वीरगंज / नेकपा एमाले पर्साका अध्यक्षमा जयप्रकाश थारु सर्वसम्मत चयन भएका छन् । नेकपा एमाले पर्साको आठौ जिल्ला अधिवेशनको क्रममा स्थगित भएको बन्दशत्रलाई निरन्तरता दिदै शनिबार अध्यक्ष पदमा थारुलाई सर्बसम्मत रुपमा चयन गरेको हो ।
बन्दसत्रबाट जिल्ला उपाध्यक्षमा फरमान मियाँ अन्सारी, सचिवमा मनोज गुप्ता, उप सचिवमा संजिव मिश्रा र प्रधुमन सेढाईलाई चयन गरेको छ । साथै १ सय ३५ सदस्यीय जिल्ला कमिटि समेत गठन गरिएको नेकपा एमाले पर्साले जनाएको छ ।
पुस २७ मा आठौ जिल्ला अधिवेशनको उद्घाटन भएको थियो । नेतृत्व चयनको बिषयमा नेताहरुमा सहमति नभएपछि बन्दसत्र स्थगित भएको थियो । त्यही स्थगित बन्दसत्र शनिबार आयोजना गरेर एमालेको जिल्ला कमिटि घोषणा गरिएको हो ।
अध्यक्ष थारु सुपौली गाविसको उपाध्यक्ष र संबिधान सभा सदस्यको भूमिका निर्वाह गरि सकेका नेता हुन । यस अघि पार्टीको जिल्ला अध्यक्षमा डा.बिश्वम्भर शर्माको नाममा सहमति भएको थियो ।
अधिवेशन सुरु भएको झण्डै तीन महिनापछि शनिबार वीरगन्जको एक होटलमा आयोजित बन्द सत्रबाट अध्यक्ष, पदाधिकारी सहित एक सय ३५ सदस्यीय जिल्ला समिति चयन भएको जनाइएको छ । जिल्ला अध्यक्ष चुनिएका थारु संविधान सभा सदस्य हुन् ।
प्रतिक्रिया दिनुहोस् !