वीरगंज (पर्सा), ८ फागुन / वीरगंज महानगरपालिकाले पटक पटक बाटोमा फोहोर फ्याल्ने एनआइसी एशिया बैंक वीरगंज शाखालाई रु ११ हजार जरिवाना गरेको छ । यस अघि पनि महानगरपालिकाले एनआईसी एशिया बैंकलाई पहिलो पटक चेतावनी र दोश्रो पटक रु ५ हजार जरिवाना गरिसकेको छ । आइतबार अनुगमनको क्रममा सरसफाइको गाडीमा फोहोर नदिएर बाटोमा फोहोर फ्याकेको भेटिएपछि ११ हजार जरिवाना गरिएको महानगरपालिका सरसफाई अधिकृत सर्फुदिन मियाँले जानकारी दिए ।
बैंक जस्तो जिम्मेवार संस्थाबाट यसरी पटकपटक फोहोर गर्नु कानुन र मर्यादाको विपरीत भएकोले अब उप्रान्त फ्यालिएको भेटिएमा रु २५ हजार देखि २ लाख सम्म जरिवाना गरिने सरसफाइ पार्किङ संयोजक प्रकाश खेतानले बताए । वीरगंज महानगरपालिकाले सरसफाई प्राथमिकतामा राखी अभियान नै चलाएको खेतानले बताए । रु ५ सयबाट सुरु गरेको जरिवाना रु १ हजार हुँदै रु ५ हजार सम्म गर्दै आएको छ । रु ११ हजार जरिवाना गरेको यो पहिलो पटक हाे ।
प्रतिक्रिया दिनुहोस् !