रौतहट, ५ भदौ / नेपाल प्रहरीका प्रहरी नायब निरीक्षक (सई) पदीय आचरण विपरीत सार्वजनिक स्थानमा बर्दीमै अर्धनग्न नर्तकीहरुसँग नाचेको भिडियो सार्वजनिक भएपछि उनीमाथि कारबाहीको प्रक्रिया अघि बढाइएको छ । सई राजकिशोर साह बर्दीमै नाचेको भिडियो सार्वजनिक भएपछि उनको जिम्मेवारी खोसेर कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता सुनिल मल्लले जानकारी दिए ।
रौतहटको गढीमाई नगरपालिकाको वडा नम्वर ६ धरमपुरमा कृष्ण जन्माष्टमीको अवसरमा लागेको मेलामा प्रहरी नायव निरीक्षक राजकिशोर साह भोजपुरी गीतमा नाचेका थिए । अर्धनग्न नर्तकीहरुसँग उनी नाचेको भिडियो अहिले सामाजिक सन्जालमा भाइरल बनेको छ । साह स्टेजमा नाच्न जानुभन्दा पहिले दर्शकहरुलाई मोबाइलमा फोटो वा भिडियो नखिच्न भनेका थिए । कसैले पनि भिडियो वा फोटो नखिच्ने भनेपछि उनी स्टेजमा उक्लिएका थिए । नाच्दानाच्दै उनले उत्तेजित हाउभाउ देखाउन थाले ।
3नेपाल प्रहरीको पोशाकमै अमर्यादित हर्कत गरेपछि साहलाई कारबाहीका लागि हाल शिवनगरको प्रहरी चौकीमा तानेर थप कारबाही प्रक्रिया अघि बढाइएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । ‘अमर्यादित हर्कत गर्ने प्रहरी नायब निरीक्षकलाई विभागीय कारबाहीका लागि प्रक्रिया शुरु भएको छ,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता, डीएसपी सुनिल मल्लले भने, ‘उनलाई तत्कालै कार्यरत चौकीबाट हटाएर जिम्मेवारी खोसिएको छ ।’ उनीमाथि विभागीय कारबाहीको थप काम पनि अगाडि बढाइएको उनले जानकारी दिए ।
के भन्छन् नाँच्ने साह ?
बर्दीमै स्टेजमै नाचेको भिडियो सार्वजनिक भएपछि प्रहरी नायव निरीक्षक राजकिशोर साहले आफूलाई नियतवश फसाइएको दावी गरेका छन् । उनले आफू नाँच्न स्टेजमा चढेको नभई साँझ पर्न लागेकाले मान्छेको भीड हटाउँदै मेला र नाँच बन्द गराउन चढेको बताउँदै आफ्नो नियत सफा भएको दावी गरे ।
‘म भीड हटाउन स्टेजमा चढिरहँदा तेस्रो लिङ्गी भाइहरुले तानेर नाँच्न भनेको तर म नाचेको होइन्’ उनले भने , ‘मलाई घाँटी समातेर नाँच्ने भाइहरुले पछारिदिए पनि म नेपाल प्रहरीको ‘मुस्कान सहितको सेवाको नारा’ सम्झेर चुप लागेर बसेको हुँ । उनीहरुलाई मैले कुटेको भए, झगडा गरेको भए, रिसाएको भए मलाई झनै भाइरल गरिदिन्थे ।’ उनले आफूले त्यस्तो काम जानेर नगरेको बताउँदै २५ वर्षे जागिर अवधिमा सँधै राम्रो काम मात्र गरिरहँदा कहिले भाइरल नभएकोमा गुनासो गरे ।
‘म त नाँच्ने भनेर स्टेज चढेकै होइन, मलाइ त पछाडिबाट एउटा भाइले धक्का दियो तर म भाग्न खोजे तर तेस्रो लिङ्गी कलाकार भाइहरुले हात तानेर नाँच्न भने’ उनको दावी थियो, ‘ मलाई नाँच्न आउने भए त म पुलिस क्लवमा जान्थे कहाँ यहाँ बसिरहन्थे । म त नाँच्न होइन सम्झाइ बुझाइ गरेर नाँच बन्द गराउन गएको थिएँ ।’
प्रतिक्रिया दिनुहोस् !