जनकपुरधाम (धनुषा), १९ कात्तिक । जनकपुरधामलाई भारतको अयोध्यासँग रेलमार्गबाट जोड्ने योजना अघि बढेसँगै रेल सेवा सञ्चालनको तयारी तीव्र पारिएको छ । यसैक्रममा जनकपुरधाम–अयोध्या रेल सेवा सञ्चालनको सम्भावना र प्राविधिक अवस्थाबारे परीक्षण गर्न भारतीय रेल चलाइएको छ ।
नेपाल र भारत दुवै पक्षको पहलमा अघि बढाइएको योजनाअन्तर्गत १७ बगीको रेल चलाएर परीक्षण गरिएको नेपाल रेल्वेका प्रबन्ध सञ्चालक परिवेश पराजुलीले जानकारी दिएका छन् । उनका अनुसार जनकपुरधामबाट अयोध्यासम्म रेल सेवा विस्तार गर्ने उद्देश्यले परीक्षणको काम अघि बढाइएको हो ।
रेल सञ्चालनका लागि आवश्यक तयारी तीव्र पारिए पनि परीक्षणको चरण भने पूरा भइसकेको छैन । रेल सञ्चालनसँग सम्बन्धित प्राविधिक परीक्षण तथा अन्य प्रक्रिया अझै जारी रहने पराजुलीले बताए । आवश्यक परीक्षण र प्रक्रिया पूरा भएपछि सेवा सञ्चालनको थप तयारी अघि बढाइनेछ ।
प्रस्तावित योजनाअनुसार नेपाली भूमिमा जयनगरदेखि जनकपुरधामसम्म नेपाली रेल सञ्चालन हुनेछ । त्यसपछि भारतीय रेलमार्फत भारतका दुईदेखि तीनवटा स्टेसनबाट यात्रु चढाएर अयोध्यासम्म पुर्याउने योजना रहेको पराजुलीले जानकारी दिए ।
जनकपुरधाम र अयोध्या दुवै धार्मिक तथा सांस्कृतिक महत्त्व बोकेका सहर हुन् । यी दुई धार्मिक सहरलाई रेलमार्गबाट जोड्न सकिए धार्मिक पर्यटकको आवागमन बढ्नुका साथै दुवै क्षेत्रबीचको धार्मिक तथा सांस्कृतिक सम्बन्ध थप प्रगाढ हुने अपेक्षा गरिएको छ । यद्यपि, रेल सेवा सञ्चालनको मिति र नियमित सेवा सुरु हुने विषयमा भने प्राविधिक परीक्षण तथा आवश्यक तयारी पूरा हुन बाँकी छ ।




























प्रतिक्रिया दिनुहोस् !