कलैया (बारा), १९ कात्तिक । जिल्ला हुलाक कार्यालय बाराले सेवाग्राहीलाई घरदैलोमै नेपाल टेलिकमको सिमकार्ड उपलब्ध गराउने सेवा सुरु गरेको छ । हुलाक सेवा विभाग र नेपाल टेलिकमबीच भएको सम्झौताअनुसार कार्यालयले बिहीबारदेखि जिल्लाभर सिमकार्ड वितरणको नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको हो ।
सार्वजनिक सेवालाई नागरिकको घरदैलोसम्म पुर्याउने उद्देश्यले सुरु गरिएको यस सेवामार्फत अब नेपाल टेलिकमको सिमकार्ड लिन सेवाग्राहीले कार्यालयसम्म धाउनुपर्ने बाध्यता हट्ने अपेक्षा गरिएको छ । जिल्ला हुलाक कार्यालय बाराका हुलाक अधिकृत दीपक पटेलका अनुसार सेवाको सुरुवातसँगै सिम्रौनगढ नगरपालिका–१ की नेहा कुमारी ठाकुरलाई हुलाकमार्फत पहिलोपटक नेपाल टेलिकमको सिमकार्ड हस्तान्तरण गरिएको छ ।
पटेलले हुलाक सेवा विभाग र नेपाल टेलिकमबीचको सहकार्यले सर्वसाधारणलाई सहज, सरल र सुलभ रूपमा दूरसञ्चार सेवा उपलब्ध गराउन मद्दत पुग्ने बताए । उनका अनुसार सिमकार्ड वितरणमा मात्र सीमित नरही हुलाक सेवामार्फत राहदानी, शैक्षिक प्रमाणपत्रलगायत महत्वपूर्ण कागजात तथा अन्य सामग्रीसमेत सम्बन्धित व्यक्तिको घरसम्म पुर्याउन सकिनेछ ।
घरदैलोमै सेवा उपलब्ध हुने व्यवस्थाले सेवाग्राहीको समय र यातायात खर्च जोगिनुका साथै सरकारी तथा सार्वजनिक सेवामा नागरिकको पहुँच थप सहज हुने विश्वास गरिएको छ । परम्परागत हुलाक सेवालाई आधुनिक आवश्यकतासँग जोड्दै नागरिकमैत्री सेवा विस्तार गर्ने प्रयासका रूपमा यसलाई हेरिएको छ ।




























प्रतिक्रिया दिनुहोस् !