जनकपुरधाम र भारतको अयोध्याबीच रेल सेवा सञ्चालन हुनु केवल दुई सहरलाई जोड्ने यातायात सुविधा विस्तार मात्र होइन, नेपाल र भारतबीच शताब्दीयौँदेखि कायम धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्बन्धलाई व्यवहारमा जोड्ने महत्वपूर्ण उपलब्धि हो । त्रेता युगमा भगवान् राम र सीताको विवाहसँग जोडिएका जनकपुरधाम र अयोध्याबीच रेलमार्गबाट आवागमन सहज हुनु धार्मिक पर्यटनका दृष्टिले पनि सुखद विषय हो । तर, यो उपलब्धिसँगै जनकपुरबाट अयोध्या हुँदै भारतको राजधानी नयाँदिल्लीसम्म रेल सञ्चालन गर्ने प्रस्ताव किन अलपत्र पर्यो ?
प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेको ‘सरयू–कमला एक्सप्रेस’ जनकपुरधाम आइपुगेसँगै दुई देशबीचको धार्मिक पर्यटनमा नयाँ सम्भावना खुलेको छ । तर, अहिलेको सेवा अयोध्यासम्म मात्र सीमित छ । जबकि यसअघि जनकपुरबाट अयोध्या हुँदै दिल्लीसम्म रेल सञ्चालन गर्ने विषयमा नेपाल र भारतबीच छलफल मात्र भएको थिएन, सरकारी तहमा पत्राचार र सञ्चालनसम्बन्धी प्रस्तावसमेत अघि बढेको तथ्य सार्वजनिक भइसकेको छ ।
नेपाल रेल्वे कम्पनीले २०८० फागुन १५ गते भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयलाई पठाएको पत्रले यो विषयलाई थप गम्भीर बनाएको छ । उक्त पत्रमा जनकपुर, अयोध्या हुँदै दिल्लीसम्म रेल सेवा सञ्चालन गर्ने विषयमा दुई देशबीच पटक–पटक छलफल र पत्राचार भएको उल्लेख छ । नेपालसँग आफ्नै रेल सेट उपलब्ध नहुँदासम्म भारतीय रेल प्रयोग गरेर सेवा सञ्चालन गर्ने विकल्पसमेत प्रस्ताव गरिएको थियो । यात्रु आवागमन सहज बनाउन अध्यागमन कार्यालय स्थापना गर्नुपर्ने विषय पनि समेटिएको थियो । अर्थात्, यो केवल राजनीतिक भाषण वा कल्पनामा सीमित योजना थिएन, संस्थागत प्रक्रियामा प्रवेश गरेको प्रस्ताव थियो ।
तर, विडम्बना ! यति महत्वपूर्ण प्रस्तावको आजको अवस्था के छ भन्ने प्रश्नको स्पष्ट जवाफ सम्बन्धित निकायसँग छैन । तत्कालीन रेल्वे कम्पनीका प्रबन्ध सञ्चालक निरञ्जनकुमार झा र तत्कालीन भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालाका अनुसार भारत यस विषयमा सकारात्मक थियो । समयतालिका मिलाउने र प्राविधिक प्रक्रिया अघि बढाउने तहसम्म छलफल पुगेको उनीहरूको भनाइ छ । तर, पूर्वसचिव केशवप्रसाद शर्माको बुझाइमा एउटै रेल सीधै दिल्लीसम्म पुर्याउने सहमति भएको थिएन, अयोध्याबाट अर्को रेलमार्फत दिल्ली पुग्ने व्यवस्था मिलाउने विषयमा मात्र छलफल भएको थियो ।
यी फरक धारणाले प्रस्तावको वास्तविक स्वरूप र त्यसको प्रगतिबारे थप स्पष्टता आवश्यक रहेको देखाउँछन् । अझ आश्चर्यको विषय त के छ भने नेपाल रेल्वे कम्पनीका वर्तमान प्रबन्ध सञ्चालकलाई समेत दिल्लीसम्म रेल विस्तार गर्ने पुरानो प्रस्तावबारे जानकारी छैन । एउटा राष्ट्रिय महत्वको योजना व्यक्तिको पदावधिसँगै हराउने हो भने राज्यका संस्थागत स्मृति, अभिलेख र निरन्तरताको अर्थ के रहन्छ ?
नेपालको विकासको एउटा पुरानै रोग यही हो सरकार र नेतृत्व फेरिएसँगै योजना फेरिन्छन्, प्राथमिकता बदलिन्छन् र अघिल्लो नेतृत्वले अघि बढाएका महत्वपूर्ण प्रस्ताव अलपत्र पर्छन् । सम्भावना पहिचान गर्ने तर त्यसलाई निष्कर्षमा पुर्याउन नसक्ने प्रवृत्तिले विकासका अवसरलाई निरन्तर कमजोर बनाउँदै आएको छ । जनकपुर–दिल्ली रेल प्रस्ताव पनि यही प्रवृत्तिको अर्को उदाहरण बन्नु हुँदैन ।
जनकपुरधाम धार्मिक पर्यटनको अन्तर्राष्ट्रिय केन्द्र बन्न सक्ने सम्भावना बोकेको सहर हो । अयोध्या र दिल्लीसँग प्रभावकारी रेल सम्पर्क स्थापित गर्न सके भारतीय तीर्थयात्रीको आगमन बढ्नुका साथै पर्यटन, होटल व्यवसाय, स्थानीय व्यापार र रोजगारीमा समेत सकारात्मक प्रभाव पर्न सक्छ । त्यसैले अहिलेको अयोध्यासम्मको सेवा उपलब्धि भए पनि यसलाई अन्तिम गन्तव्य मान्नु हुँदैन ।
अब सरकारले विगतमा भएका पत्राचार, सहमति र प्राविधिक प्रस्तावको आधिकारिक अवस्था सार्वजनिक गर्नुपर्छ । दिल्लीसम्मको सेवा एउटै रेलबाट सम्भव छ कि अयोध्यामा रेल परिवर्तन गरेर सञ्चालन गर्न सकिन्छ भन्ने विषय प्राविधिक अध्ययनबाट टुंग्याउनुपर्छ । भारतसँग कूटनीतिक संवादलाई निरन्तरता दिँदै जिम्मेवार निकायले समयबद्ध कार्ययोजना बनाउनुपर्छ ।
जनकपुर–अयोध्या रेल सेवा उद्घाटन गरेर मात्रै उपलब्धि पूरा हुँदैन । त्यसले खोलेको सम्भावनालाई विस्तार गर्नु नै वास्तविक सफलता हुनेछ । धार्मिक सम्बन्धको चर्चा भाषणमा सीमित राख्ने कि त्यसलाई आधुनिक यातायात, पर्यटन र आर्थिक सहकार्यमा रूपान्तरण गर्ने भन्ने निर्णय अब सरकारको हातमा छ । जनकपुरबाट अयोध्यासम्म पुगेको रेलको यात्रा दिल्लीसम्म विस्तार गर्ने सपना फेरि अर्को सरकारी फाइलमा थन्किनु हुँदैन ।



























प्रतिक्रिया दिनुहोस् !