वीरगंज (पर्सा), २० कात्तिक । पर्साको वीरगंजस्थित नापी कार्यालयमा विचौलियाको दबदबा र कर्मचारीमाथिको धम्कीको घटना सार्वजनिक भएको छ । कार्यालय प्रमुखसहित चारजना नापी अधिकृतलाई कार्यकक्षमै प्रवेश गरेर गालीगलौज, धाकधम्की तथा अभद्र व्यवहार गरिएको भन्दै कार्यालयका कर्मचारीहरूले दोषीमाथि कडा कारबाहीको माग गरेका छन् ।
नापी कार्यालय पर्साका कर्मचारीहरूले तयार पारेको मुचुल्काअनुसार, गत कात्तिक १९ गते दिउँसो करिब १ः३० बजे विचौलियाहरु संजय कुमार ठाकुर र प्रदीप कुमार केडियाले कार्यालय प्रमुख राकेश कुमार झाको कार्यकक्षमै पुगेर कर्मचारीमाथि दुर्व्यवहार गरेका थिए ।
उनीहरूले कार्यालय प्रमुख झासहित चारजना नापी अधिकृतलाई अन्य व्यक्तिको नाममा दर्ता कायम रहेका विवादित जग्गाहरू आफ्नै नाममा दर्ता श्रेस्ता कायम गर्न दबाब दिँदै ठाडो धाकधम्की दिएको मुचुल्कामा उल्लेख छ । आफूले चाहेको निर्णय गराउन दबाब दिने क्रममा गालीगलौजसमेत गर्दै कर्मचारीलाई अभद्र व्यवहार गरिएको कर्मचारीहरूको दाबी छ ।
सरकारी कार्यालयभित्रै प्रवेश गरेर जिम्मेवार अधिकारीहरूलाई धम्क्याउँदै विवादित जग्गाको दर्ता आफ्नो पक्षमा गराउन दबाब दिइएको घटनाले नापी प्रशासनको कार्यसम्पादन र कर्मचारीको सुरक्षामाथि गम्भीर प्रश्न चिन्ह खडा गरेको छ ।
घटनापछि नापी कार्यालयका प्रमुख, नापी अधिकृत, सहायक नापी अधिकृत, अन्य कर्मचारी तथा कार्यालय सहयोगीसहितका कर्मचारीहरूले सामूहिक रूपमा मुचुल्का तयार गरी हस्ताक्षर गरेका छन् । उनीहरूले संजय कुमार ठाकुर र प्रदीप कुमार केडियामाथि आवश्यक कानुनी कारबाही गर्न नापी कार्यालयमार्फत नेपाल सरकारको ध्यानाकर्षण गराएका छन् ।
कारबाहीको माग गर्दै तयार पारिएको मुचुल्कामा कार्यालय प्रमुख राकेश कुमार झा, नापी अधिकृतहरू दीपक कुमार सिंह, विजय कुमार सिंह, नागेन्द्र महतो र क्रान्ति कुमार गुप्तासहित सहायक नापी अधिकृत, अन्य कर्मचारी तथा कार्यालय सहयोगी गरी दुई दर्जनभन्दा बढी कर्मचारीले हस्ताक्षर गरेका छन् ।
सरकारी अभिलेखमा अन्य व्यक्तिको नाममा दर्ता कायम रहेको जग्गालाई दबाब र धम्कीका भरमा आफ्नो नाममा कायम गराउन खोजिएको आरोप सामान्य प्रशासनिक विवाद मात्र नभई जग्गा प्रशासनको निष्पक्षता र कानुनी शासनसँग जोडिएको गम्भीर विषय हो ।
कार्यालय प्रमुखसहितका कर्मचारी नै कार्यकक्षभित्र असुरक्षित महसुस गर्नुपर्ने अवस्था सिर्जना हुनु र जग्गाको दर्ता प्रक्रियामा बाह्य दबाबको आरोप लाग्नुले पर्साको नापी प्रशासनमा विचौलियाको प्रभाव कति गहिरो छ भन्ने प्रश्न उठाएको छ । अब सम्बन्धित निकायले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कानुनबमोजिम कारबाही गर्छ वा घटना कागजी ध्यानाकर्षणमै सीमित हुन्छ भन्ने चासो बढेको छ ।




























प्रतिक्रिया दिनुहोस् !