वीरगंज (पर्सा), १३ माघ / मधेस प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले नेपालको विकासमा भारतको महत्वपूर्ण योगदान रहेको बताएका छन् । भारतको ७४ औँ गणतन्त्र दिवसको अवसरमा बिहीबार वीरगंज स्थित महावाणिज्य दूतावासमा आयोजित विशेष समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्री यादवले नेपालको शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार लगायतको विकासमा भारत सरकारको महत्वपूर्ण सहयोग रहेको बताए ।
नेपाल र भारतबीच बेटीरोटीको सम्बन्धसँगै शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा एकअर्काका पूरक समेत रहेको बताए । उनले ठूलो सङ्ख्यामा नेपाली नागरिकले भारतमा रोजगारी प्राप्त गरेका छन्, थुप्रै भारतीय नागरिकले नेपालमा रोजगारी प्राप्त गरेका छन्, यसबाहेक शिक्षा, स्वास्थ्यको क्षेत्रमा समेत दुवै देश एकअर्काको पूरक भएको उनको भनाई थियो ।
नेपाल – भारतको भाषा, संस्कृति, वेषभूषा समेत एक जस्तो रहेको तथा एकअर्काको सुख, दुःखमा सहभागी हुँदै आएको भन्दै भारतीय स्वतन्त्रताको आन्दोलनमा नेपालीहरूको समेत निकै ठूलो योगदान रहेको बताए । भारत सरकारको सहयोगमा वीरगंजमा निर्माण भएको सुक्खा बन्दरगाह नेपाली उद्योगी व्यवसायीलाई निकै सहयोगी बनेको भन्दै भारतीय लगानीकर्तालाई नेपालमा निवेश गर्नका लागि नेपाल सरकार हरसम्भव सहयोग गर्न तयार रहेको बताए ।
कार्यक्रममा महावाणिज्य दूतावास वीरगंजको तर्फबाट महावाणिज्यदूत नितेशकुमारले सम्पूर्ण भारतीय समुदाय तथा नेपालमा बसोबास गरिरहेका भारतका मित्रहरूमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरेका थिए । कार्यक्रममा नेपालका प्रतिनिधि सभा सदस्य रामसहाय यादव, राजकुमार गुप्ता, अच्युत मैनाली, अजय चौरसिया,प्रदेश सांसद रमेश पटेल, प्रमोद जैसवाल एवं बिभिन्न संघ सस्थामा प्रमुख एवं प्रतिनिधिहरुको सहभागीता रहेको थियो । सो अवसरमा वीरगंजका विभिन्न स्कुलका छात्रछात्राले नृत्य, गीत तथा झाँकी प्रस्तुत गरेका थिए ।
प्रतिक्रिया दिनुहोस् !