वीरगंज (पर्सा), ३ फागुन / सिर्सिया नदी प्रदुषण नियन्त्रण समितिले नदि प्रदुषण गर्ने वीरगंज पथलैया औद्योगिक करिडोरका उद्योगलाई कारवाही गर्ने निर्णय गरेको छ । वीरगंज महानगरपालिका प्रमुख राजेशमान सिंहको अध्यक्षतामा बसेको समितिको बैठकले पानी प्रशोधन नगरी उद्योगबाट निस्केको फोहोर पानी सोझै नदीमा फाल्दै आएका उद्योगलाई कारबाही गर्ने निर्णय गरेको हो ।
समितिले यसअघि पटक पटक अनुगमन गरेको र अनुगमनका क्रममा एक÷दुई बाहेक अधिकांश उद्योगले अटेरी गर्दै नदीमा नै उद्योगबाट निस्केको फोहोर तथा फोहोर पानी फाल्दै आएकाले अब कारबाही नै गर्ने निर्णय गरेको हो । बैठकले करिडोरमा रहेका उद्योगहरुको संघलाई पत्राचार गरेर कारबाहीको ध्यानाकर्षण गराउने र जरिबानाको प्रकृया अघि बढाउने निर्णय गरेको हो । अनुगमन समितिको प्रतिबेदनका आधारमा वातावरण तथा प्राकृतिक स्रोतको संरक्षण गर्न बनेको ऐन अनुसार जरिबाना गर्ने निर्णय भएको महानगर प्रमुख राजेशमान सिंहले जानकारी दिए ।
यस्तै बैठकले जरिवाना गर्दा पनि फोहोरजन्य पानी नदीमा मिसाउन नछाडे त्यस्ता उद्योगलाई कालो सूचीमा राख्न प्रदेश र संघ सरकारलाई सिफारिस गरि पठाउने निर्णय पनि गरेको छ । बैठकमा पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले प्रक्रिया मिचेर विधि एवं कानुन विपरित सञ्चालित उद्योगलाई कारबाही नगर्दासम्म नदी प्रदुषण मुक्त नबन्ने बताए । उनले उद्योगीहरु जिम्मेवार भएर पर्यावरण जोगाउन लाग्नु पर्नेमा नदी फोहोर बनाउन अग्रसर देखिएकाले त्यसलाई नियन्त्रण गर्न अब जरिबाना गर्नुपर्ने अवस्था आएको बताए । बाराको जितपुर सिमरा उपमहानगरपालिका, परवानीपुर गाउँपालिका र पर्साको वीरगंज महानगरपालिका क्षेत्र भएर बहने नदीलाई यी तीनै स्थानीय तहसँगै जिल्ला प्रशासन कार्यालय बारा र जिल्ला प्रशासन कार्यालय पर्साको सयुँक्त सहकार्यमा प्रभावकारी रुपमा काम गर्नुपर्ने बाराका प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले बताए ।
वीरगंज महानगरपालिकाका उपप्रमुख तथा समितिका संयोजक इम्तियाज आलमले अनुगमनलाई उद्योगहरुले वेवास्ता गरेको बताए । आफ्नै नेतृत्वमा पटक पटक अनुगमन गर्दा पनि अटेरी गरेको हुँदा अब जरिवाना गरेर कारबाही गर्नुपर्ने उनको भनाई छ । बाराको जितपुर सिमरा उपमहानगरपालिकाका उपप्रमुख भोला प्रसाद अधिकारीले सिर्सिया नदिलाई प्रदुषण मुक्त बनाउन जितपुर सिमरा उपमहानगरले सक्दो प्रयास गरिरहेको जानकारी दिए । जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक होविन्द्र बोगटीले वीरगंज महानगरले सञ्चालन गरेको अनुगमन अभियानको सह्राना गर्दै नदीलाई स्वच्छ र सफा बनाउन सबैले हातेमालो गर्नुपर्नेमा जोड दिए ।
वीरगंज उद्योग वाणिज्य संघका प्रमुख प्रशासकिय अधिकृत मनोज उपाध्यायले वीरगंज उद्योग वाणिज्य संघ नदीलाई स्वच्छ बनाउने विषयमा गम्भिर भएको बताए । उद्योगी व्यवसायीलाई नियम लगाएर बाध्यकारी बनाउने निकाय उद्योग वाणिज्य संघ नभएको भन्दै सबैसँग समन्वय गरिदिने लगायतका काममा वीरगंज उद्योग वाणिज्य संघ कुनै कसर बाँकी नराखेको बताए । सिर्सिया नदि मात्रै नभएर सभ्यता एवम् संस्कृतिसँग जोडिएको धरोहर भएको हुँदा यसलाई सफा बनाउन सबैले एकबद्ध भएर काम गर्नुपर्ने र गल्ती गर्नेलाई दण्ड गर्दा उद्योग वाणिज्य संघले बचाउ नगर्ने पनि उनले प्रतिबद्धता जनाए ।
बैठकमा पर्साका प्रहरी उपरीक्षक कोमल शाह, बाराका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी, महानगरपालिकाका निमित्त प्रशासकीय अधिकृत अरविन्दलाल कर्ण, परवानीपुर गाउँपालिकाका अध्यक्ष रामक्षत्री कुर्मी लगायतको सहभागिता रहेको थियो ।







प्रतिक्रिया दिनुहोस् !