Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
नेशनल मेडिकल कलेज राष्ट्रिय धोती दिवस सामुदायिक विद्यालय रास्वपा पर्सा हरिखेतान बहुमुखी क्याम्पसमा विवाद छिपहरमाई काण्डमा अख्तियारको चार्जशीट हरिखेतान क्याम्पसमा व्यवस्थापनको मनपरी हरिखेतान क्याम्पस विवाद
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

नेपालको पहिलो अखबार, जङ्गबहादुरको बेलायत यात्रादेखि ‘गोरखापत्र’ प्रकाशनसम्म

‘गिद्धे प्रेस’ बाट करिब ५० वर्षसम्म हुलाकपत्र, लिफा, टिकट, सरकारी कागजपत्र मात्र छापिए

वीरगंज टाइम्स
वीरगंज टाइम्स
बैशाख २४, २०८०
नेपालको पहिलो अखबार, जङ्गबहादुरको बेलायत यात्रादेखि ‘गोरखापत्र’ प्रकाशनसम्म

• शिखर मोहन
काठमाडौँ, २४ वैशाख । नेपालमा पत्रकारिताको इतिहास खोज्दा सबभन्दा पहिले जङ्गबहादुरको बेलायत यात्रा, नेपाली विद्यार्थीको बनारस आकर्षण र गोरखापत्रको स्थापनालाई मुख्य आधारका रूपमा अध्ययन गर्नुपर्ने देखिन्छ । जङ्गबहादुरले १९०३ मा प्रधानमन्त्री भएपछि सत्ता टिकाइरहन भारतलाई उपनिवेश बनाएर बसेका बेलायतीहरूसँग राम्रो सम्बन्ध विस्तार गरे । सोही सम्बन्धका आधार बनाएर प्रधामन्त्री भएको करिब ३ वर्षपछि १९०६ माघ महिनामा उनी शाही राजदूतका रूपमा युरोप भ्रमणमा गएका थिए । झन्डै ४० जना रहेको सो भ्रमण टोलीमा उच्च सैनिक अधिकारी, विभिन्न विद्वान, भान्से, नोकरचाकरसमेत थिए ।

पटना, कलकत्ता, मद्रास, श्रीलङ्का, स्वेज नहर, इजिप्ट, कायरोको समुद्री मार्ग हुँदै करिब पाँच महिनापछि १९०७ जेठमा सो टोली बेलायतको साउथ ह्याम्टन पुगेको इतिहासमा उल्लेख छ । भ्रमणका क्रममा सो टोलीले बेलयातको शासन प्रणाली, सैन्य संरचना, कारागार व्यवस्था, शिक्षा प्रणाली, छापाखाना तथा पत्रपत्रिकालगायतका आधुनिक विकासका महत्त्वपूर्ण पक्षको अध्ययन गरी नेपाल फिरेको थियो । विसं १९०८ मा नेपाल फर्किँदा भ्रमण टोलीले युरोपका ज्ञान, सीप र प्रविधिसमेत नेपालमा ल्याए । सो क्रममा जङ्गबहादुरले ‘गिद्धे प्रेस’ नामको छापाखाना पनि साथमै लिएर आए ।

जङ्गबहादुरले नेपाल भित्र्याएको ‘गिद्धे प्रेस’बाट नै नेपालमा छापाखानाको सुरुवात भएको देखिन्छ । करिब ५० वर्षसम्म यो प्रेसबाट हुलाकपत्र, लिफा, टिकट, सरकारी कागजपत्र मात्र छापिए । गिद्धे प्रेस भित्रिएको करिब ११ वर्षपछि मनोरञ्जन छापाखाना स्थापना भयो । त्यसपछि ‘जङ्गी लिथोग्राफी छापाखाना’ सञ्चालनमा आयो । अनि हातेप्रेस, बुद्ध प्रेस हुँदै धेरैवटा छापाखाना नेपालमा स्थापना भएको इतिहास ग्रीष्मबहादुर देवकोटाको ‘नेपालको छापाखाना र पत्रपत्रिकाको इतिहास’मा अध्ययन गर्न पाइन्छ ।

जङ्गबहादुर बेलायत, फ्रान्सलगायत युरोप भ्रमण गर्दा त्यहाँका शैक्षिक तथा पत्रपत्रिकाको अवस्थाबारे जानकार थिए । किनभने युरोपमा सन् १६०५–१० देखि नै नियमित अखबारहरू प्रकाशित हुँदै आएको इतिहास भेटिन्छ । सन् १७०२ मार्चमा ‘डेली कुरान्ट’ नामको पहिलो अङ्ग्रेजी भाषाको अखबार लन्डनबाटै प्रकाशन सुरु भइसकेको थियो । त्यस परिवेशले पनि जङ्गबहादुरमा नेपाली अखबार, पत्रिकाहरू प्रकाशन गर्ने भित्री चाहना थियो । तर तत्कालीन समयमा नेपालमा शिक्षित जनशक्तिको अभावका कारण उनको त्यो चाहना नै अधुरो रह्यो । तर यो कुरा अङ्ग्रेजी भाषाका विद्यार्थी मोतीरामले बनारसमा हुँदा कहीँकतैबाट जान्ने, बुझ्ने मौका पाएका थिए ।

बनारसमा जन्मियो नेपाली भाषाको पहिलो पत्रिका
जङ्गबहादुरले नेपालमा पश्चिमी शिक्षा भित्र्याए पनि सर्वसाधारणका लागि खुला थिएन । अध्ययनमा रुचि राख्ने सर्वसाधारण अभिभाकले आफ्ना छोराछोरीलाई उच्च शिक्षाका लागि बनारस पठाउँथे । बनारस नेपलीहरूका उच्च शिक्षा अध्ययनको मुख्य थलो थियो ।

विसं १९२३ भदौ २५ गते काठमाडौँको भोसिको टोलमा जन्मिएका मोतीराम भट्ट पनि अध्ययनका सिलसिलामा बनारस पुगेका थिए । त्यहाँ विभिन्न साहित्यिक सिर्जना र मोती मण्डली नै गठन गरी नेपाली भाषासाहित्यको उन्नयनमा लागेका थिए । त्यति मात्र नभई उनले नेपाली भाषामा लेख्ने साहित्यकारहरूको खोजीनिती गरे । त्यस क्रममा आदिकवि भानुभक्त आचार्यको जीवनचरित्र, उनले लेखेका रामायणका विभिन्न काण्डहरूसमेत प्रकाशन गरे । साहित्यकार टुकराज मिश्रका अनुसार बनारसमा मोतीराम अङ्ग्रेजी भाषा पढ्दापढ्दै ‘भारत जीवन प्रेस’का म्यानेजरसमेत बनेका थिए । यसले पनि उनमा नेपाली भाषाका साहित्यिक सामग्री प्रकाशन गर्न सहज भएको थियो । त्यही क्रममा उनले ‘गोरखा भारत जीवन’ नामक नेपाली पत्रिका प्रकाशन गरी त्यो पत्रिकाको सम्पादक बनेका थिए ।

मोतिराम भट्ट

मोतीरामले गोरखा भारत जीवन प्रकाशन गर्दा नेपालमा वीर शमशेर प्रधानमन्त्री थिए । उनले प्रकाशन गर्न नचाहेको पत्रिका बनारसबाट मोतीरामले प्रकाशन गरेकोमा वीर शमशेरलाई नराम्रो लागेको थियो । ‘बनारसबाट गोरखा भारत जीवन प्रकाशित हुँदा नेपालका हर्ताकर्ता वीर शमशेरको मनमा कस्तो पर्यो होला,’ मिश्रले गोरखापत्र शतवार्षिकी स्मारिकामा लेखेका छन्, ‘वीर शमशेर बाँचुञ्जेलसम्म नेपाली भाषाको समाचारपत्र नेपालबाट ननिस्कनु, उनको स्वर्गारोहण हुनासाथ निस्कनु यो झन् विचरणीय कुरा छ ।’

पत्रिका प्रकाशन गर्दा नेपालका शासकहरुको निरङ्कुश प्रवृत्ति छताछुल्ल हुन्छ भन्ने डरले हुन सक्छ मोतीरामको यो कार्यलाई वीर शमशेरले राम्रो दृष्टिले हेरेका थिएनन् भन्ने देखाउँछ । तर ‘जङ्गबहादुरभन्दा कलमबहादुर बलियो हुन्छ’ भन्ने जङ्गबहादुरकै कथन वीर शमशेरले सम्झिएका थिए । आफ्ना कर्तुत पत्रिकामार्फत सबै पर्दाफास हुने डरले उनले आफ्ना नाति पण्डित लोकराज पाण्डेमार्फत मोतीरामलाई काठमाडौँ झिकाएका थिए । किनकि बनारसमा भन्दा काठमाडौँमा हुँदा मोतीरामले गर्नेका कार्यहरूको निगरानी गर्न वीर शमशेरलाई सहज हुन्थ्यो । बनारस रहँदा गरेका सबै साहित्यिक गतिविधि मोतीराम भट्टले काठमाडौँ आएर पनि गरे । तर पत्रिका प्रकाशन गर्न भने सकेनन् । तर जब वीर शमशेरको देहान्त भयो अनि उनले बनारसमा प्रकाशन गरेको ‘गोरखा भारत जीवन’ नामबाट भारत जीवन हटाएर गोरखापत्र प्रकाशित भएको कुरा मिश्रले लेखेका छन् । मिश्रले देव शमशेर र मातीरामको गुप्त सम्बन्ध भएको कुरासमेत उल्लेख गरेका छन् ।

यसरी विदेश (भारतको बनारस)मै भए पनि नेपाली भाषामा पहिलो पटक प्रकाशित भएको पत्रिका ‘गोरखा भारत जीवन’ इतिहासमा लेखिन गयो । मासिक रूपमा प्रकाशित हुने यो पत्रिका मोतीराम भट्टले बनारसबाट प्रकाशन गरेको कुरा ग्रीष्मबाहदुर देवकोटाले विस्तृत रूपमा प्रकाश पारेका छन् । ‘विदेशबाट सबैभन्दा अगाडि श्री बाबु रामकृष्ण वर्माको सम्पादनमा श्री मातीराम भट्टद्वारा ‘गोर्खा भारता जीवन’ नामक नेपाली भाषाको मासिक पत्रिका निस्कियो । यो पत्रिकाको अभिलेख भने प्राप्त हुन सकेको छैन । तर बनारसको भारत जीवन प्रेसबाट छापी निस्कने गरेको कुरा सन् १८९५ मा प्रकाशित ‘गोर्खा हास्य मञ्जरी’ नामक कभर पुस्तकको विज्ञापनबाट थाहा हुन आएको छ,’ देवकोटाले उल्लेख गरेका छन्, ‘सो विज्ञापनमा भनिएको छ– ‘नेपाली भाषामा बाबु रामकृष्ण वर्मा सम्पादक गोर्खा भारत जीवनले अनेक तरहका हाँसी दिल्लगी औ चतुर्याइँका कुरा सङ्ग्रह गरी आफ्नो निज यन्त्रालयमा छापी प्रकाशन गरे ।’

अनि जन्मियो गोर्खापत्र
बनारसमा मोतीरामले नेपाली भाषाको पत्रिका ‘गोरखा भारत जीवन’ प्रकाशन गरेको विषयले नेपालमा निकै चर्चा पायो । नेपालमा प्रशासनको बागडोर सम्हालेर बसेका तत्कालीन प्रधानमन्त्री वीर शमशेरले त्यो इतिहास रच्न नचाहेको कुरा टुकराज मिश्रले पनि उल्लेख गरेका । बनारसमा पहिलो नेपाली भाषाको पत्रिका प्रकाशन भएको करिब १३ वर्षपछि १९५५ मा सुधासागर साहित्यिक पत्रिका प्रकाशन भयो । यो समाचारमूलक नभए पनि नेपालभित्र छापिएको नेपाली भाषाको पहिलो पत्रिका भनेर इतिहासमा दरिन पुग्यो । ‘नेपालमै छापी निस्केका पत्रिकाहरूमध्ये सबैभन्दा अगाडि नेपाली पत्रिकाको जेठो बिरुवा संवत् १९५५ सालको श्रवण महिनामा उम्रियो, यसको नाम सुधासागर थियो र महिना महिनामा निस्कने गर्दथ्यो,’ ग्रीष्मबहादुर देवकोटाले नेपालमा छापाखाना र पत्रपत्रिकाको इतिहासमा लेखेका छन् ।

सुधासागर मासिक पत्रिका निस्केको करिब २ वर्ष १० महिनापछि १९५८ वैशाख २४ गते समाचारमूलक पत्रिका गोर्खापत्र प्रकाशन सुरु भएको थियो । यो नै नेपालभित्र छापिएको प्रथम समाचारमूलक पत्रिका हुन पुग्यो । तर वीर शमशेर नेपालको प्रधानमन्त्री रहुञ्जेल गोर्खापत्र प्रकाशन हुन सकेन । विसं १९५७ फागुन २३ गते वीर शमशेरको देहान्त भयो । त्यसपछि नेपालको शासन सत्ता देव शमशेरको हातमा आयो । त्यतिबेला मोतीराम भट्ट पनि नेपालमै आई मोतीकृष्ण कम्पनी (विसं १९४५ मा) खोलेर बसेका थिए । वीर शमशेरको देहान्त भएको ठ्याक्कै २ महिनापछि विसं १९५८ वैशाख २४ गते देव शमशेर र मोतीराम मिलेर गोर्खापत्र प्रकाशनको सुरुवात गरे ।

देव शम्सेर

प्रकाशन गर्ने निर्णय गरेर मात्र पत्रिका प्रकाशनको सम्भावना थिएन । त्यसका लागि देव शमशेरले सनद नै जारी गरेका थिए । सो सनदमा पत्रिकाको सङ्ख्या, सम्पादक तथा कर्मचारी व्यवस्थापन, आर्थिक व्यवस्थापन, विज्ञपनको व्यवस्थापन तथा प्रेसहरूको व्यवस्थापन गर्ने आधारहरू समेत उल्लेख थियो । तत्कालीन प्रधानमन्त्री देव शमशेरले गोर्खापत्र प्रकाशन गर्न नारायण प्रेससमेत गाभेर नरदेव मातीकृष्ण शर्माद्वारा स्थापित श्री पशुपत प्रेस ठँहिटीमा छाप्ने व्यवस्था मिलाए । सो पत्रिका साप्ताहिक रूपमा प्रकाशन गर्ने तयारी थियो । ‘यिनै व्यवस्था र सहयोगका आधारमा श्री नरदेव मातीकृष्ण शर्माद्वारा श्री पशुपत प्रेस (ठँहिटी अढात, नेपाल)मा छापी नेपाली भाषाको साप्ताहिक पत्रिका ‘गोरखापत्र’ १९५८ साल ज्येष्ठ बादी ३ सोमबारका दिन नेपालीहरूको सामुन्ने निस्कियो,’ ग्रीष्मबहादुर देवकोटाले उल्लेख गरेका छन् ।

पहिलो पटक गोर्खापत्र छापिएको पशुपत प्रेस मोतीराम भट्टले आफ्ना मामा नरदेव पाण्डे र कृष्णदेव पाण्डेको सहयोग लिएर १९४५ स्थापना गरेको कम्पनीअन्तर्गत स्थापना भएको थियो । विसं १९५० आषाढ शुक्ल पूर्णिमाको दिन स्थापना भएको निजी क्षेत्रबाट खोलिएको पहिलो छापाखाना थियो । १९५८ वैशाख २४ गते नेपालमा पहिलो पटक समाचारमूलक पत्रिका प्रकाशन भयो । देव शमशेर सत्ताच्यूत भएपछि केही समय यो पत्रिका बन्द भएको थियो तर चन्द्र शमशेरले त्यसको महत्त्व बुझेर यसलाई पुनः प्रकाशन गरेको इतिहास पाइन्छ ।

जे होस् गोर्खापत्रको प्रकाशन सरकारी प्रयासबाट नै भएको थियो । टुकराज मिश्र भन्छन्, ‘तर समाचारपत्र प्रकाशन गराउन सर्वप्रथम चेतना दिने युवक कवि मोतीराम भट्ट हुन् ।’ यसले निरङ्कुश राणा शासनकालमा ज्ञानको प्रकाश छर्ने धिपधिपे दियोको काम मात्र गरे पनि धेरै पाठकको मन तानेको थियो । मिश्र भन्छन्, ‘पहिले गोर्खापत्र जम्यो पं. नरदेव पाण्डेको निवास फसिकेवमा, त्यसपछि बझाङी राजा जयपृथ्वीबहादुर सिंहको निवास नक्साल नारायण चौरदेखि पश्चिम धेरै समयसम्म रह्यो । जय पृथ्वीबहादुर सिंह चन्द्र शमशेरका विश्वसका पात्र थिए । त्यसो हुनाले गोर्खापत्रको व्यवस्थापनको जिम्मा पाण्डेबाट खोसेर जयपृथ्वीबहादुरलाई दिएका थिए ।’

जय पृथ्वी बहादुर सिंह

प्रकाशनको सुरुमा हरेक हप्ता हजार प्रति छाप्ने निर्णय भएको र आम नागरिकलाई ग्राहक बन्नका लागि विज्ञापन पनि छापेको देखिन्छ । एक प्रतिको २ आना मूल्य राखिएको यसको वार्षिक ग्राहक मूल्य चाहिँ ४ रुपियाँ निर्धारण गरिएको थियो । नेपाल र नेपालीकै गर्वका रुपमा प्रकाशित यो पत्रिकाको धेरै नागरिक ग्राहक बने । त्यतिबेला गोर्खापत्रको रवाफ मात्र होइन, धनाढ्य र शिक्षितहरूका लागि यो प्रतिष्ठाको विषय थियो ।

१९५८ मा गोर्खापत्र प्रकाशन हुँदा प्रथम पृष्ठमा एडिटर्को राय भनी सम्पादकीय प्रकाशन भएको देखिन्छ । तर एडिटर अर्थात् प्रथम सम्पादक को थियो भन्ने तथ्य अहिलेसम्म थाहा हुन सकेको छैन । प्रथम व्यवस्थापक पं. नरदेव पाण्डे भएको हुनाले कतिपयले उनैलाई सम्पादक मान्नुपर्ने तर्क राख्छन् । विसं १९९१ देखि मात्र गोरखापत्रले सम्पादकको नाम लेख्न सुरु गरेको देखिन्छ । १९९१ जेठ ५ गतेको गोरखापत्रमा पहिलो पटक ‘सम्पादक प्रेमराज’ भनी छापिएको छ । २०१२ भदौ ३० गतेदेखि बालकृष्ण सम प्रधान सम्पादक भनी नाम छापिन सुरु भयो ।

गोर्खापत्र/गोरखापत्रको क्रमिक विकास 

विसं १९५८ वैशाख २४ गते मास्टहेडमा यसको नाम गोर्खापत्र भनी छापिएको थियो । पछि १९८३ जेठ ४ गतेदेखि गोरखापत्र भई प्रकाशन भयो । त्यो क्रम २०५९ सम्म कायम रह्यो । ज्ञानेन्द्रको शासनकालमा पुनः गोर्खापत्र भई प्रकाशन भयो । यसपछि २०६३ वैशाख १८ गतेदेखि फेरि गोरखापत्रमा परिवर्तन भई निरन्तर प्रकाशित छ ।

गोरखापत्रले १९८४ वैशाख १३ गते प्रथम तस्बिर छापेको थियो । फोटोपत्रकारिता दिवसका दिन यो तस्बिर चर्चामा आउने गर्छ । यसमा वीरगञ्जकी १२ वर्षीया सूर्यमति श्रेष्ठले चन्द्रकामधेनु चर्खाबाट धागो काटिरहेको तस्बिर छ । यसैगरी गोरखापत्रले पूर्वप्रधानमन्त्री सुशील कोइरालाको निधनको ‘स्टप दी प्रेस’को समाचार प्रकाशन गरेको थियो ।

दैनिक, सहायक तथा बहुभाषा प्रकाशनको सुरुवात
साप्ताहिक रूपमा सोमबार प्रकाशित हुने गोरखापत्र १९९१ वैशाख ९ देखि शुक्रबार प्रकाशित हुन थाल्यो । २००० असोज २९ गतेदेखि मङ्गलबार र शुक्रबार गरी दुई पटक प्रकाशन हुन थाल्यो । त्यसपछि २००३ पुस ३ देखि हप्ताको तीन पटक प्रकाशित भयो भने २०१७ फागुन ७ गतेदेखि दैनिक रूपमा प्रकाशित हुन थाल्यो । २०१९ असार ९ गतेदेखि शनिवारीय परिशिष्टाङ्क प्रकाशन सुरु भयो ।

विसं २०२२ पुस १ गतेदेखि वरुण शमशेर जबराको सम्पादकत्वमा यसको अङ्ग्रेजी संस्करण दी राइजिङ नेपाल प्रकाशन सुरु भयो । आम नेपाली साहित्यिक सर्जक र पाठकलाई मध्यनजर गरी २०२५ जेठदेखि मधुपर्क साहित्यिक मासिक प्रकाशन सुरु गरेको थियो । यसैगरी २०४५ असारदेखि आम युवा पाठकलाई विचार, विज्ञान प्रविधि, खोज र जिज्ञासाको खुराक दिन युवामञ्च मासिक प्रकाशन सुरु भयो । यसैगरी २०४७ साल पुसबाट बालबालिकाका लागि ‘मुना’ मासिकको प्रकाशन सुरु भएको हो ।

गोरखापत्रले नेपालमा गणतन्त्र स्थापना भएपछि राष्ट्रभाषामा पनि समाचार तथा साहित्यिक सामग्री प्रकाशन गर्दै आएको छ । विसं २०६४ असोज १ गतेबाट राष्ट्र भाषामा प्रकाशन सुरु गरेको गोरखापत्रले हाल ३८ भाषामा सामग्री प्रकाशन गर्दै आएको छ । गोरखापत्र ऐन २०१९ सालदेखि सञ्चालित भई २०२० असार २५ देखि गोरखापत्र संस्थानका रूपमा परिणत भएको हो । विसंं १९५८ बाट थालेको यात्रा गोरखापत्रले राणा शासनको युग, प्रजातन्त्रको युग, फेरि निर्दलीय पञ्चायती व्यवस्थाको युग, पुनः प्रजातन्त्रको युग हुँदै गणतन्त्रको युगको पनि करिब १७ वर्ष पूरा गरेको छ । यी हरेक युगका शासन सत्ताको अभिलेख गरेको छ । नेपालको शासन प्रणालीको मात्र नभई भाषा, साहित्यको सिर्जनामा महत्त्वपूर्ण योगदान पनि गरेको छ ।

इतिहासको एक साक्षी बनेर विभिन्न आरोह–अवरोह खेप्दै १२२ वर्षदेखि निरन्तर प्रकाशन हुँदै आएको गोरखापत्र प्रकाशन भएकै दिनलाई आधार मानेर नेपालले आफ्नै पत्रकारिता दिवस मनाउन थालेको छ । २०७३ चैत ३० गतेको केपी शर्मा ओलीको तत्कालीन मन्त्रिपरिषद् बैठकले वैशाख २४ गते पत्रकारिता दिवस मनाउने निर्णय गरेको थियो । सोहीअनुसार २०७४ वैशाख २४ गते पहिलो पटक पत्रकारिता दिवस मनाइयो । यो पनि ६ वर्ष पूरा भई सातौँ वर्षमा प्रवेश गरेको छ । मोतीराम भट्टको प्रयास, देव शमशेरको नेपाली भाषा, साहित्य र सञ्चारप्रतिको मोहले नै नेपाली सञ्चार क्षेत्र यहाँ आइपुगेको हो । साभार : रातोपाटी

वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

प्रतिनिधिसभा निर्वाचनः नेकपा पर्साको उम्मेदवार टुङ्गो

माघ ५, २०८२
पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

पर्सामा निर्वाचन प्रहरीको छनोट प्रक्रिया थालियो

माघ ५, २०८२
पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

पर्साका ६२ मतदानस्थल अतिसंवेदनशीलको सूचिमा

माघ ५, २०८२
माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माटोबाट मूर्ति बनाउने परम्परागत पेसा सङ्कटमा

माघ ५, २०८२

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

प्रकाशक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि