कोल्हभी (बारा), ९ मंसिर / बारा जिल्ला क्षेत्र नं. १ को प्रतिनिधिसभा सदस्य तर्फ नेकपा एमालेका उम्मेदवार अच्युत मैनाली विजयी भएका छन् । जसपा – एमाले गठबन्धनका साझा उम्मेदवार समेत रहेका मैनाली ठूलो मतान्तरले आफ्ना प्रतिद्वन्धी सत्ता गठबन्धनका उम्मेदवार उमाकान्त चौधरीलाई पराजित गर्दै विजयी भएका हुन् ।
अन्तिम मत परिणाम अनुसार ९ हजार १३९ मतान्तरले मैनाली विजयी भएका हुन् । मैनालीले ३९ हजार १९५ मत प्राप्त गर्दा उनका प्रतिद्वन्धी सत्ता गठबन्धनबाट नेपाली काँग्रेसका उम्मेदवार उमाकान्त चौधरीले ३० हजार ५६ मत प्राप्त गरेका थिए ।
नेपाली काँग्रेसका उम्मेदवार चौधरी दुई पटक स्वास्थ्यमन्त्री समेत बनेका व्यक्ति हुन भने हाल खानेपानी मन्त्री समेत हुन् । बारा जिल्ला क्षेत्र नं. १ नेपाली काँग्रेसको गढ भएपनि यस पटक मैनालीले चौधरीको गढलाई ढाल्दै ठूलो मतान्तरले विजयी भएका हुन् ।
गत २०७४ सालको निर्वाचनमा चौधरीले २४ हजार ४५० मत ल्याई विजयी भएका थिए भने त्यस बखत उनका प्रतिद्वन्धी रहेका मैनाली २२ हजार ३० मत प्राप्त गरेका थिए । तर यस पटकको निर्वाचनमा मैनाली चौधरीलाई ९ हजार १३९ मतले पछार्दै विजयी भएका हुन् ।
नेपाली काँग्रेसको गढ नै रहेको यस क्षेत्रमा पटक पटक विजयी हुने गरेको चौधरीलाई उक्त क्षेत्रका जनताले मन पराउन छाडेका थिए ।
प्रतिक्रिया दिनुहोस् !