वीरगंज (पर्सा), १९ कात्तिक । दीपावली तथा छठ पर्वको अवसरमा विद्यार्थीहरूको प्रतिभा, सिर्जनशीलता, कला र सांस्कृतिक पहिचान उजागर गर्ने उद्देश्यले सगरमाथा एकेडेमी स्कुलको प्राङ्गणमा दियो निर्माण तथा रंगोली प्रतियोगिता सम्पन्न भएको छ । विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सुरजीदेवी स्कुलका पूर्वप्रधानाध्यापक लालबाबु तिवारी प्रमुख अतिथिका रूपमा उपस्थित थिए । कार्यक्रममा विशिष्ट अतिथि तथा निर्णायकका रूपमा कलाकार एवं चित्रकार मुकेश महतोलगायतको उपस्थिति रहेको थियो ।
कार्यक्रमलाई दुई विधामा विभाजन गरिएको थियो । कक्षा १ देखि ४ सम्मका विद्यार्थीका लागि आकर्षक तथा सिर्जनात्मक दियो निर्माण प्रतियोगिता आयोजना गरिएको थियो भने कक्षा ५ देखि १० सम्मका विद्यार्थीले विभिन्न रङको संयोजनबाट आकर्षक रंगोली निर्माण गरी आफ्नो कला, कल्पना र प्रतिभा प्रस्तुत गरेका थिए ।
प्रतियोगितामा विद्यार्थीहरूले उत्साह र लगनशीलताका साथ आफ्नो सिर्जनात्मक क्षमता प्रदर्शन गरेका थिए । साना विद्यार्थीहरूले बनाएका आकर्षक दियो तथा ठूला कक्षाका विद्यार्थीहरूले तयार पारेका मनमोहक रंगोलीले विद्यालयको वातावरणलाई दीपावलीमय बनाएको थियो ।
यसका साथै विद्यार्थीहरूले छठ पर्वको मौलिक संस्कृति झल्काउने झिझिया नृत्य तथा अन्य सांस्कृतिक नृत्य प्रस्तुत गरी कार्यक्रमलाई थप आकर्षक र उल्लासमय बनाएका थिए । प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरी प्रथम, द्वितीय र तृतीय स्थान हासिल गर्ने विद्यार्थीहरूलाई प्रमुख अतिथि, सभापति तथा विशिष्ट अतिथिहरूले शिल्ड, मेडल र प्रमाणपत्र प्रदान गरी सम्मान गरेका थिए ।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लालबाबु तिवारीले विद्यार्थीहरूको सर्वाङ्गीण विकासका लागि यस्ता अतिरिक्त क्रियाकलाप अत्यन्त आवश्यक रहेको बताए । विद्यार्थीभित्र लुकेको प्रतिभा पहिचान गरी त्यसलाई प्रस्तुत गर्ने उचित अवसर प्रदान गर्नु विद्यालयको महत्वपूर्ण दायित्व भएको उनको भनाइ थियो ।
त्यसैगरी, विद्यालयका प्रधानाध्यापक जियालाल गुप्ताले शिक्षा किताबका पानामा मात्र सीमित नहुने बताए। विद्यार्थीले जीवनका हरेक क्षेत्रमा आफ्नो प्रतिभा, सिर्जनशीलता, अनुशासन र आत्मविश्वास प्रदर्शन गर्न सक्ने क्षमता विकास गर्नु नै शिक्षाको महत्त्वपूर्ण उद्देश्य रहेको उनले उल्लेख गरे ।
‘साना हातले बनाएको एउटा दियो होस् वा ठूला विद्यार्थीले तयार पारेको एउटा रंगोली, हरेक सिर्जनाभित्र एउटा नयाँ सोच र सम्भावना लुकेको हुन्छ,’ प्रधानाध्यापक गुप्ताले भने । उनले जीवनमा सधैँ प्रथम हुनुभन्दा हरेक काममा उत्कृष्ट प्रयास गर्नु महत्वपूर्ण रहेको बताउँदै पुरस्कार जित्नुका साथै सहभागिता जनाउनु, नयाँ कुरा सिक्नु र आफ्नो प्रतिभा प्रस्तुत गर्नु पनि ठूलो उपलब्धि भएको धारणा राखे ।
कार्यक्रममा शिक्षक संजीव यादवले सञ्चालन गरेका थिए । कार्यक्रममा शिक्षिका रिंकु कर्ण, मुना पटेल, अशीम चौधरी, सुनीता साह, शिक्षक शिवकुमारलगायत अन्य शिक्षक–शिक्षिकाहरूको सक्रिय सहभागिता तथा सहयोग रहेको थियो । कार्यक्रमले विद्यार्थीहरूमा सिर्जनात्मक सोच, आत्मविश्वास, आपसी सहयोग, सांस्कृतिक चेतना तथा प्रतिस्पर्धात्मक भावनाको विकासमा महत्वपूर्ण योगदान पुर्याएको विद्यालयले जनाएको छ ।




























प्रतिक्रिया दिनुहोस् !