Birgunj Times
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
TRENDING
प्रतिनिधिसभा निर्वाचन प्रतिनिधिसभा उम्मेदवार जिल्ला प्रहरी कार्यालय पर्सा वीरगंज महानगरपालिका नेशनल मेडिकल कलेज जिल्ला प्रशासन कार्यालय वीरगंज भन्सार कार्यालय राष्ट्रिय स्वतन्त्र पार्टी
  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि
No Result
View All Result
E-PAPER
Birgunj Times
No Result
View All Result

जनकपुर अस्पतालको बेहालः २५ बेडको आकस्मिक कक्षमा ५० बिरामी, बेन्चमै उपचार गर्नुपर्ने बाध्यता

अस्पतालको आकस्मिक कक्षको अवस्था हेर्दा बिरामीको चाप र व्यवस्थापकीय कमजोरीको तस्वीर प्रस्ट देखिन्थ्यो । कक्षका २५ वटै बेड भरिएका थिए । थप उपचारका लागि राखिएका १० वटा स्ट्रेचरसमेत बिरामीले भरिएका थिए । कतिपय बिरामीलाई बेन्चमा राखेर उपचार गर्नुपरेको थियो भने उनीहरूका कुरुवा बस्ने ठाउँ नपाएर भुइँमै बस्न बाध्य थिए । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरकी कलिया देवी सर्पदंशको उपचारका लागि बिहीबार साँझ अस्पताल पुगेकी थिइन् । तर, बेड नपाएपछि उनले रातभरि आकस्मिक कक्ष छेउको कोठामा रहेको स्टिलको बेन्चमा बसेर उपचार गराउनुपर्‍यो ।

वीरगंज टाइम्स
वीरगंज टाइम्स
अशोज २५, २०८३
जनकपुर अस्पतालको बेहालः २५ बेडको आकस्मिक कक्षमा ५० बिरामी, बेन्चमै उपचार गर्नुपर्ने बाध्यता

जनकपुरधाम (धनुषा), २५ असोज । मधेश प्रदेशको सबैभन्दा ठूलो सरकारी स्वास्थ्य संस्था प्रादेशिक अस्पताल जनकपुरधाममा बिरामीको चापअनुसार पूर्वाधार र जनशक्ति व्यवस्थापन हुन नसक्दा आकस्मिक उपचार सेवा नै अस्तव्यस्त बनेको छ । २५ शय्याको स्वीकृति पाएको आकस्मिक कक्षमा ५० जनासम्म बिरामीको उपचार गर्नुपर्ने बाध्यता छ भने ३९० शय्या सञ्चालनमा रहेको अस्पतालमा आवश्यक जनशक्तिको आधाभन्दा पनि कम उपलब्ध छ । गम्भीर अवस्थामा अस्पताल पुग्ने बिरामीले समेत समयमै बेड, चिकित्सक र स्वास्थ्यकर्मी पाउन कठिन भइरहेको छ ।

अस्पतालको आकस्मिक कक्षको अवस्था हेर्दा बिरामीको चाप र व्यवस्थापकीय कमजोरीको तस्वीर प्रस्ट देखिन्थ्यो । कक्षका २५ वटै बेड भरिएका थिए । थप उपचारका लागि राखिएका १० वटा स्ट्रेचरसमेत बिरामीले भरिएका थिए । कतिपय बिरामीलाई बेन्चमा राखेर उपचार गर्नुपरेको थियो भने उनीहरूका कुरुवा बस्ने ठाउँ नपाएर भुइँमै बस्न बाध्य थिए । महोत्तरीको भंगहा नगरपालिका–५ राजपुरकी कलिया देवी सर्पदंशको उपचारका लागि बिहीबार साँझ अस्पताल पुगेकी थिइन् । तर, बेड नपाएपछि उनले रातभरि आकस्मिक कक्ष छेउको कोठामा रहेको स्टिलको बेन्चमा बसेर उपचार गराउनुपर्‍यो ।

‘म राति नै उपचारका लागि आएँ । यहाँ बेड छैन । रातिदेखि यही बेन्चमा बसेर उपचार गराइरहेकी छु । आकस्मिक कक्षमै उपचार गराउन यति गाह्रो छ,’ उनले भनिन् । सोही बेन्चको अर्को छेउमा महोत्तरीको बलवा नगरपालिका–१० धमौराकी १२ वर्षीया सोनाली पासवान पेट दुख्ने समस्या लिएर उपचार गराइरहेकी थिइन् । शुक्रबार बिहान अस्पताल भर्ना भएकी उनले पनि बेड पाइनन् । आर्थिक अवस्था कमजोर भएकाले निजी अस्पतालमा जान नसक्ने उनका आफन्तले सरकारी अस्पतालमै यस्तो सास्ती भोग्नुपरेको गुनासो गरे ।

मिर्गौलासम्बन्धी समस्या लिएर आएका सिरहाको कल्याणपुर नगरपालिका–भेरियाका ६० वर्षभन्दा बढी उमेरका प्रदीप नायकको अवस्था पनि उस्तै थियो । बेड नपाउँदा उपचारका लागि कहाँ जाने भन्ने अन्योलमा रहेका उनले आफ्नो स्वास्थ्य अवस्था कमजोर हुँदै गएको सुनाए । ‘कतै बेड नै खाली छैन । कहाँ र कसरी उपचार गराउने ? मेरो हालत ठीक छैन,’ उनले भने । आकस्मिक कक्षमा सर्पदंशका बिरामीलाई लिएर पुगेका धनुषाको मिथिलाबिहारी नगरपालिका–ललियाका अजय मण्डल पनि उपचारका लागि ठाउँ खोज्दै उभिइरहेका थिए । प्रदेशकै प्रमुख अस्पताल भनिने संस्थामा बिरामीले बेडसमेत नपाउनु दुःखद भएको उनको भनाइ थियो ।

२५ शय्याको क्षमतामा ५० जनासम्मको उपचार
प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा बिरामीको चाप यति बढेको छ कि निर्धारित शय्याले सेवा धान्न नसक्ने अवस्था छ । २५ बेडबाहेक स्ट्रेचर, बेन्च र भुइँको सहारामा समेत बिरामी राखेर उपचार गर्नुपर्ने बाध्यता छ । चिकित्सकहरूका अनुसार कतिपय समयमा ४० देखि ५० जनासम्म बिरामीलाई एकैपटक सेवा दिनुपर्छ ।

‘आकस्मिक कक्षको क्षमता २५ बेड हो, तर हामीले ५० बेडसम्मको सेवा दिइरहेका छौँ,’ एक चिकित्सकले भने, ‘बिरामीको चापअनुसार संरचना छैन । अवलोकन वार्डसमेत नहुँदा व्यवस्थापनमा थप समस्या भएको छ ।’ आकस्मिक कक्षमा आउने बिरामीमध्ये धेरैको अवस्था गम्भीर हुने गरेको छ । अन्य स्वास्थ्य संस्थाबाट रेफर भएर आउने बिरामीलाई तत्काल उपचार आवश्यक पर्छ । तर, सीमित बेड र जनशक्तिका कारण उनीहरूलाई आवश्यक सेवामा ढिलाइ हुने जोखिम बढेको चिकित्सकहरू बताउँछन् ।

आकस्मिक कक्ष प्रशासनका अनुसार यहाँ दैनिक औसत १०० देखि १२५ जनासम्म बिरामी आउने गरेका छन् । त्यसबाहेक प्रहरी हिरासतमा रहेका २५ जनासम्म थुनुवाको स्वास्थ्य परीक्षण तथा १५ जनासम्म घाइतेको उपचारसमेत यहीँबाट गर्नुपर्छ । यति धेरै जिम्मेवारी सम्हाल्नुपर्ने कक्षमा चिकित्सकको उपस्थिति भने न्यून छ । प्रशासनका अनुसार २५ शय्याको आकस्मिक कक्षका लागि चार सिफ्टमा कम्तीमा २० जना मेडिकल अफिसर आवश्यक पर्नेमा हाल पाँच जना मात्र कार्यरत छन् । प्रत्येक सिफ्टमा कम्तीमा चार जना आवश्यक भए पनि एक जना मेडिकल अफिसरले मात्रै काम चलाउनुपर्ने अवस्था छ । प्रशासनले प्रत्येक सिफ्टमा एक जनाले सेवा दिनुपरेको जनाएको छ ।

‘यहाँ प्रायः गम्भीर अवस्थाका बिरामी आउँछन् । उनीहरूलाई तत्काल उपचार दिनुपर्छ । तर, थोरै जनशक्तिले सबैलाई पर्याप्त समय दिन कठिन हुन्छ,’ एक चिकित्सकले भने । बेड तथा भेन्टिलेटर अभावका कारण कतिपय बिरामीलाई अन्यत्र रेफर गर्नुपर्ने अवस्था रहेको चिकित्सकहरूको भनाइ छ । उनीहरूका अनुसार आकस्मिक कक्षमा बिरामीको चाप र उपलब्ध स्रोतसाधनबीच ठूलो अन्तर छ ।

नर्सिङ सेवामा पनि चरम अभाव
आकस्मिक उपचारमा चिकित्सकसँगै नर्सिङ जनशक्ति पनि उत्तिकै महत्त्वपूर्ण हुन्छ । तर, प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा नर्सको दरबन्दी र उपलब्ध जनशक्तिबीच ठूलो खाडल छ । अस्पताल प्रशासनका अनुसार संघीय सरकारको निर्देशिकाअनुसार रेड बेडमा एक जना नर्स र एलो बेडमा दुई बेड बराबर एक जना नर्स आवश्यक पर्छ । यही मापदण्डअनुसार आकस्मिक कक्षमा आवश्यक नर्सको संख्या र उपलब्ध जनशक्ति यस्तो छः

● ‘रेड बेडः’ ६ वटा बेडका लागि चार सिफ्टमा २४ जना नर्स आवश्यक पर्नेमा आठ जना मात्र कार्यरत ।
● ‘एलो बेडः’ १० वटा बेडका लागि २० जना आवश्यक पर्नेमा चार जना मात्र उपलब्ध ।
● ‘आइसोलेसन बेडः’ दुई बेडका लागि चार जना आवश्यक पर्नेमा एक जना पनि कार्यरत छैनन् ।
● ‘ग्रिन बेडः’ सात बेडका लागि आठ जना आवश्यक पर्नेमा चार जना मात्र कार्यरत ।
● ‘प्रोसिजर रुमः’ दुई जना स्वास्थ्यकर्मी आवश्यक पर्नेमा पदपूर्ति भएको छैन ।
● ‘ट्रायाज सेवाः’ चार सिफ्टका लागि आठ जना मेडिकल अफिसर आवश्यक पर्नेमा तीन जना मात्र कार्यरत ।

यसरी चिकित्सक, नर्स र अन्य स्वास्थ्यकर्मीको अभावले आकस्मिक उपचार सेवाको कार्यभार सीमित कर्मचारीमाथि केन्द्रित भएको छ । बिरामीको चाप बढ्दा तत्काल उपचार, निगरानी र आवश्यक प्रक्रियाहरू सञ्चालन गर्न थप कठिनाइ हुने गरेको छ ।

स्वीकृति १०० शय्याको, सञ्चालन ३९० शय्यामा
प्रादेशिक अस्पताल जनकपुरधामको समस्या आकस्मिक कक्षमा मात्र सीमित छैन । अस्पतालको समग्र क्षमता, स्वीकृत दरबन्दी र उपलब्ध जनशक्तिबीचको असन्तुलन वर्षौँदेखि कायम छ । २०१३ सालमा जानकी सार्वजनिक अस्पतालका रूपमा स्थापना भएको यस संस्थाले २०२४ सालमा १५ शय्याको स्वीकृति पाएको थियो । २०२६ सालमा २५ शय्यामा स्तरोन्नति भएको अस्पताल २०२८ सालमा ५० शय्याको जनकपुर अञ्चल अस्पताल बन्यो । त्यसपछि २०४८ सालमा यसको क्षमता १०० शय्यामा स्तरोन्नति गरियो ।

संघीयता कार्यान्वयनपछि मधेश प्रदेश सरकार मातहत आएको अस्पताल मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानअन्तर्गत सञ्चालन हुँदै आएको छ । अहिले अस्पतालमा ३९० शय्या सञ्चालनमा छन्, तर स्वीकृत दरबन्दी भने २०४८ सालकै १०० शय्याको संरचनाअनुसार कायम छ । अस्पतालका प्रवक्ता डा. रामज्ञान यादवका अनुसार दैनिक करिब दुई हजार बिरामीले यहाँबाट स्वास्थ्य सेवा लिने गरेका छन् । बिरामीको चाप र सेवाको आवश्यकतालाई हेर्दा अस्पतालको क्षमता कम्तीमा ८०० शय्या पुर्‍याउनुपर्ने अवस्था छ । तर, सरकारले न १०० शय्याभन्दा माथिको कानुनी स्वीकृति दिएको छ, न आवश्यक नयाँ दरबन्दी स्वीकृत गरेको छ ।

अस्पताल निर्देशक डा. जामुन सिंहका अनुसार हालको १०० शय्याको स्वीकृत संरचनाअन्तर्गत २८ जना कन्सल्ट्यान्ट, आठ जना मेडिकल अफिसर र २५ जना नर्सको दरबन्दी छ । तर, अस्पतालको सेवा विस्तारसँगै आवश्यक जनशक्ति थप्ने काम अघि बढ्न सकेको छैन । संघीय सरकारको मापदण्डअनुसार ३९० शय्याको अस्पताल सञ्चालन गर्न कम्तीमा ९०० जना जनशक्ति आवश्यक पर्ने बताइएको छ । तर, अहिले अस्पतालमा करिब ४०० जना मात्र कार्यरत छन् । यसमा करार तथा डोर हाजिरीमा राखिएका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीसमेत समावेश छन् ।

प्रदेश सरकारले अस्पतालमा केही भवन तथा भौतिक संरचना थप गरेको भए पनि त्यसअनुसार जनशक्ति र स्वीकृत दरबन्दी विस्तार गर्न सकेको छैन । फलस्वरूप, अस्पतालको सेवा सञ्चालन गर्न उपलब्ध जनशक्तिमाथि अत्यधिक कार्यभार परेको छ ।

पूर्वाधार विस्तारमा जोड, जनशक्ति व्यवस्थापनमा बेवास्ता
अस्पतालको सेवा विस्तार र जनशक्ति व्यवस्थापनमा देखिएको ढिलाइले मधेश प्रदेश सरकारको स्वास्थ्य क्षेत्रसम्बन्धी प्राथमिकतामाथि प्रश्न उठाएको छ । बिरामीको चाप बढ्दै जाँदा थप भवन र शय्याले मात्र गुणस्तरीय सेवा सुनिश्चित गर्न नसक्ने भएपनि आवश्यक चिकित्सक, नर्स तथा अन्य स्वास्थ्यकर्मीको व्यवस्था हुन सकेको छैन ।

मुख्यमन्त्री सतिशकुमार सिंहले करिब डेढ वर्षअघि अस्पताललाई २०० शय्याको बनाउने निर्णय मन्त्रिपरिषद्बाट गराएका थिए । तर, त्यससम्बन्धी कानुनी प्रक्रिया अझै पूरा भएको छैन । अस्पतालको वास्तविक सञ्चालन क्षमता ३९० शय्या पुगिसक्दा पनि स्वीकृत दरबन्दी र प्रशासनिक संरचना पुरानै अवस्थामा रहनु व्यवस्थापकीय कमजोरीको उदाहरण बनेको छ । अस्पतालमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमध्ये कतिपयले निजी स्वास्थ्य संस्थामा समेत काम गर्ने गरेको बताइन्छ । बिरामीको अत्यधिक चाप र सीमित जनशक्तिबीच काम गर्नुपर्ने अवस्थाले सरकारी अस्पतालमा प्रभावकारी उपचार सेवा दिन थप चुनौती सिर्जना गरेको छ ।

अस्पतालको जनशक्ति व्यवस्थापनका लागि प्रदेश सरकारले पर्याप्त बजेट विनियोजन गर्न नसकेको गुनासोसमेत छ । आर्थिक वर्ष २०८२/८३ मा पहिलोपटक यस प्रयोजनका लागि एक करोड १३ लाख रुपैयाँ उपलब्ध गराइएको थियो । मधेश प्रदेशको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण (ओएन्डएम) गरी दरबन्दी स्वीकृत गर्ने प्रक्रिया पाँच वर्षदेखि अलपत्र छ । पटकपटक प्रक्रिया अघि बढाइए पनि आवश्यक निर्णय हुन नसक्दा अस्पतालले जनशक्ति थप्न सकेको छैन ।

मन्त्रालयका सचिव डा. प्रमोद यादवका अनुसार अस्पतालका लागि एक हजार जनशक्तिको दरबन्दी थप्ने गरी ओएन्डएम प्रक्रिया अघि बढाउन खोजिए पनि अर्थ मन्त्रालय र मन्त्रिपरिषद्बाट सहमति प्राप्त हुन सकेन । ‘यस पटक एक हजार जनशक्तिको दरबन्दी थप्न हामीले ओएन्डएम गर्न स्वीकृति माग्दा क्याबिनेटले दिएन। अर्थ मन्त्रालयले त्यसमा असहमति जनायो,’ उनले भने ।

बिरामीको चाप बढिरहँदा सुधारको निर्णय कहिले ?
प्रादेशिक अस्पताल जनकपुरधाममा दैनिक हजारौँ बिरामी उपचारका लागि पुग्छन् । तर, अस्पतालको सेवा विस्तार र जनशक्ति व्यवस्थापनबीच तालमेल नहुँदा बिरामीले आधारभूत सुविधासमेत सहज रूपमा पाउन सकेका छैनन् । विशेषगरी आकस्मिक कक्षमा बेड अभाव, नर्स तथा चिकित्सकको कमी र अवलोकन वार्ड नहुँदा गम्भीर बिरामीले समेत सास्ती भोग्नुपरेको छ ।

अस्पतालको क्षमता विस्तार गर्ने घोषणा र भौतिक संरचना निर्माणले मात्रै नागरिकले अपेक्षा गरेको स्वास्थ्य सेवा उपलब्ध हुँदैन । सञ्चालनमा रहेका शय्याअनुसार आवश्यक जनशक्ति, स्वीकृत दरबन्दी, उपकरण र उपचार व्यवस्थापन सुनिश्चित गर्नु राज्यको जिम्मेवारी हो । तर, १०० शय्याको स्वीकृतिमा ३९० शय्या सञ्चालन भइरहेको अस्पतालमा जनशक्ति थप्ने निर्णयसमेत अघि बढ्न नसक्नुले प्रदेश सरकारको स्वास्थ्य सेवा व्यवस्थापनमाथि गम्भीर प्रश्न खडा गरेको छ ।

बिरामीले बेड नपाएर बेन्चमा बसेर उपचार गराउनुपर्ने अवस्था अन्त्य गर्न प्रदेश सरकारले अब घोषणा होइन, आवश्यक कानुनी प्रक्रिया पूरा गरी दरबन्दी स्वीकृत गर्ने र जनशक्ति व्यवस्थापन गर्ने ठोस कदम चाल्नुपर्ने देखिन्छ ।

Tags: जनकपुर अस्पताल अस्तव्यस्त: जनशक्ति व्यवस्थापनमा सरकार उदासीन
वीरगंज टाइम्स

वीरगंज टाइम्स

निष्पक्ष, सत्य र तथ्यमा आधारित पत्रकारिता मार्फत पाठकलाई छिटो, विश्वसनीय र जिम्मेवार सूचना उपलब्ध गराउनु वीरगंज टाइम्सको मूल उद्देश्य हो ।

प्रतिक्रिया दिनुहोस् !

ताजा अपडेट

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

गहवामाईप्रतिको आस्थाको सागरमा डुब्यो वीरगंज, चुनरी यात्रामा १० हजार भक्तजन सहभागी

अशोज २५, २०८३
नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

नारायणी वाङ्मय प्रतिष्ठानको अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन

अशोज २५, २०८३
जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

जनकपुर हत्या प्रकरणः हिंसात्मक टिकटक बनाउने सशस्त्र प्रहरी जवानमाथि अनुसन्धान

अशोज २५, २०८३
भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

भ्रष्टाचारको उजुरीपछि बुवा-छोरालाई धम्कीः झुटा मुद्दामा फसाउने षड्यन्त्र, निष्पक्ष छानविनको माग

अशोज २५, २०८३

जनहितमा जारी सन्देश….

यो वेबसाइट वीरगंज टाईम्स मिडिया प्रा.लि. को आधिकारिक न्यूज पोर्टल हो । जसले नेपाली भाषाको स्थानीय, राष्ट्रिय, अन्तराष्ट्रिय समाचार प्रकाशनको साथै मनोरंजन, खेलकुद, साहित्य, जीवनशैली, आर्थिक, बिचार तथा खोजमुलक सत्य, तथ्य र निस्पक्ष तरिकाले, विश्व, सुचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आयामका समाचार र विश्लेषणलाई समेट्छ।

 

सम्पर्क

  • वीरगंज टाईम्स मिडिया प्रा.लि.
  • वीरगंज महानगरपालिका वडा नं. १६, पर्सा
    वीरगंज 44300
  • नेपाल सूचना तथा प्रसारण विभाग दर्ता नं. : ३१०१-०७८/०७९
  • सम्पर्क : +977-9855014253
  • timesbirgunj@gmail.com
  • https://birgunjtimes.com/

हाम्रो टिम

संचालक : वीरगंज टाईम्स मिडिया प्रा‍.लि.

सम्पादक                   : हरिशंकर शर्मा
संवाददाता                 : मुस्कान श्रेष्ठ
फोटो पत्रकार            : जाकिर मियाँ तेली

फेसबुक फ्यानपेज

Facebook

© 2021 : Birgunj Times Media Pvt. Ltd. - All Rights Reserved.

  • होमपेज
  • समाचार
  • प्रदेश
    • प्रदेश १
    • मधेस
    • वागमती
    • गण्डकी
    • लुम्बिनी
    • कर्णाली
    • सुदुरपस्चिम
  • राष्ट्रिय
  • समाज
  • राजनीति
  • शिक्षा
  • सम्पादकीय
  • मनोरञ्जन
  • विविध
    • खेलकुद
    • विचार
    • अन्तराष्ट्रिय
    • अन्तर्वार्ता
    • कृषि
    • कला/साहित्य
    • अर्थ/वाणीज्य
    • धर्म/संस्कृति
    • पत्र-पत्रिका
    • फोटो ग्यलरी
    • रोचक
    • विज्ञान/प्राविधि