• हरिशंकर शर्मा
वीरगंज (पर्सा), १३ भदौ / वीरगंजको पावरहाउस चोक स्थित रहेको जि.एच.पि. स्कुलले आफ्नो गल्तीलाई ढाकछोप गर्न विभिन्न प्रपञ्च गरि रहेको पाइएको छ । शुल्कको विषयलाई लिएर विगत एक हप्ता अघि संघर्ष समितिमाथि स्कुलले गरेको दुव्र्यवहार सार्वजनिक भएपछि आफ्नो गल्ती ढाकछोप गर्न विद्यालयकी सञ्चालिकाले विभिन्न प्रपञ्च रचि रहेको पाइएको हो ।
जि.एच.पि. स्कुल अभिभावक संघर्ष समितिमाथि दुव्र्यहार गरेको विषयलाई लिएर अहिले एक अर्काबीच दोषारोपण गर्ने कार्य भइरहेको छ । जि.एच.पि. स्कुलमा अध्ययनरत विद्यार्थीका अभिभावकले स्कुलले शुल्कको नाममा विद्यार्थीहरुलाई मानसिक यातना दिएको गुनासो गरेपछि गत ७ गते अभिभावक संघर्ष समितिका अध्यक्ष सन्दिप सहितकाका अभिभावकहरु गुनासोबारे बुझ्न स्कुलमा जाँदा त्यहाँ कार्यरत शिक्षक तथा कर्मचारीहरु अभिभावकहरुमाथि दुव्र्यहार गरेका थिए ।
समयमा शुल्क नबुझाएकै कारण विद्यार्थीलाई परीक्षाबाट बञ्चित गरिएको तथा मानसिक यातना दिएकोेबारे बुझ्न जाँदा शिक्षक तथा कर्मचारीहरुले अभिभावकमाथि गुण्डागर्दी शैलीमा दुव्र्यहार गरेको भिडियो सार्वजनिक भएपछि उक्त स्कुल अहिले विवादमा परेको छ । स्कुलले गरेको गल्ती ढाकछोप गर्न स्कुलकी प्रधानाध्यापिका रोमी कौरेले सकेम्म प्रपञ्च रचेकी हुन् ।
स्कुलले अभिभावकहरुमाथि गुण्डागर्दी शैलीमा दुव्र्यवहार गरेको भन्दै अभिभाक संघर्ष समितिको नेतृत्वमा वीरगंजमा उक्त स्कुल विरुद्ध प्रदर्शन पनि भयो । ‘बालबालिकालाई मानसिक तनाव दिन पाइँदैन’, ‘उच्च अदालतको फैसला विपरित बार्षिक शुल्क लिन पाइँदैन’, ‘निजी विद्यालयले मनोमानी फि लिन पाइँदैन’, ‘विद्यालय शिक्षाको मन्दिर हो, शिक्षालाई व्यापारीकरण गर्न मिल्दैन’ लगायतका नारायुक्त प्लेकार्ड बोकी अभिभावकहरु विरोध प्रदर्शन समेत गरे । त्यस पश्चात अभिभावकहरुले उक्त स्कुललाई कारवाही गर्न वीरगंज महानगरपालिकालाई पनि ध्यानाकर्षण गराए । तर स्कुलमाथि अहिलेसम्म कुनै किसिमको कारवाही हुन सकेको छैन, उल्टै स्कुलले अभिभावकहरुमाथि नै दोष थुपारि रहेको अवस्था छ ।
त्यस पश्चात स्कुलकी प्रधानाध्यापिका कौरले संघर्ष समितिको नाममा स्कुललाई बद्नाम गराउन खोजिएको आरोप लगाइन् । कोरले स्कुलले कुनै गल्ती नै नगरेको जस्तो प्रमाणित गर्न पत्रकार सम्मेलन गरि घटनालाई मोड्ने प्रयास गरिन् । यहाँसम्म कि आफ्नो हैसियत अनुसार विभिन्न अनलाइनका संचालकहरुलाई आर्थिक प्रलोभन दिएर आफ्नो स्कुल स्वच्छ र अध्ययनमा अब्बल रहेको लेख्न पनि लगाइन् । पत्रकार सम्मेलनमा विद्यालयका शिक्षक शुभाषा कुशवाहाले स्कुलको अनुमति विना नै भिडियो खिच्न नपाउने भन्दै अभिभावक संघर्ष समितिका नाममा केही अभिभावकहरुले आफ्नो स्वार्थ सिद्ध पुरा गर्न यो सबै षडयन्त्र गरेको आरोप पनि लगाए ।
तर अभिभाक संघर्ष समितिले पनि स्कुलमा भएको घटनाबारे भिडियो नै सार्वजनिक गरेको बताएपछि स्कुलले अभिभावकहरुमाथि गरेको गुण्डागर्दी छर्लङ्ग भएको छ । आइतबार अभिभावक संघर्ष समितिले पत्रकार सम्मेलन गरि स्कुलले गरेको दुव्र्यवहारको भिडियो सामाजिक सञ्जालमा छ्यापछ्यापी सार्वजनिक भएपनि स्कुलले आफ्नो गल्ती नस्वीकारी उल्टै अभिभावकहरुमाथि दोषारोपण गरेको बताए । संघर्ष समितिका अध्यक्ष सन्दिप साहले स्कुलले गुण्डागर्दी शैलीमा अभिभावकहरुमाथि दुव्र्यवहार गरेर उल्टै आफूहरुमाथि आरोप लगाइएको कुरा निराधार रहेको बताए । स्कुलकी प्रधानाध्यापिका कौरले पत्रकार सम्मेलनको नाममा केही सञ्चारकर्मीहरुलाई आर्थिक प्रलोभन दिई आफ्नो स्कुल अध्ययनमा अब्बल रहेको लेख्न लगाएकोले पनि त्यो सञ्चारकर्मीको दोहोरो चरित्र पनि उदाँगिएको बताए ।
स्कुलले गरेको गस्तीको भिडियो सार्वजनिक भइसकेपनि स्कुलले आफ्नो गल्ती नस्वीकारी उल्टै आफ्नो हैकमवादी चलाउन खोजेको पाइएको छ । प्रधानाध्यापिका कौरले स्कुलको गल्तीलाई स्वीकार्दै त्यसलाई सच्याउँदै अघि बढ्नुपर्नेमा झन अभिभावकहरुलाई बद्नाम गराउने, विभिन्न प्रपञ्च रच्ने कामहरु गर्दै आएकी छिन् । गत ७ गते शुल्क नबुझाएको कारण विद्यार्थीहरुलाई परीक्षणबाट बञ्चित गर्ने अभिभावकहरुले गुनासो गरेपछि अभिभावक संघर्ष समितिका संयोजक सन्दिप साह सहितको टोली विद्यालयमा गुनासो गर्न जाँदा विद्यालयका शिक्षकहरु गुण्डागर्दीमा उत्रेका थिए ।
प्रतिक्रिया दिनुहोस् !