• हरिशंकर शर्मा
वीरगंज (पर्सा), ६ भदौ / नेपाल चिकित्सक संघले बिरामीको उपचारमा चिकित्सकको कुनै किसिमको लापरवाही नभएको दाबी गरेको छ । पत्रकार सम्मेलन गरि संघले वीरगन्ज हेल्थ केयरमा कार्यरत चिकित्सक डा. आसिफ अन्सारीको पेशागत र व्याक्तिगत चरित्र हत्या गर्ने गरि राजनीतिक दलका नेता एवं विरामीका आफन्त भ्रम फैलाएको बताए ।
गत २६ गते वीरगंज हेल्थ केयर अस्प्तालमा पर्साको छिपहरमाई गाँउपालिका २ चेरगाहाका ३२ वर्षिय फिरोज मियाँको पित्त थैलीमा रहेको पत्थरीको शल्यक्रिया गरिएकोमा स्वास्थ्य अवस्था जटिल बनेपपछि थप उपचारका लागि काठमाण्डौ स्थित मेडिसिटी अस्पतालमा पठाइएको थियो । फिराजेको उपचारकै क्रममा आइतबार राति मृत्यु भएको छ ।
त्यही विषयलाई लिएर मृतक मियाँका आफन्तले केही राजनीतिक दलका व्यक्तिहरुको आडमा डा. अन्सारीले लापरवाही गरेको आरोप लगाउँदै विरोध प्रदर्शन गर्ने कामहरु गरेको संघका नारायणी शाखा अध्यक्ष डा. मनोज गुप्ताले बताए । डा. गुप्ताले वीरगन्ज हेल्थ केयरमा उपचारका क्रममा दुरबिन प्रविधिबाट शल्यकृया गर्ने क्रममा आवश्यक सबै सावधानी अपनाउँदा पनि मियाँको गल ब्लाडर बेडबाट अत्याधिक रक्तश्राव भएपछि ओपन सर्जरीका माध्यमले रक्तश्राव रोकेर शल्यकृया गरिएको बताए ।
त्यसपछि आइसियुमा १२ देखि १४ घण्टा सम्म राखेर बिरामीको आफन्तसँग सल्लाह लिएरै रक्तश्राव रोक्न पुनः दोश्रो पटक शल्यकृया गर्नु परेको गुप्ताको भनाई छ । दोश्रो पटकको सफल शल्यक्रिया पश्चात बिरामीलाई होस आएपछि आफन्तले बिरामीलाई पटक पटक भेटेको पनि गुप्ताको भनाई छ । आइसियुमा उपचारका क्रममा बिरामी सेप्सिसमा गई श्वास प्रश्वासमा समस्या देखिएकाले अस्पतालमा उपलब्ध श्रोतसाधनले नभ्याएपछि मात्रै उनलाई थप उपचारका लागि काठमाण्डौको मेडिसिटी अस्पतालमा रेफर गरिएको गुप्ताले बताए ।
डा. अन्सारीले बिरामीलाई निको पार्न अथक प्रयास गर्दा गर्दै पनि उपचारका क्रममा भवितब्यवश केहि जटिल समस्या देखिन गएको उनको भनाई छ । उपचारका क्रममा भएको भवितब्यलाई डाक्टरको लापरवाहीको संज्ञा दिइ अर्का माथि दोषारोपण गरि अनुचित लाभ लिने मनसायले गरिएको गतिविधि सफल नहुने उनको भनाई छ ।
यता वीरगन्ज हेल्थ केयर अस्पतालका संचालक डा. अबुलहैस अन्सारीले पनि मियाँको मृत्युको विषयलाई लिएर उनका आफन्त र केहि राजनीतिक दलका नेताले अनुचित लाभ लिन खोजेको आरोप लगाए । उनले वीरगन्ज हेल्थ केयरमा उपचारार्थ रहँदासम्म मियाँको उपचारमा डाक्टर र अस्पताल प्रशासनले कुनै लापरवाही नगरेको दाबी गरे । यदि उपचारमा कुनै किसिमको लापरवाही गरेको पुष्टि भए त्यसको क्षतिपुर्ति तिर्न र कारबाही सहन अस्पताल तयार रहेको भन्दै संचालक अन्सारीले तर हुदै नभएको गल्ती देखाउने प्रपञ्च रच्ने कार्य भएको छ, यो सह््य नहुने बताए ।
केहि दल विशेषका नेताले मिथ्या आरोप लगाएर आर्थिक लाभका लागि आफुसंग पटक पटक बार्गेनिङ गरि रहेको उनको भनाई छ । उनका अनुसार एक जना नेताले १० लाख रुपैया दिनुस् म सबै मिलाइ दिन्छु भनेर पटक पटक बार्गेनिङ पनि गरेको तर आफूले त्यसलाई अस्वीकार गर्दै उनको आरोप छ । वीरगन्ज हेल्थ केयर अस्पतालमा उपचारार्थ रहँदा मियाँको उपचार, शल्यकृया र औषधीमा गरि १ लाख २८ हजार रुपैयाको बिल बनेको तर बिरामीका आफन्तले औषधीको २७ हजार र उपचारको ११ हजार गरि ३८ हजार रुपैया मात्र तिरेको तर अझै पनि ९० हजार रुपैया तिर्नै बाँकी रहदा पनि अस्पताल प्रशासनले कुनै दबाब नदिएको उनको भनाई छ ।
प्रतिक्रिया दिनुहोस् !