• हरिशंकर शर्मा
कलैया (बारा), २५ चैत / यही वैशाख १० गते हुने उप-निर्वाचनको लागि बारा जिल्ला निर्वाचन क्षेत्र नं. २ मा जनता समाजवादी पार्टीका केन्द्रिय अध्यक्ष उपेन्द्र यादवको इन्ट्रि भएको छ । यादव विगत एक हप्तादेखि जनताको घरदैलो, खेतबारीमा पुगेर मत माग्ने कार्यमा व्यस्त छन् । एका विहानैदेखि यादव त्यस क्षेत्रको जनताको दुःख, अभाव, सम्भावनालाई खोज्दै, बुझ्दै घरदैलो अभियानमा जुटेका छन् ।
बारा क्षेत्र नं. २ मा जनता समावादी पार्टीबाट साँसदमा विजयी भएका रामसाय यादव उप-राष्ट्रपति भएपछि सांसद पद खाली भएको छ । सांसद पद खाली भएपछि निर्वाचन आयोगले बारा क्षेत्र नं. २ मा यही वैशाख १० गते उप-निर्वाचन गर्ने भएको छ । उप निर्वाचनको लागि जनता समाजवादी पार्टीका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफै उम्मेदवार छन् भने जनमत पार्टीको तर्फबाट शिवचन्द्र कुशवाहा उम्मेदवार छन् ।
यादव ५ दलीय गठबन्धन बनाएर उम्मेदवार छन् । उनलाई नेपाली काँग्रेस, नेकपा माओवादी, नेकपा समाजवादी, लोसपाले सहयोग गर्ने छ । सत्ताधारी गठबन्धनका उम्मेदवार समेत रहेका उपेन्द्र यादवलाई जिताउँन गठबन्धन भित्रका सबै दलहरु इमान्दारीकासाथ चुनावी कार्यक्रममा सक्रिय भएको जसपाका केन्द्रिय सदस्य पारस साह बताउँछन् । उनले घरदौलो कार्यक्रममा जनताको पूणर् सहयोग र समर्थन प्राप्त भइरहेको भन्दै गठबन्धनको उम्मेदवारलाई जिताउँन जनता आतुर रहेको दावी गरे ।
नेकपा एमालेबाट महागढीमाई नगरपापिलकाको मेयरमा निर्वाचन लडेका नेता राजाबाबु साह समेत जसपामै सक्रिय छन् । उनी स्थानिय निर्वाचनमा महागढीमाई नगरपालिकाको मेयरमा दोश्रो स्थान प्राप्त गरेका थिए । प्रदेश सभा सदस्यमा स्वतन्त्रबाट चुनाव जितेका उनका बुवा शारदाशंकर प्रसाद साह यसअघि नै जसपामा प्रवेश गरि सकेछन् । उम्मेदवार यादवको घरदैलो अभियानमा प्रदेश सभा सदस्य शरदाशंकर साह र राजाबाबु साहको सक्रिय सहभागी रहेको जसपा बाराले जनाएको छ ।स्थानीय शेख जौवाद नेकपा एमालेका कार्यकर्ता छन्, तर जसपालाई भोट दिने पक्षमा छन् । उनी मात्रै होइनन्, उनी जस्ता धेरै अन्य पार्टीका कार्यकर्ताहरु जसपालाई नै मत दिने पक्षमा छन् । मुस्लिमहरुको हक अधिकारको लागि पनि उपेन्द्र यादवले धेरै कार्य गरेको कारण आफूहरु उपेन्द्र यादवलाई मत दिएर अत्याधिक मतले विजयी बनाउने बताउँछन् ।
जसपाका बारा जिल्ला अध्यक्ष रामबाबु यादवले यस क्षेत्रमा जसपाका उम्मेदवार नै विजयी हुने दाबी गरे । उनले यस क्षेत्रमा जसपासँग कुनै राजनीतिक दलको प्रतिस्पर्धा नै नरहेको बताउँछन् । उनले राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव १३ हजार भन्दा बढि भोटले विजयी हुने दाबी गर्छन् । उले यस क्षेत्रका जनताको दुःख सुखमा जनता समाजावदी पार्टी नै अघि रहेकोले यहाँको जनताले आफ्नो अमूल्य मत जसपाका अध्यक्ष उपेन्द्र यादवलाई नै दिनेमा आफू विश्वस्त रहेको बताए ।
यसैगरि जसपाका केन्द्रिय सदस्य एवं महिला नेतृ उषा यादवले मधेश पहिचानको लडाईमा अग्रनी भुमिका निर्वाह गरेका नेता उपेन्द्र यादवलाई जनताले अभिमत दिनु पर्ने तर्क गरिन् । उनले पहिचान बिरोधीहरु दलका नेताहरु यहाँबाट चुनाव जितेर जाने दाउमा रहेको भन्दै जनताले सबै कुरा बुझि सकेका छन्, कसले मधेशको हितमा लडेको छ, मधेशीको हक अधिकार सुनिश्चित गराएको छ, सबै बुझेर मात्रै आफ्नो अमूल्य मत जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादवलाई नै दिने दावी गरिन् ।
उनले हवा फैलाएर उपेन्द्र यादवले मधेशलाई लगाएको गुण तथा संघीयता स्थापनाको लागि खेल्नु भएको भुमिका जनताले नबिर्सेको टिप्पणी गरिन् । बारा निर्वाचन क्षेत्र नं. २ को मुद्दाहरु जसपाले बुझेको भन्दै थुपै मुद्दाहरुको सम्बोधन पनि भइसकेको तथा बाँकी समस्याहरु अध्यक्ष उपेन्द्र यादवको जितसँगै समाधन हुने दाबी गरिन् । प्रतिनिधि सभामा उनको कमी महसुस गरेरै गठबन्धनले उनलाई उम्मेदवार बनाएको उनको भनाई छ ।
यादवलाई चुनाव जित्ने सम्भावना प्रवल !
जसपाका राष्ट्रिय अध्यक्ष उपेन्द्र यादव आफू चुनाव जित्नेमा पूणर् विश्वस्त छन् । जनताको समस्या, दुःख, आवश्यकतालाई बुझ्नेदेखि मधेशीहरुको हक हितको लागि लामो समयसम्म संघर्ष गरेको कारण पनि यस क्षेत्रबाट आफू विजयी हुनेमा विश्वस्त रहेको बताउँछन् । अर्कोतर्फ जनता समाजवादी पार्टीको गढ नै मानिने यस क्षेत्र भएको कारण पनि उपेन्द्र यादवलाई चुनाव जित्न सहज हुने अनुमान लगाइएको छ ।
गत संघीय निर्वाचनमा जनमत पार्टीका उम्मेदवार शिवचन्द्र कुशवाहालाई ३ सय ४५ मत ले पराजित गर्दै जसपाका उम्मेदवार रामसहाय यादव विजयी भएका थिए । अर्कोतर्फ बारा निर्वाचन क्षेत्र नं. २ मा स्थानीय तहमा पनि जसपा २ वटा पालिकामा पनि विजयी भएको छ । ५ वटा पालिका सहित ४४ वटा वडा रहेको बारा निर्वाचन क्षेत्र नं. २ मा जसपाले २ वटा पालिका सहित २३ वडामा विजयी भएको छ । त्यसैगरि २ वटा पालिकामा नेपाली काँग्रेस र १ वटा पालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् ।
करैयामाई गाउँपालिका, देवताल गाउँपालिकामा जसपाका उम्मेदवार विजयी भएका छन् भने महागढीमाई नगरपालिका, सुवणर् गाउँपालिकामा नेपाली काँग्रेसका उम्मेदवार विजयी भएका छन् । यसैगरि पचरौता नगरपालिकामा नेकपा एमालेका उम्मेदवार विजयी भएका छन् । ४४ वटा वडामध्ये २३ वटा वडामा जसपाका उम्मेदवार नै विजयी भएका छन् । जसपा र नेपाली काँग्रेस आधा आधा पालिका जितेको छ भने एउटा पालिकामा नेकपा एमाले विजयी भएको छ ।
अब उप निर्वाचनमा नेपाली काँग्रेस लगायत लोसपा, नेकपा एस, नेकपा माओवादीले पनि जसपलाई समर्थन गरि रहेको कारण सत्ता गठबन्धनका साझा उम्मेदवार उपेन्द्र यादव नै विजयी हुने सम्भावना प्रवल रहेको छ । बारा निर्वाचन क्षेत्र नं. २ मा १ लाख ५ हजार मतदाता छन् ।
प्रतिक्रिया दिनुहोस् !