वीरगंज (पर्सा), २५ असोज । नारायणी वाङ्मय प्रतिष्ठानको नयाँ अध्यक्षमा महेशचन्द्र गौतम सर्वसम्मत चयन भएका छन् । प्रतिष्ठानको वार्षिक साधारण सभाले यसअघि सचिवको जिम्मेवारीमा रहेका गौतमलाई अध्यक्षमा चयन गर्दै नयाँ कार्यसमिति गठन गरेको हो । प्रतिष्ठानका अध्यक्ष डा. विश्वम्भर कुमार शर्माको अध्यक्षतामा सम्पन्न साधारण सभाले उपाध्यक्षमा कविता खड्का, सचिवमा सुरेश बिडारी र कोषाध्यक्षमा अजमत अली अन्सारीलाई चयन गरेको छ ।
त्यसैगरी, कार्यसमिति सदस्यमा गीता भण्डारी, सूर्य शुभचिन्तक, रेणु गुप्ता, देवी सापकोटा, नवराज रिजाल, किशुन दयाल श्रीकृष्ण र देवराज खरेल चयन भएका छन् । नयाँ नेतृत्व चयनसँगै प्रतिष्ठानलाई साहित्यिक गतिविधिमा थप सक्रिय बनाउने, पठन संस्कृतिको विकास गर्ने र नयाँ पुस्तालाई साहित्यसँग जोड्ने विषयमा पनि जोड दिइएको छ ।
साधारण सभालाई सम्बोधन गर्दै प्रतिष्ठानका संस्थापक एवं वरिष्ठ सल्लाहकार जगदिश शर्माले साहित्यिक गतिविधिलाई निरन्तरता दिँदै संस्थाको गरिमा र प्रतिष्ठा अझ उचाइमा पुर्याउनुपर्ने बताए । साहित्यकार गणेशप्रसाद लाठले वीरगंजमा पठन संस्कृतिको विस्तार गर्दै युवापुस्तामा साहित्यप्रतिको रुचि बढाउनुपर्ने धारणा राखे । उनले पुस्तक मेलालगायत साहित्यिक कार्यक्रम नियमित आयोजना गर्न र पर्यावरण तथा प्रकृतिका विषयलाई समेत साहित्यिक सिर्जनासँग जोड्न सुझाव दिए ।
वीरगंज उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद गौतमले व्यापारिक सहरका रूपमा परिचित वीरगंजको साहित्यिक पहिचान संरक्षण तथा प्रवद्र्धनमा प्रतिष्ठानले प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने बताए । प्रतिष्ठानलाई वीरगंजमा मात्र सीमित नराखी मधेश प्रदेशसँगै मकवानपुर र चितवनका साहित्यकारलाई समेत समेट्ने संस्थाका रूपमा विकास गर्नुपर्ने उनको सुझाव थियो ।
कार्यक्रममा नेपाल पत्रकार महासंघको केन्द्रीय लेखा समितिका संयोजक केसी लामिछाने, महासंघ मधेश प्रदेशका अध्यक्ष श्याम बन्जारा र पर्सा शाखाका अध्यक्ष ओमप्रकाश खनालले पनि शुभकामना मन्तव्य व्यक्त गरेका थिए । नवनिर्वाचित अध्यक्ष गौतमले अग्रज साहित्यकारको सम्मान गर्दै उनीहरूका सुझाव र अनुभवलाई आत्मसात् गरी सहकर्मीसँग सहकार्य गरेर अघि बढ्ने प्रतिबद्धता जनाए । नयाँ पुस्तालाई साहित्यप्रति आकर्षित गर्नुका साथै प्रतिष्ठानलाई थप सुदृढ, सक्रिय र प्रभावकारी संस्थाका रूपमा स्थापित गर्न आफूले पहल गर्ने उनले बताए ।



















प्रतिक्रिया दिनुहोस् !