वीरगन्ज (पर्सा), २१ जेठ / वीरगन्जबाट संचालित ‘वीरगंज टाइम्स’ डटकमकी संवाददाता मुस्कान कुमारी श्रेष्ठ अर्थमन्त्री जनार्दन शर्माबाट सम्मानित भएकी छिन् ।
वीरगन्ज टाइम्स अनलाइन पत्रिकासँगै न्यूज २४ टेलिभिजनमा विगत ३ वर्षदेखि आबद्ध रही पर्साबाट संवादाताको रुपमा कार्य गर्दै आएकी श्रेष्ठलाई वीरगन्ज उद्योग वाणिज्य संघको ४६ औं साधरणसभाको उद्घाटन समारोहमा अर्थमन्त्री शर्माले गम्छा ओढाएर कदरपत्र प्रदान गर्दै सम्मानित गरेका हुन् ।
श्रेष्ठ विगत ५ वर्षदेखि पर्सालाई आफ्नो कार्यक्षेत्र बनाएर पत्रकारिता गर्दै आएकी छिन् ।
मन्त्री शर्माले श्रेष्ठसँगै पर्साका अन्य ८ जना सञ्चारकर्मीहरुलाई पनि सम्मान गरेको छ । उनीसँगै नेपाल टेलिभिजनका पर्सा संवाददाता विजय कुमार महत्तो, नेपाल पोष्ट डेलि अनलाइन पत्रिकाका सञ्चालक मनोज पटेल, अनलाइन खबरका सुरेश बिडारी, ग्यालेक्सी टेलिभिजनका संवाददाता जियलाल साह, यात्राडेली डटकमका सुर्यनारायण विक, मधेश प्रदेश अनलाइन पत्रिकाकी सम्पादक माधुरी महतो, ब्रेकलिंक अनलाइनकी संवाददाता विमला गुप्तालाई पनि संघको तर्फबाट सम्मानित गरिएको थियो ।
वीरगञ्ज उद्योग वाणिज्य संघका अध्यक्ष डा. सुबोध गुप्ताको अध्यक्षतामा भएको उद्घाटन समारोहमा मधेश प्रदेशका मन्त्री ओम प्रकाश शर्मा, संघीय सांसद् प्रदीप यादव, प्रदेशसभा सदस्य भीमा यादव, वीरगन्ज महानगरपालिकाका मेयर राजेशमानन सिंह, जितपुर सिमरा उपमहानगरका मेयर राजन शर्मा पौडेल, संघका पूर्व अध्यक्षहरु गोपाल केडिया, गणेश लाठ लगायतको उपस्थिति रहेको थियो ।














प्रतिक्रिया दिनुहोस् !