कलैया (बारा), बारा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बारा क्षेत्र नम्बर–१ का नेता मनोजप्रसाद चौधरीकी आमाको अन्त्येष्टिमा सशस्त्र प्रहरीले शोक सलामी दिएपछि विवाद चुलिएको छ । पूर्वसशस्त्र प्रहरी कर्मचारीको पारिवारिक शोकमा संगठनबाट सलामी दिइएको घटनाले नियम, प्रक्रिया र राजनीतिक प्रभावको प्रयोगसम्बन्धी प्रश्न खडा गरेको छ ।
घटनाबारे सामाजिक सञ्जालमा तस्बिर र विवरण सार्वजनिक भएसँगै सशस्त्र प्रहरी बल नेपालले आन्तरिक छानबिन अघि बढाएको छ । चौधरी रास्वपाको कोल्हवी नगर सचिव हुन् भने उनी विगतमा सशस्त्र प्रहरीमा कार्यरत थिए । उनकी आमा सरली थरुनीको अन्त्येष्टिमा सशस्त्र प्रहरीका ११ जना कर्मचारीको टोली पुगेर शोक सलामी दिएको थियो । अन्त्येष्टिमा रास्वपाका नेता–कार्यकर्तासँगै बारा क्षेत्र नम्बर–१ का प्रतिनिधिसभा सदस्य गणेश धिमालसमेत सहभागी थिए ।
सशस्त्र प्रहरी बल नेपाल नम्बर–१२ गण बाराका प्रमुख एसपी विशाल सिलवालले चौधरी बहालवाला सशस्त्र प्रहरी कर्मचारी रहेको सूचना पाएपछि सलामीका लागि टोली पठाइएको बताएका छन् । तर, पछि वास्तविकता बुझ्दा चौधरी सेवाबाट अवकाश भइसकेको खुलेको उनले स्वीकार गरेका छन् ।
संगठनमा कार्यरत कर्मचारीका आफन्तको निधन हुँदा शोक सलामी दिने प्रचलन रहेपनि पूर्वकर्मचारीका आफन्तको अन्त्येष्टिमा यस्तो सम्मान दिने व्यवस्था नरहेको एसपी सिलवालको भनाइ छ । त्यसैले घटनामा प्रक्रियागत त्रुटि भएको स्वीकार गर्दै टोली पठाउन कसले आदेश दिएको थियो भन्ने विषयमा छानबिन भइरहेको उनले जानकारी दिएका छन् ।
विवाद सार्वजनिक भएपछि चौधरीले भने आफूले कुनै सार्वजनिक पद वा राजनीतिक हैसियतका आधारमा नभई पूर्वसशस्त्र प्रहरी कर्मचारीका रूपमा संगठनबाट सम्मान पाएको दाबी गरेका छन् । उनले सामाजिक सञ्जालमार्फत आफू अहिले सरकारको कुनै पनि सार्वजनिक पदमा नरहेको उल्लेख गर्दै आमाबुवाको निधनमा आफूले काम गरेको संगठनले दिने आदर्श सम्मानस्वरूप शोक सलामी प्राप्त गरेको बताएका छन् ।
‘म सरकारको कुनै पनि सार्वजनिक पदमा छैन । पहिला म पूर्वसशस्त्र प्रहरी हुँ । हाम्रा पुजनीय बुवाआमाको देहान्त भएपछि मैले काम गरेको संगठनले दिने आदर्श सम्मान शोक सलामी हो । यस्तो दुःखको घडीमा टीकाटिप्पणी नगरिदिनुहोला,’ उनले लेखेका छन् ।
देशमा सङ्कट वा आपत्कालीन अवस्था उत्पन्न भए सरकारले पूर्वसशस्त्र प्रहरी कर्मचारीलाई समेत पुनः सेवामा बोलाउन सक्ने तर्क गर्दै उनले संगठनबाट प्राप्त सम्मानलाई स्वाभाविक रूपमा लिएको बताएका छन् । तर, पूर्वकर्मचारीका परिवारलाई सलामी दिने व्यवस्था नै नरहेको अवस्थामा कुन आधारमा यस्तो सम्मान दिइयो भन्ने प्रश्न भने अनुत्तरित छ ।
सशस्त्र प्रहरी बल मधेश प्रदेशका डीआईजी विष्णु भट्टराईले पनि पूर्वसशस्त्र प्रहरी कर्मचारीका आफन्तलाई शोक सलामी दिन नमिल्ने स्पष्ट पारेका छन् । उनका अनुसार सशस्त्र प्रहरी बल नम्बर–१ गण बाराको कोल्हवीस्थित युनिटबाट सलामीका लागि टोली खटिएको थियो । उनले समेत घटनामा त्रुटि भएको जनाउँदै छानबिन भइरहेको बताएका छन् ।
नियमविपरीत भएको भनिएको सलामीमा कसको निर्देशन थियो, कुन आधारमा टोली परिचालन गरियो र जिम्मेवार अधिकारीमाथि के कारबाही हुन्छ भन्ने विषय अब छानबिनको दायरामा आएको छ । पूर्वकर्मचारीको पारिवारिक शोकलाई सम्मानसँग जोडेर चौधरीले आफ्नो बचाउ गरेपनि संगठनकै अधिकारीहरूले नियमविपरीत भएको स्वीकार गरिसकेपछि घटनाले सशस्त्र प्रहरीभित्रको आदेश प्रणाली र जिम्मेवारीमाथि समेत प्रश्न उठाएको छ ।




























प्रतिक्रिया दिनुहोस् !