• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २५ असार । वीरगंज महानगरपालिकाले सार्वजनिक नाला अतिक्रमण गरि बनाइएको हरिखेतान बुहमुखी क्याम्पसको संरचनालाई भत्काएको छ । वीरगंज सहरको मुख्य नाला अतिक्रमण गरि बनाइएको हरिखेतान बहुमुखी क्याम्पसको संरचनालाई वीरगंज महानगरपालिकाले डोजर लगाएर भत्काउन सुरु गरेको हो ।
वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंह आफैं डोजर लिएर नालामाथिको अतिक्रमित संरचना हटाउन क्याम्पस पुगेका थिए । मुख्य नालामाथि नै संरचना निर्माण गरिएको कारण सरसफाईमा अवरोध भएपछि भवन सहितका संरचना हटाउन महानगरले डोजर चलाएको हो । विगत ४० बर्ष अघि तत्कालीन अञ्चलाधीश लक्ष्यबहादुर गुरुगको बिशेष निगरानीमा सहरको मुख्य नाला अतिक्रमण गरि वीरगंजका उद्योगपति खेतान परिवारले रात्री क्याम्पस निर्माण गरेको थियो ।
नाला अतिक्रमणको पटक पटक विरोध भएपनि हालसम्म नाला अतिक्रमणमुक्त हुन सकेको थिएन । नालामाथि बनेको संरचना हटाउन क्याम्पस संचालक समितिलाई महानगरले पटक पटक ताकेदा गर्दा पनि क्याम्पसले आलटाल गर्दै आएको थियो । तीन दिन अघि मात्रै संरचना हटाउन अल्टिमेटम दिएपछि अतिक्रमित संरचना नहटाइएपछि महानगरले आफै क्याम्पसमा डोजर चलाएको हो । क्यम्पस प्रमुख भगवान यादव र सञ्चालक समितका अध्यक्ष सुनिल खेतानलाई गत शुक्रबार महानगरपालिले अतिक्रमित नालामाथिको संरचना हटाउन आग्रह गरेको थियो तर क्यम्पस तर्फबाट कुनै किसिमको जवाफ नआएपछि महानगर प्रमुख सिंह आफै दुईवटा डोजर लिएर दलबल सहित संरचना हटाउन क्याम्पस पुगेका थिए ।
डोजर लिएर क्याम्पसमा पुगेका मेयर सिंहले सार्वजनिक नाला वा जग्गा अतिक्रमण गरि बनाइएका संरचना हटाएर खाली गराउने महानगरको अभियानमा साथ दिन सबैलाई अनुरोध गरे । उनले हरिखेतान क्याम्पस सामुदायिक क्याम्पस भएपनि वर्षौदेखि नाला नै अतिक्रमण गरि संरचना बनाएको र त्यसले नालाको बहाव नै थुनिएकाले डोजर लगाएर हटाइएको बताए । शैक्षिक सँस्था भएपनि नक्सा पास विना नालामाथि नै भवन बनाउनु कहाँसम्मको जायज रहेको भन्दै महानगर प्रमुख सिंहले शैक्षिक सँस्था वा जोकोहीले पनि गल्ती गरे कारवाहीको भागीदार हुने बताए । विना नक्सा पास बनाइएको संरचना हटाउन विगत ६ महिनादेखि पटक पटक आग्रह गर्दा पनि क्याम्पसले अटेरी गरेको कारण डोजर चलाइएको बताए । सार्वजनिक सम्पत्ति कसैले पनि अतिक्रमण गर्न छुट छैन, सबैलाई अतिक्रमणमुक्त बनाउन विश्वास व्यक्त गरे ।
यसबारे हरिखेतान बहुमुखी क्याम्पसका सहायक क्याम्पस प्रमुख किशोरी रायले जनताको शैक्षिक सँस्थान रहेकोले कम क्षति हुने गरि सोचिदिनुपर्ने बताए । उनले क्याम्पस पनि महानगरकै सम्पत्ति भएको कारण विद्यार्थीहरुको पठन पाठन अवरुद्ध नहुने र सफाई पनि हुने हिसाबले समस्याको समाधान गरिदिनुपर्ने बताए । उनले अहिले सरसफाईको नाममा क्याम्पस तोडफोड हुने काम भइरहेको छ, यसबाट विद्यार्थीहरुको पठनपाठनमा समस्या हुने भन्दै सहायक क्याम्पस प्रमुख रायले महानगरपालिकाले संरचना हटाउन गरेको ताकेताबारे आफूलाई केही जानकारी नभएको बताए ।
उनले नाला अतिक्रमण कुनै नौलो कुरा होइन, विगतका मेयरले सार्वजनिक सम्पत्ति भएकै कारण अहिलेसम्म छुट दिदै आएको भन्दै क्याम्पस पानी बहावको बाधक नभएको बताए । क्याम्पसलाई निजी क्याम्पस सम्झ्नु जनताको अनभिज्ञता रहेको भन्दै सहायक क्याम्पस प्रमुख रायले विद्यार्थीहरुलाई पठनपाठन अवरुद्ध नहुने गरि कम क्षति हुने गरि निकाश निकाल्नुपर्ने बताए ।
हरिखेतान बहुमुखी क्याम्पस सामुदायिक भएपनि क्याम्पस प्रमुख डा. भगवान यादव विगत लामो समयदेखि एकलौटी मोज गर्दै आएका छन् । सामुदायिक क्याम्पस भएपनि हालसम्म एउटा पनि विद्यार्थीले सामुदायिक क्याम्पसबाट पाउने सेवा पाएका छैनन् । क्याम्पस प्रमुख यादवले एकलौटी साम्राज्य बनाई शिक्षाको नाममा लुट्दै आएका छन् । अहिले संरचना भत्काउन थालिएपछि क्याम्पस सामुदायिक हो भनेर सहायक क्याम्पस प्रमुखले खुलेर भन्न थालेका छन् ।
वीरगंज महानगरपालिकाले केहि महिनादेखि वीरगंज सहरको मुख्य नाला सरसफाई तथा नाला माथि गरिएको अतिक्रम निर्माण हटाउने अभियान नै चलाएको छ । क्याम्पसको संरचना नहट्दा नाला सफाइमा अवरोध भएको हो । वीरगंजमा मुख्य सडकको नाला र श्रीपुर क्षेत्रबाट आउने अर्को नाला जोडिएर बनेको मुख्य नाला जिल्ला प्रशासन कार्यालय पर्साको छेउँ हुँदै दक्षिणतिर बगेको छ । वीरगंजकै घनावस्ती एवं केन्द्रविन्दुमा रहेको गीता मन्दिरदेखि आदर्शनगर स्थित हरिखेतान क्याम्पस सम्मको क्षेत्रमा एक दर्जन व्यक्ति तथा संस्थाहरुले नाला अतिक्रमण गरि संरचना बनाएका छन् ।
आदर्शनगरको क्लासिक होटल र कर्पोरेट डेभलपमेन्ट बैंकको भवन पनि नाला माथि नै निर्माण गरिएको छ । अहिले क्लासिक होटल पछाडीसम्मको मुख्य नालामा बनेका संरचना हटाउँदै नाला पूणर् रुपमा सफाई गरिसकिएको छ । राष्ट्रिय वाणिज्य बैंक पछाडीतर्फ पनि हरिखेतान क्याम्पससम्मको क्षेत्रमा पर्ने मुख्य नालामा परेका संरचना हटाउँदै नाला सफाई गरिसकिएको छ । यस पटक मुख्य नाला पूणर् रुपमा सफाई गर्न महानगरले सबै उपाय अवलम्बन गरेको मेयर सिंहले बताए ।
प्रतिक्रिया दिनुहोस् !