औराही (सिरहा), १७ असोज । सिरहाको औरही गाउँपालिका–१ दरैयाबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा ११० किलो ७६० ग्राम गाँजासहित तीन जना पक्राउ परेका छन् । सशस्त्र प्रहरीले औरही गाउँपालिका–२ का ४३ वर्षीय मिश्रीलाल सदाय, ३१ वर्षीय मनिकलाल सदाय र धनगढीमाई नगरपालिका–५ का ३३ वर्षीय श्यामसुन्दर यादवलाई पक्राउ गरेको हो ।
सशस्त्र प्रहरीका अनुसार उनीहरूले टाउकोमा बोकेर भारततर्फ लैजाँदै गरेको अवस्थामा ६ वटा बोरामा राखिएको गाँजा बरामद गरिएको हो । उनीहरूको साथबाट तीन थान मोबाइलसमेत बरामद भएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेडक्वार्टर सिरहाका प्रमुख सशस्त्र प्रहरी उपरीक्षक सुमनजंग थापाले जानकारी दिए ।
प्रहरीका अनुसार पक्राउ परेकाहरूले उदयपुर, सिन्धुलीलगायत जिल्लाका विभिन्न स्थानबाट गाँजा ल्याएर सिरहाका नदी तथा सीमावर्ती क्षेत्र हुँदै भारततर्फ लैजाने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । बलान, कमला, गागन र घुर्मीलगायत नदी क्षेत्रलाई तस्करीका लागि प्रयोग गर्ने गरेको प्रहरीको भनाइ छ ।
यसअघि पनि सशस्त्र प्रहरीले सुखीपुर नगरपालिका–१० स्थित विश्वकर्मा चोकको गागन खोलाको पुलबाट गाँजा बोकेको बोलेरो र मोटरसाइकल नियन्त्रणमा लिएको थियो । सो क्रममा ठूलो परिमाणमा गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ ।
पछिल्लो समय सिरहाका नदी तथा सीमावर्ती क्षेत्रबाट भारततर्फ हुने लागूऔषध तस्करी नियन्त्रणका लागि निगरानी बढाइएको सशस्त्र प्रहरी उपरीक्षक थापाले बताए । पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको र बरामद गाँजासहित उनीहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस् !