काठमाडौं, १० जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध सर्वाेच्च अदालतमा रिट दर्ता भएको छ । बुधबार सिन्धुलीका युवराज पौडेल (सफल)ले लामिछानेको प्रतिनिधिसभा सदस्य पद खारेज गरिपाउँ भनेर रिट निवेदन दर्ता गराएका हुन् ।
दर्ता भएको रिट रिट निवेदनको पेसी जेठ १७ गतेलाई तोकिएको छ । सर्वाेच्चमा दर्ता भएको रिटमा लामिछानेको सांसद पद खारेजसँगै सर्वोच्चको मिति २०७९–१०–१३ गतेको आदेशले कायम नरहेको भनि घोषित गरेको नागरिकताको प्रतिलिपि लिएर उपनिर्वाचनमा भाग लिएको पनि भनिएको छ । साथै, सर्वाेच्चको आदेशसँगै कायम नभएको नागरिकताको प्रतिलिपि अवैध र नेपाली नागरिकता कायम नभएको पनि भनिएको छ ।
दायर रिटमा भनिएको छ, ‘नेपालको संविधानको धारा ८७ (१) (क) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) ले तोकेको योग्यता नपुगेको हुँदा नेपालको संविधानको धारा ८१ (ख) र प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा १२ (क) को अवस्था विधमान भएको हुँदा उत्प्रेषणको आदेशले निज रवि लामिछानेको प्रतिनिधिसभा सदस्यको पद र सोसँग सम्बन्धित उम्मेदवारी एव निर्णय लगायतका सम्पूर्ण कार्यहरू खारेज गरी पाउँ ।’
साथै, लामिछानेले अमेरिकी नागरिकता त्याग गरिसकेको भन्ने प्रमाणित निस्सा पनि पेस नगरिएको दायर रिटमा उल्लेख छ । रिट निवेदनमा लामिछानेसँगै निर्वाचन आयोग, जिल्ला प्रशासन कार्यालय काठमाडौं, प्रतिनिधिसभा, काठमाडौंका सहायक प्रमुख जिल्ला अधिकारी रवीन्द्रप्रसाद आचार्यलाई विपक्षी बनाइएको छ ।
प्रतिक्रिया दिनुहोस् !