वीरगंज (पर्सा), २६ वैशाख । बिहे गर्न भारतबाट आएका बेहुला प्रहरीको खोरमा पुगेका छन् । बेहुली पक्षको उजुरीपछि बुवासहित बेहुला प्रहरीको खोरमा पुगेका हुन् । जन्तीलाई राम्रोसँग स्वागत सत्कार नगरेको भन्दै विवाह मण्डपबाट भाग्न खोज्दा बुवासहित बेहुलालाई केटी पक्षले आवश्यक कारवाहीको लागि प्रहरीलाई बुझाएको थियो ।
वैशाख २४ गते बारा महागढीमाई नगरपालिका–६ बबुआईन टोलमा भारतबाट जन्ती आएको थियो । उक्त दिन कालिचरण प्रसाद चौरसियाको छोरीसँग विवाह हुने मिति तय भएकाले बेहुला पक्ष जन्ती लिएर आएको थियो । जन्ती लिएर आउदा केटी पक्षले राम्रो स्वागत नगरेको भन्दै केटा भाग्न खोजेपछि केटी पक्षले समझाइ बुझाइ गरेको थियो । तर, केटाले स्वागत नराम्रो भएको भन्दै विहे गर्न नमानेपछि प्रहरीलाई केटी पक्षले प्रहरीको जिम्मा लगाएको थियो ।
भारत बिहार पूर्वी चम्पारण ग्राम पंचायत कथवलिया सुगौलीका हुन् बेहुला शशी कान्त चौरसिया । बेहुलाका बुवा श्याम कान्त भगतलाई केटी पक्षले अनेक समझाई बुझाई गर्दा पनि बुवा छोराले उल्टै अश्लील शब्दहरु प्रयोग गरेर हातपात गर्न खोजेका थिए । पक्राउ परेका बेहुला र उनका बाबु उपर अभद्र व्यवहारसम्बन्धी मुद्दा दर्ता गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रशासन कार्यालय बारा, कलैयाबाट १० दिनको म्याद थप गरी अनुसन्धान कार्य भइरहेको जिल्ला प्रहरी कार्यालय बाराका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक पुरुषोत्तम प्रसाद पाण्डेले बताए ।
प्रतिक्रिया दिनुहोस् !