• हरिशंकर शर्मा
वीरगंज (पर्सा), २० जेठ । तराईमा गर्मी बढेसँगै जनजीवन कष्टकर बन्दै गएको छ । तातो हावा तथा बढ्दो गर्मीका कारण पर्सा ( बारा सहित तराईको जनजिवन प्रभावित बनेको हो । एका विहानैदेखि सूर्योदय हुनासाथ चर्को घामका कारण जिउ चिलाउने र सन स्ट्रक ‘लु’ लागेर मान्छे बेहोस हुने जस्ता समस्याहरु उत्पन्न भएको छ । केही दिनदेखि गर्मीसँगै तातो हावा चलेको कारण सर्वसाधारणहरु घरबाहिर निस्कन सकेका छैनन् । सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्थाहरुमा सेवाग्राहीको उपस्थिति घट्दो छ । वृद्धवृद्धा, मजदुर तथा बालबालिकाहरू समेत बढ्दो गर्मीबाट प्रभावित बनेका छन् ।
खास गरि दैनिक ज्यालादारीमा काम गर्ने मजदुरहरू प्रभावित भएका छन् । रिक्सा, ठेला चालक, साइकलमा सामान बोकेर टोलटोल पुगी विक्री गर्ने तथा दैनिक ज्यालादारीले जिविकोपार्जन गर्नेहरु यसको चपेटामा नराम्ररी परेका छन् । चर्को गर्मीका कारण बजारमा दिउँसोको समय चहल पहलमा पनि कमि आएपछि मजदुरहरू काम पनि पाएका छैनन् भने सडक पेटीमा व्यापार गर्ने व्यापारीहरु गर्मीबाट प्रभावित बनेका छन् ।
गर्मीले बजार चहलपहल घट्नुको साथै सरकारी कार्यालयहरुमा पनि तुलनात्मक रूपमा सेवाग्राहीको संख्या पातलिएको छ । सर्वसाधारणहरु विहान र बेलुका मात्रै घर बाहिर निस्कन पाइरहेका छन् । घरबाहिर निस्कन नपाएपछि व्यापार देखि दैनिकी कामहरु गर्न नसकेको स्थानीयहरुको भनाई छ । दैनिकी चलाउनका लागि काम गर्नुपर्ने बाध्यता छ तर चर्को घाममा काम गर्दा विभिन्न किसिमका रोग निम्त्याउने भएको कारण घामबाट बचेर दैनिकी कामकाज गर्नुपरेको उनीहरुको भनाई छ ।
यसैगरि रिक्सा, ठेला चालकहरुको आम्दनी पनि घटेको छ । दैनिक १ हजारदेखि १५ सयसम्म कमाई गर्ने मजदुरहरु गर्मीले गर्दा दैनिक ५ देखि ७ सय रुपैयासम्म मात्रै कमाई गर्न पाइरहेका छन् । समयमा पानी नपरेको कारण पनि गर्मी बढेको स्थानीयहरुको भनाई छ । घामले गर्दा कहिँ पनि जान सक्ने अवस्था छैन, आपत्तकालीन अवस्था बाहेक अन्य व्यक्तिहरु बजारमा निस्कन छाडेका छन् । यस्तो अवस्थामा परिवारलाई कसरी पाल्ने भन्ने चिन्ताले उनीहरुलाई सताएको छ ।
अहिले वीरगंजको तापक्रम ह्वात्तै बढेको छ । केही दिनदेखि वीरगंजको तापक्रम न्यूनतम २७ डिग्री सेल्सियस तथा अधिक्तम ४३ डिग्री सेल्सियससम्म पुग्ने गरेको छ । बुधबार वीरगन्जको तापक्रम न्यून्तम २७ डिग्री सेल्सियस र अधिक्तम ४३ डिग्री सेल्सियससम्म मापन गरिएको थियो भने बिहीबार न्यून्तम २७ डिग्री सेल्सियस र अधिक्तम ४३ डिग्री सेल्सियस तापक्रम मापन गरिएको छ । यसैगरि आउँदो शुक्रबारसम्म वीरगंजको तापक्रम न्यून्तम २६ डिग्री सेल्सियस र अधिक्तम ४३ डिग्री सेल्सियससम्म मापन गरिएको छ ।
तराईका जिल्लाहरुमा गर्मी बढेको कारण जनजीवन कष्टकरसँगै विरामीहरुको संख्यामा पनि उत्तिकै बढेको छ । केही दिनयतादेखि नारायणी अस्पतालमा विरामीको चापमा पनि वृद्धि भएको छ । अस्पतालहरुमा खास गरेर झाडापखाला, ज्वरो, सर्पदंशका विरामीहरुले खचाखच भरिएको छ । भाइरस संक्रमणबाट संक्रमित भाइरल ज्वरोका विरामी एवं ‘फड प्वाइजन’ युक्त खानाहरुबाट ग्रसित भई झाडापखालाका विरामीहरुको संख्या बढेको नारायणी अस्पताल आकस्मिक विभाग प्रमुख एवं सूचना अधिकारी फिजिसियन डा. उद्यनारायण सिंहले जानकारी दिए ।
उनका अनुसार मौसम परिवर्तन हुने बेलामा यो भाइरस सक्रिय भएकै कारण भाइरल ज्वरो, झाडापखाला, टाइफाइड जस्ता समस्याहरु देखा पर्ने गरेको बताए । तुलनात्मक हिसाबले झाडापखाला, भाइरल ज्वरो, टाइफाइड ज्वरो तथा सर्पदंशका विरामीहरुको संख्या बढि नै रहेको छ । ज्यानै जाने खालका विरामीहरु त छैनन् तर प्रायः ओपिडिहरुमा सामान्य ज्वरो एवं आकस्मिकमा उच्च ज्वरो, सर्पदंशका विरामीहरु आउने गरेका छन् ।
यसबाट बच्न अनावश्यक रुपमा घाममा नहिँड्ने, हिड्नै परे मौसम अनुसारको लुगा लगाएर घामबाट बचेर हिँड्नुपर्ने, पोषिलो खाना खानुपर्ने, बासी भात एवं बाहिरको खाना नखाने, हातमुख राम्ररी धुने, सरसफाईमा ध्यान दिने, प्रसस्त मात्रामा पानी पिउने, सर्प पाउने ठाउँमा खाली खुट्टा नजाने, अन्ध्यारोमा बाहिर ननिस्कने जस्ता सतर्कता अपनाउनुपर्ने उनको भनाई छ । यता नारायणी अस्पतालका विरामीहरुले बढ्दो गर्मीसँगै अस्पतालमा बस्ने र खानेपानीको सुबिधा नहुँदा विरामीहरु मर्कामा पर्ने गरेका छन् । चर्को गर्मीको बखत विरामी राखिएको भवनमा पंखाको व्यस्था नरहेको खानेपानीको समेत व्यवस्था नरहेको कारण विरामीहरु मर्कामा पर्ने गरेको कुरुवाहरुको गुनासो छ । 














प्रतिक्रिया दिनुहोस् !