वीरगंज (पर्सा), ११ मंसिर । वीरगंज महानगरपालिकाभित्र सामुदायिक विद्यालयको शैक्षिक अवस्था सुधार गर्ने प्रतिबद्धता भाषण र कागजी योजनामा मात्र सीमित भएको वडाध्यक्ष जितेन्द्र प्रसाद यादवले आरोप लगाएका छन् । वीरगंज महानगरपालिका वडा नं. ३१ का वडाध्यक्ष यादवले पटक–पटक विद्यालयको अनुगमन गर्दा पनि शैक्षिक अवस्थामा अपेक्षित सुधार हुन नसकेको स्वीकार गर्दै सामुदायिक विद्यालयभित्र विद्यार्थी संख्या, शिक्षकको उपस्थिति, दिवा खाजा कार्यक्रमको बजेट र शिक्षक सरुवासम्मका विषयमा अनियमितता भइरहेको आरोप लगाएका हुन् ।
वीरगंज महानगरपालिकाभित्र सबैभन्दा बढी विद्यालय रहेको वडामध्ये वडा नं. ३१ एक हो । यस वडामा मात्रै नौ वटा सामुदायिक विद्यालयहरु सञ्चालनमा छन् भने निजी तथा अन्य विद्यालयसमेत जोड्दा विद्यालयको संख्या १५ देखि १७ वटासम्म रहेको वडाध्यक्ष यादवको भनाइ छ । तर विद्यालयको संख्या धेरै भएपनि शिक्षाको गुणस्तर भने सन्तोषजनक नरहेको उनको दाबी छ ।
विशेषगरी गरिब तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने सामुदायिक विद्यालयको अवस्था झन् चिन्ताजनक रहेको उनले बताए । उनका अनुसार उन्नति आधारभूत विद्यालय, रामजानकी आधारभूत विद्यालयलगायतका विद्यालयमा विद्यार्थीको उपस्थिति २० देखि ४० जनासम्म मात्रै हुने गरेको छ । तर ती विद्यालयमा पाँचदेखि सात जनासम्म शिक्षक कार्यरत छन् ।
विद्यार्थीको वास्तविक उपस्थिति न्यून हुँदाहुँदै पनि विद्यालय सञ्चालनको नाममा ठूलो खर्च देखाउने प्रवृत्ति रहेको भन्दै यादवले विद्यालय व्यवस्थापन प्रणालीमै सुधार आवश्यक रहेको बताए । कुनै विद्यालयमा १० जना विद्यार्थी मात्रै छन् भने पनि वास्तविक विद्यार्थी संख्याका आधारमा विद्यालय सञ्चालन गर्नुपर्ने र त्यसको हिसाबकिताब पारदर्शी हुनुपर्ने उनको धारणा छ ।
वडाध्यक्ष यादवले विद्यालयमा विद्यार्थी भर्ना र वास्तविक उपस्थितिबीच ठूलो अन्तर रहेको विषयसमेत उठाएका छन् । उनका अनुसार वैशाखमा नयाँ शैक्षिक सत्र सुरु हुँदा भर्ना भएका विद्यार्थीको संख्या धेरै देखाइन्छ । तर केही समयपछि विद्यालयमा विद्यार्थीको उपस्थिति क्रमशः घट्दै जान्छ । कागजी अभिलेखमा भने विद्यार्थी संख्या बढी देखाएर दिवा खाजा तथा अन्य सुविधाका नाममा आउने बजेटमा ब्रम्ह्लुट गर्ने प्रवृत्ति रहेको उनको आरोप छ ।
विद्यालयमा विद्यार्थीको वास्तविक उपस्थितिभन्दा कागजी विवरणलाई प्राथमिकता दिँदा सरकारी लगानीको प्रभावकारितामाथि प्रश्न उठेको उनले बताए । बालविकास कक्षामा समेत सातदेखि आठ जना बालबालिकाका लागि दुई जना शिक्षक राखिएको अवस्थाले व्यवस्थापनमा पुनरावलोकन आवश्यक रहेको उनको भनाइ छ ।
शिक्षकको हाजिरी कागजमा, विद्यालयमा उपस्थिति शून्य ?
वडाध्यक्ष यादवले सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर खस्किनुमा शिक्षकहरूको लापरवाही पनि प्रमुख कारण रहेको बताएका छन् । उनका अनुसार केही शिक्षक नियमित समयमा विद्यालय नआउने, कतिपय एक सातासम्म विद्यालयमा अनुपस्थित रहने तर हाजिरी अभिलेखमा भने दैनिक उपस्थित देखाउने गरेको गुनासो प्राप्त हुने गरेको छ ।
विद्यालयमा शिक्षकको नियमित उपस्थिति र पठनपाठनको प्रभावकारी अनुगमन हुन नसक्दा विद्यार्थीको भविष्य प्रभावित भइरहेको उनको भनाइ छ । विद्यालयमा शिक्षक र विद्यार्थी दुवैको वास्तविक उपस्थिति सुनिश्चित नगरी शैक्षिक सुधारको कुरा गर्नु अर्थहीन हुने उनले बताए ।
यादवले शिक्षा क्षेत्रलाई सेवाभन्दा व्यापारको रूपमा विकास गरिँदै लगिएको आरोपसमेत लगाएका छन् । विद्यालयका प्रधानाध्यापक, व्यवस्थापन समिति र जनप्रतिनिधिहरूबीचको मिलेमतोका कारण विद्यालयमा हुने अनियमितताले प्रश्रय पाइरहेको उनको दाबी छ ।
शिक्षा शाखाको अनुगमन नै शंकास्पद !
वीरगंज महानगरपालिकाको शिक्षा प्रशासनको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्ष यादवले शिक्षा विकास तथा समन्वय इकाई शाखाका प्रमुख आनन्द लामिछानेको भूमिका पनि शंकास्पद रहेको बताएका छन् । उनका अनुसार विद्यालयको वास्तविक अवस्था बुझ्न र आवश्यक सुधारका लागि अनुगमन गर्न आग्रह गर्दा पनि प्रभावकारी अनुगमन हुन सकेको छैन । अनुगमनको नाममा औपचारिकता पूरा गर्ने र कागजी प्रक्रिया मिलाउने काम मात्रै हुने गरेको उनको आरोप छ ।
विशेषगरी सामुदायिक आधारभूत विद्यालयमा दिवा खाजा कार्यक्रमको बजेट वास्तविक विद्यार्थी संख्याभन्दा बढी देखाएर खर्च गर्ने तथा त्यसमा अनियमितता हुने गरेको उनले बताएका छन् । विद्यालयमा हुने यस्ता गतिविधिमा सम्बन्धित निकायले प्रभावकारी छानबिन नगरेको उनको गुनासो छ ।
महानगरभित्र शिक्षा सुधारको जिम्मेवारी मेयरदेखि वडाध्यक्ष तथा वडा सदस्यसम्मका जनप्रतिनिधिको पनि उत्तिकै रहेको स्वीकार गर्दै यादवले शिक्षा क्षेत्रको वर्तमान अवस्थाको जिम्मेवारीबाट कुनैपनि जनप्रतिनिधि पञ्छिन नमिल्ने बताए । तर शिक्षा सुधारका प्रतिबद्धता व्यवहारमा कार्यान्वयन हुन नसकेको उनको भनाइ छ ।
चितवनबाट शिक्षिका ल्याउन एकै दिनमा सबै प्रक्रिया पूरा कसरी भयो ?
वडाध्यक्ष यादवले महानगरको शिक्षा प्रशासनको शंकास्पद भूमिकालाई स्पष्ट पार्दै पछिल्लो समय चितवनबाट वीरगंजमा गरिएको एक शिक्षिकाको जिल्लान्तर सरुवाको घटनालाई समेत उदाहरणका रूपमा प्रस्तुत गरेका छन् । वीरगंज महानगरपालिका–३१ सोलखपुरस्थित श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालयमा चितवन जिल्लामा कार्यरत प्राथमिक तह तृतीय श्रेणीकी शिक्षिका शोभा साहलाई सरुवा गरी ल्याइएको घटनाले शिक्षा शाखाको कार्यशैलीमाथि शंका उत्पन्न गरेको उनको आरोप छ ।
शिक्षिका साह यसअघि चितवन जिल्लाको इच्छाकामना गाउँपालिका–५ स्थित श्री राष्ट्रिय आधारभूत विद्यालय पामडाँडामा कार्यरत थिइन् । उनलाई सोलखपुरस्थित विद्यालयमा ल्याउने क्रममा शिक्षक माग गर्ने विद्यालयको निर्णय, महानगरपालिकाबाट सरुवाका लागि सहमति र विद्यालयमा हाजिर हुन दिने प्रक्रिया एउटै दिनमा पूरा भएको विषयलाई यादवले अस्वाभाविक मानेका छन् ।
सामान्यतया जिल्लान्तर शिक्षक सरुवाका लागि आवश्यक प्रक्रिया, सम्बन्धित निकायबीच समन्वय र प्रशासनिक निर्णयमा समय लाग्ने भएपनि यस घटनामा सबै प्रक्रिया एकै दिनमा कसरी पूरा भयो भन्ने उनको प्रश्न छ । वडाध्यक्ष यादवले यो सरुवा पहिल्यै योजनाबद्ध रूपमा अघि बढाइएको हुन सक्ने आशंका व्यक्त गर्दै शिक्षा विकास तथा समन्वय इकाईका प्रमुख आनन्द लामिछानेको भूमिकामाथि निष्पक्ष छानबिन हुनुपर्ने माग गरेका छन् । आफन्तलाई लाभ पुग्ने गरी शिक्षा प्रशासनको प्रक्रिया अघि बढाइएको हो कि होइन भन्ने विषयसमेत स्पष्ट हुनुपर्ने उनको भनाइ छ ।
शिक्षक सरुवामा अपनाइएको प्रक्रिया, विद्यालयको वास्तविक शिक्षक आवश्यकता, निर्णय गर्ने पदाधिकारीको भूमिका र सरुवा सम्बन्धी कागजात सार्वजनिक गरेर प्रशासनिक पारदर्शिता कायम गर्नुपर्ने उनले बताएका छन् । वडाध्यक्ष यादवले उठाएका प्रश्नले वीरगंज महानगरपालिकाको सामुदायिक शिक्षा प्रणालीभित्र रहेको भनिएको बेथिति, कमजोर अनुगमन र प्रशासनिक जवाफदेहिताको विषयलाई पुनः बहसमा ल्याएको छ । विद्यालयमा विद्यार्थीको वास्तविक संख्या कति छ, शिक्षक नियमित उपस्थित हुन्छन् कि हुँदैनन्, दिवा खाजाको बजेट कसरी खर्च भइरहेको छ र जिल्लान्तर सरुवामा निर्धारित प्रक्रिया पालना गरिएको छ कि छैन भन्ने विषयमा अब सम्बन्धित निकायले तथ्यसहित जवाफ दिनुपर्ने देखिन्छ ।
सामुदायिक विद्यालयमा गरिब तथा विपन्न परिवारका बालबालिका अध्ययन गर्ने भएकाले त्यहाँको शैक्षिक गुणस्तरमा हुने लापरवाहीले उनीहरूको भविष्यमा प्रत्यक्ष असर पार्छ । त्यसैले वडाध्यक्षले उठाएका आरोपलाई व्यक्तिगत आरोप–प्रत्यारोपमा सीमित नराखी महानगरपालिकाले विद्यालयगत विद्यार्थी विवरण, शिक्षक उपस्थिति, दिवा खाजा खर्च र शिक्षक सरुवाका निर्णयमाथि निष्पक्ष छानबिन गर्नुपर्ने आवश्यकता देखिएको छ ।


























प्रतिक्रिया दिनुहोस् !