वीरगंज (पर्सा), २५ असोज । पर्साको पोखरिया नगरपालिकाका एक स्थानीयले सरकारी कार्यालयमा भएको भनिएको जग्गा कित्ताकाट अनियमितताविरुद्ध उजुरी दिएपछि आफू र आफ्ना बुवालाई धम्की दिइएको तथा झुटा मुद्दामा फसाउने षड्यन्त्र भएको आरोप लगाएका छन् । उनले नापी कार्यालय र भूमि प्रशासन कार्यालय (मालपोत) पोखरियाका कर्मचारीको मिलेमतोमा कानुनविपरीत जग्गाको कित्ताकाट गरिएको दाबी गर्दै घटनाको निष्पक्ष छानबिन र दोषीमाथि कारबाहीको माग गरेका छन् ।
पोखरिया नगरपालिका–४ निवासी बिनय कुमार गोढले आइतबार वीरगंजमा पत्रकार सम्मेलन गरी भ्रष्टाचारविरुद्ध उजुरी दिएपछि आफू र आफ्ना बुवा राम अशिष प्रसाद गोढमाथि दबाब र दुर्व्यवहार भएको आरोप सार्वजनिक गरेका हुन् । बिनयका अनुसार उनले जग्गा कित्ताकाटमा भएको भनिएको अनियमितताबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोग र भूमि व्यवस्थापन तथा अभिलेख विभागमा उजुरी दर्ता गराएका थिए ।
उक्त उजुरीमा नापी कार्यालयका प्रमुख बब्लु पाण्डे, सर्भेक्षक उमेश प्रसाद साह तेली, अमिन सन्तोष कुमार गुप्ता तथा मालपोत कार्यालयका प्रमुख नायब सुब्बा रामजी प्रसाद साह र मुद्दा फाँटका नायब सुब्बा रामरेखा प्रसाद चौरसियाको भूमिकामाथि प्रश्न उठाइएको उनले बताए । उनका अनुसार उजुरीसम्बन्धी पत्र २०८३ असोज १३ गते प्राप्त भएपछि सोही दिन दिउँसो करिब २ बजे उनका बुवालाई फोन गरी कार्यालयमा बोलाइएको थियो ।
कार्यालय पुगेपछि बुवामाथि अभद्र व्यवहार गरिएको, हातपात तथा धम्की दिइएको र झुटो मुद्दामा फसाउने प्रयास भएको बिनयको आरोप छ । ‘भ्रष्टाचारविरुद्ध उजुरी दिएकै कारण हामीलाई उल्टै निशाना बनाइएको छ,’ बिनयले भने, ‘हामीले अनियमितताबारे छानबिनको माग गरेका हौँ, तर अहिले आफैँलाई झुटा आरोप र मुद्दामा फसाउने प्रयास भइरहेको छ ।’
सीसीटीभी बन्द गरेर फसाउन खोजिएको आरोप
बिनयले सम्बन्धित कार्यालयमा जडान गरिएका सीसीटीभी क्यामेरा बन्द गरेर आफूहरूलाई फसाउने षड्यन्त्र गरिएको दाबी गरेका छन् । घटनाको वास्तविकता पत्ता लगाउन कार्यालयमा जडान गरिएका सीसीटीभी क्यामेराको फुटेज सुरक्षित राखी निष्पक्ष छानबिनका लागि सार्वजनिक गर्न उनले माग गरेका छन् ।
उनका अनुसार भ्रष्टाचारसम्बन्धी उजुरी फिर्ता लिन विभिन्न माध्यमबाट दबाबसमेत दिइएको छ । आफू र आफ्ना बुवाविरुद्ध अभद्र व्यवहारको आरोप लगाइएको तथा जिल्ला प्रशासन कार्यालय पर्साको तोक आदेशमार्फत इलाका प्रहरी कार्यालय पोखरियामा पत्र पठाइएको पनि उनले बताएका छन् । बिनयले उजुरीकर्तालाई नै दबाबमा पार्ने र झुटा मुद्दामा फसाउने प्रयास भएको आफ्नो दाबी गर्दै घटनामा संलग्न भनिएका व्यक्तिहरूमाथि निष्पक्ष अनुसन्धान गर्न सम्बन्धित निकायसँग आग्रह गरेका छन् ।
बाटो नभएको कृषि जग्गाको कित्ताकाटमा अनियमितता भएको दाबी
बिनयले तत्कालीन हरिहरपुर बिर्ता गाविस–१ अन्तर्गत सिट नम्बर १९३०१७८, कित्ता नम्बर १२२४ र २७०.८८ वर्गमिटर क्षेत्रफलको जग्गाको कित्ताकाट प्रक्रियामा अनियमितता भएको आरोप पनि लगाएका छन् । उनका अनुसार उर्मिला देवी कुर्मीनको नामबाट राजीनामामार्फत कित्ताकाट गरी कायम गरिएको नयाँ कित्ता नम्बर १३५९ को जग्गा अमलापती हजामीनको नाममा रहेको छ । बाटोको पहुँच नभएको कृषि योग्य जग्गालाई प्रचलित नियमविपरीत कित्ताकाट गरिएको उनको दाबी छ ।
उक्त जग्गाको कित्ताकाट कसरी र कुन कानुनी आधारमा गरिएको हो भन्ने विषयमा सम्बन्धित अभिलेख तथा निर्णय प्रक्रिया जाँच गर्नुपर्ने उनको माग छ । कित्ताकाटमा संलग्न कर्मचारीको भूमिकाबारे अनुसन्धान गरी अनियमितता पुष्टि भए कानुनअनुसार कारबाही गर्न उनले आग्रह गरेका छन् ।
उजुरीकर्तालाई नै दबाब, निष्पक्ष अनुसन्धानको माग
भ्रष्टाचारसम्बन्धी उजुरीपछि आफू र परिवारमाथि दबाब सिर्जना गरिएको बिनयको आरोपले सरकारी कार्यालयमा हुने भनिएका अनियमिततामाथि प्रश्न उठाउने व्यक्तिको सुरक्षा र उजुरी प्रक्रियाको निष्पक्षताबारे चासो बढाएको छ ।
उनले घटनाको सत्यतथ्य सार्वजनिक गर्न सम्बन्धित कार्यालयका सीसीटीभी फुटेज सुरक्षित राख्न, उजुरीमा उल्लेख गरिएका विषयको निष्पक्ष छानबिन गर्न र दोषी प्रमाणित हुने कर्मचारीमाथि कानुनअनुसार कारबाही गर्न माग गरेका छन् । अनुसन्धान प्रभावित हुन नदिन आवश्यक देखिए आरोपित कर्मचारीलाई अनुसन्धान अवधिभर निलम्बन गर्नसमेत उनले आग्रह गरेका छन् ।
अब अख्तियार दुरुपयोग अनुसन्धान आयोग, भूमि व्यवस्थापन तथा अभिलेख विभाग तथा सम्बन्धित प्रशासनिक निकायले उजुरीमाथि कस्तो अनुसन्धान गर्छन् र जग्गाको कित्ताकाट प्रक्रिया कानुनसम्मत थियो वा थिएन भन्ने विषयमा कस्तो निष्कर्ष निकाल्छन् भन्ने चासोको विषय बनेको छ ।



















प्रतिक्रिया दिनुहोस् !