वीरगंज (पर्सा), १६ वैशाख । नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री इश्वर पोखरेलले सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता बलियो हुने बताएका छन् । अम्बिका ममता स्मृति प्रतिष्ठानले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बाेधन गर्दै उनले दुई ठूला जनसंख्या भएको देशको बीचमा रहेको नेपालमा बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक समुदायहरुको बसोबास रहेकोले एक अर्काप्रतिको सामाजिक सदभावले मात्रै राष्ट्रिय एकता मजबुद हुने बताए ।
कार्यक्रमका प्रमुख अतिथी समेत रहेका उपाध्यक्ष पाेखरेलले व्यावसायिक केन्द्रको रुपमा विस्तार गरिएको सभ्यता, संस्कृति जीवनसँग जोडिएको वीरगंजमा शिक्षामा योगदान गर्ने शिक्षकहरुलाई सम्मान गर्नु प्रशंसनीय रहेको बताए । उनले नेपालको संविधानमा शिक्षा र स्वास्थ्यलाई मौलिक हकको रुपमा लेखिएपनि अहिले शिक्षा र स्वास्थ्य नागरिकको पहुँचमा पु¥याउने चुनौती देखिएको बताए । देशलाई आर्थिक विकास गर्न सामाजिक सदभाव आवश्यक रहेको औल्याउदै बीचमा अनेक खालका विग्रहको गतिविधिले नोक्सान धेरै भएको पनि बताए ।
अमेरिकलाई आप्रवासीहरुको देश भनेर चिनिने र नेपाल अल्पसंख्यकहरुको देश रहेको उल्लेख गर्दै उनले संसारको सबैभन्दा ठूलो जनसंख्या भएको देश भारतसँगको खुला सीमाना र प्राकृतिक रुपमा हिमालको सीमा भएको दोश्रो ठूलो जनसंख्या भएको चीनको बीचमा रहेको नेपालमा सामाजिक सदभाव सहितको राष्ट्रिय एकताले मात्रै देशको अस्तित्व रहन सक्ने बताए ।
कुनै फौजी ताकतको बलमा सुरक्षित रहन नसकिने तर्क गर्दै उनले देशको अस्तित्व कायम राख्न सामाजिक सदभाव कायम राख्नु नै मुख्य भूमिका रहेकोमा जोड दिए । देश सुरक्षित हुनका लागि सामाजिक सदभाव लागि निर्णायक क्षमता भएको उनको भनाई थियो । कहिलेकाहीँ सामाजिक सदभाव खल्बल्याउने तत्वहरु सक्रिय भईराख्ने सिलसिला देखिने गरेकोले यस्ता तत्वहरुलाई परास्त गर्न सकिएमा मात्रै सामाजिक सदभाव कायम रही राष्ट्रिय एकता कायम रहने बताए । सबैजाति, भाषा, भेषभूषा, धर्म संस्कृति र पहिचानले नै हाम्रो भाग्य र भविष्यको फैसला गर्ने उल्लेख गरे ।
प्रतिष्ठानकी सदस्य मलिका ताम्राकारको अध्यक्षतामा भएको कार्यक्रममा प्रतिष्ठानले शिक्षा क्षेत्रमा योगदान पुर्याएका चार जनालाई सम्मान गरेको थियाे ।
प्रतिक्रिया दिनुहोस् !