जनकपुरधाम (धनुषा), १७ असोज । मधेश प्रदेशमा चालु आर्थिक वर्ष २०८३/८४ को सुरुवाती दुई महिनामै विपद्का घटनाले ठूलो मानवीय तथा भौतिक क्षति पुर्याएको छ । साउन र भदौमा मात्रै प्रदेशका आठ जिल्लामा ४५९ वटा विपद्का घटना हुँदा ९२ जनाले ज्यान गुमाएका छन् भने ५१० परिवार प्रभावित भएका छन् । मधेश प्रदेश प्रहरी कार्यालय, जनकपुरधामका अनुसार विपद्मा परी मृत्यु हुनेमा ४७ पुरुष, १९ महिला र २६ बालबालिका छन् । आगलागी, बाढी, डुबान, चट्याङ, करेन्ट, पानीमा डुब्ने तथा जङ्गली जनावरको आक्रमणलगायतका घटनाले दुई महिनाको अवधिमा ठूलो क्षति निम्त्याएको हो ।
प्रहरीको तथ्यांकअनुसार करेन्ट लाग्नु मधेसमा मानवीय क्षतिको प्रमुख कारण बनेको छ । साउन र भदौमा करेन्ट लागेका १०७ घटनामा मात्रै ३९ जनाको मृत्यु भएको मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक प्रभुप्रसाद ढकालले जानकारी दिए । त्यसपछि पानीमा डुबेर मृत्यु हुनेको संख्या धेरै छ । दुई महिनामा पानीमा डुबेर २९ जनाले ज्यान गुमाएका छन् । जङ्गली जनावरको आक्रमणबाट पाँच, चट्याङबाट तीन र आगलागीबाट एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । अन्य विभिन्न विपद्का घटनामा थप १३ जनाको मृत्यु भएको छ ।
विपद्को चपेटामा बालबालिकासमेत ठूलो संख्यामा परेका छन् । विशेषगरी बाढी, डुबान, पोखरी तथा अन्य जलाशयमा डुब्ने घटनाका साथै करेन्ट र अन्य जोखिमपूर्ण घटनामा बालबालिकाको मृत्यु हुने गरेको प्रहरीले जनाएको छ । वर्षायामसँगै मधेसमा बाढी र डुबानको जोखिम बढ्ने गरेको छ । नदी तथा खोलामा पानीको बहाव बढ्नुका साथै ग्रामीण क्षेत्रमा रहेका पोखरी, खाल्डाखुल्डी र अन्य जलाशय जोखिमको कारण बन्ने गरेका छन् । यस्ता स्थानमा डुबेर जनधनको क्षति हुने क्रमसमेत दोहोरिने गरेको प्रहरीको भनाइ छ ।
आगलागी र करेन्टका घटना उच्च
प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार दुई महिनामा मात्रै आगलागीका ११२ र करेन्ट लागेका १०७ घटना भएका छन् । त्यस्तै पानीमा डुबेका ३७, जङ्गली जनावरको आक्रमणका ३२, बाढीका १२ तथा चट्याङका १० घटना दर्ता भएका छन् । आगलागी र करेन्टसँग सम्बन्धित घटनाको संख्या उल्लेख्य रहेकाले जोखिम न्यूनीकरणका लागि पूर्वसावधानी र जनचेतना आवश्यक रहेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए ।
विपद्का ४५९ घटनाबाट प्रदेशमा रु दुई करोड ९२ लाख ४७ हजार ५५५ बराबरको भौतिक क्षति भएको प्रहरीको तथ्यांक छ । यसमध्ये आगलागीले मात्रै ठूलो हिस्सा ओगटेको छ । प्रहरीका अनुसार दुई महिनामा आगलागीका कारण २१२ परिवारका घर जलेका छन् । आगलागीबाट मात्रै रु दुई करोड ७० लाख १३ हजार ३५० बराबरको क्षति भएको छ ।
त्यसैगरी बाढी तथा पहिरोबाट रु ११ लाख ९० हजार, चट्याङबाट रु तीन लाख, जङ्गली जनावरको आक्रमणबाट रु दुई लाख ७२ हजार तथा अन्य विपद्का घटनाबाट रु चार लाख ६३ हजार बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।
५१० परिवार प्रभावित, २,८६९ प्रहरी परिचालन
विपद्का घटनाबाट प्रभावित ५१० परिवारमध्ये कतिपय विस्थापित भएका छन् भने कतिपयको घर तथा सम्पत्तिमा क्षति पुगेको छ । बाढी तथा डुबानका कारण ग्रामीण बस्ती, सडक र अन्य भौतिक संरचनासमेत प्रभावित हुने गरेका छन् ।
नदी तथा खोलाको पानी बस्तीमा पस्दा स्थानीयलाई सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था आउने गरेको वरिष्ठ प्रहरी उपरीक्षक ढकालले बताए । प्रभावित नागरिकको उद्धार, सुरक्षित स्थानमा स्थानान्तरण तथा राहत व्यवस्थापनका लागि स्थानीय प्रशासन, स्थानीय तह र सुरक्षा निकायबीच समन्वय हुँदै आएको उनले जानकारी दिए ।
विपद् व्यवस्थापन तथा उद्धारका क्रममा दुई महिनामा २ हजार ८६९ जना प्रहरी परिचालन गरिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ । प्रहरी टोलीले खोज तथा उद्धार, प्रभावितको स्थानान्तरण, राहत व्यवस्थापन तथा जोखिमपूर्ण क्षेत्रमा तत्काल परिचालन भएर काम गर्दै आएको छ । मधेश प्रदेशका आठवटै जिल्लामा विपद्को सम्भावित जोखिमलाई ध्यानमा राख्दै सुरक्षा निकायलाई तयारी अवस्थामा राखिएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।












प्रतिक्रिया दिनुहोस् !