गोलबजार (सिरहा), २४ असोज । सिरहाका दुई छुट्टाछुट्टै स्थानमा विद्युत् सर्टसर्किटका कारण आगलागी हुँदा चारवटा पशुचौपायाको मृत्यु भएको छ । आगलागीबाट घरगोठ, अन्नपात, भाँडाकुँडा र अन्य घरायसी सामग्री जलेर नष्ट भएका छन् । दुवै घटनामा मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ ।
गोलबजार नगरपालिका–३ स्थित नेवारकुनी, चोरपानेका गंगाबहादुर सुनुवारको घरगोठमा शुक्रबार राति करिब १२ बजे विद्युत् मिटरमा सर्टसर्किट भएर आगलागी भएको हो । आगलागीमा एउटा गोरुको मृत्यु भएको छ भने करिब पाँच क्विन्टल अन्नबालीसहित घरगोठ पूर्ण रूपमा जलेर नष्ट भएको छ । भाँडावर्तनलगायत अन्य सामग्रीसमेत आगलागीमा परेर नष्ट भएका छन् ।
इलाका प्रहरी कार्यालय गोलबजारका प्रमुख प्रहरी निरीक्षक दीपक खरेलका अनुसार घटनास्थलमा पुगेको प्रहरी टोलीले क्षतिको विवरण संकलन गर्नुका साथै मुचुल्का तयार गर्ने काम गरिरहेको छ । मुचुल्का तयार भएपछि मात्रै क्षतिको विस्तृत विवरण यकिन हुने उनले बताए । यसैगरी, विष्णुपुर गाउँपालिका–४ स्थित थल्हा बथान टोलमा पनि विद्युत्को तार सर्ट भएर आगलागी हुँदा तीनवटा पशुचौपायाको मृत्यु भएको छ ।
प्रहरीका अनुसार स्थानीय ४७ वर्षीय वीरेन्द्र यादवको बाँसको टाटीले घेरिएको र फुसको छानो भएको एकतले गाईगोठ तथा भान्सा घरमा बिहीबार राति करिब १ः३० बजे आगलागी भएको थियो । आगलागीमा एउटा भैँसी र दुईवटा गोरुको मृत्यु भएको छ । घरमा राखिएका अन्नपात, भाँडाकुँडा तथा अन्य सामग्रीसमेत जलेर नष्ट भएका छन् ।
आगलागीको सूचना प्राप्त हुनासाथ प्रहरी चौकी बेल्हाबाट खटिएको टोली र स्थानीयवासीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो । उक्त घटनामा प्रारम्भिक अनुमानअनुसार करिब पाँच लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । विद्युत् सर्टसर्किटका कारण भएका दुवै घटनामा चारवटा पशुचौपाया मर्नुका साथै घरगोठ र खाद्यान्नमा क्षति पुगेको छ । प्रहरीले घटनासम्बन्धी थप विवरण संकलन गरिरहेको जनाएको छ ।


















प्रतिक्रिया दिनुहोस् !