अनुमति दिएको छ । तर खुल्ला सिमाका कारण पारीबाट जुनसुकै औषधिको प्रयोग गरिरहेको पाईएको औषधि व्यवस्था विभाग पर्साका प्रमुख किरण बज्रचार्यले बताए । उनले बेलाबेलामा स्वास्थ्य संस्थाहरुको अुनगमन गरिरहेको बताए । यता जिल्ला जन स्वास्थय कार्यलय पर्साका प्रमुख नवलकिशोर साहले पर्सामा १० वटा स्वास्थ्य संस्थाले गर्भपतन गराउने अनुमति प्रात्य गरेकोमा ३ वटा पोखरिया, महुवन र सखुवा प्रसौनीको मात्रै संचालनमा रहेका छन् । उनले जनशक्ति अभाव र निजी तर्फको बढ्दो आर्कषणका कारण सरकारी स्वास्थ्य संस्था भन्दा बढी निजी स्वास्थ्य संस्थाहरुमा गर्भपतन बढी भइरहेको बताए ।














प्रतिक्रिया दिनुहोस् !