● राजन कुमार बानिया
वीरगंज (पर्सा), १४ असोज । वैदेशिक रोजगारीका लागि पाँच वर्ष कतारमा पसिना बगाएका पर्साको धोबीनी गाउँपालिका–४ लंगडीका ४० वर्षीय मुस्लिम मियाँ अहिले आफ्नै गाउँमा व्यवसाय गरेर आत्मनिर्भर बन्ने बाटोमा छन् । विदेशमा लामो समय परिवारबाट टाढिएर काम गरेका मियाँले फर्किएपछि स्वदेशमै लगानी गरेर सेलर मिल सञ्चालन गरिरहेका छन् ।
सन् २००८ देखि २०१३ सम्म कतारमा रहेका उनले मेनपावर कम्पनीमार्फत पेन्ट पसलमा काम गरेका थिए । त्यहाँ मासिक करिब ३६ हजार रुपैयाँ तलब पाउने मियाँले दैनिक झन्डै १२ घण्टा काम गर्नुपर्थ्यो । वैदेशिक रोजगारीमा जान उनले करिब ६० हजार रुपैयाँ खर्च गरेका थिए । लामो समयसम्म परिवारबाट टाढिएर काम गर्नुपर्ने र कडा श्रम गर्नुपर्ने परिस्थितिले उनलाई विदेशमै भविष्य खोजिरहनुभन्दा आफ्नै गाउँ फर्किएर केही गर्ने सोचतर्फ डोर्यायो ।
कतारबाट फर्किएपछि उनले २०७५ सालदेखि लंगडीमै सेलर मिल सञ्चालन गर्दै आएका छन् । करिब २० लाख रुपैयाँ लगानीमा सुरु गरिएको उक्त व्यवसायबाट अहिले मासिक करिब ५० हजार रुपैयाँ आम्दानी हुने गरेको मियाँले बताए । वैदेशिक रोजगारीबाट कमाएको रकममा बैंकबाट केही ऋण थपेर उनले जग्गा खरिद गरी घर निर्माण गरेका थिए । त्यसपछि बाँकी स्रोतलाई आफ्नै गाउँमा व्यवसाय सञ्चालनमा लगानी गरेका हुन् ।
उनको सेलर मिलमा धान, गहुँ, मकै, तेलहन र दालहनलगायत कृषि उत्पादनसँग सम्बन्धित सामग्रीको कारोबारसमेत हुने गरेको छ । व्यवसायलाई सुरक्षित राख्न पसलमा सीसीटीभी क्यामेराको व्यवस्था गरिएको छ । मियाँ विवाहित हुन् । उनका एक छोरा र दुई छोरी छन् । आमाबुबा, भाइ तथा परिवारका अन्य सदस्यसहित करिब १७ जनाको संयुक्त परिवारमा बस्दै आएका उनी अहिले परिवारकै बीचमा रहेर व्यवसाय सञ्चालन गरिरहेका छन् ।
विदेशमा बिताएको समय सम्झिँदै मियाँले परदेशमा राम्रो आम्दानी भए पनि परिवारबाट टाढिनुपर्ने बाध्यता रहेको बताए । अहिले आफ्नै गाउँमा बसेर व्यवसाय सञ्चालन गर्न पाउँदा आफूलाई बढी सन्तुष्टि मिलेको उनको भनाइ छ । ‘विदेशमा १२ घण्टा काम गर्नुभन्दा आफ्नै घरमा बसेर ८ घण्टा मेहनत गरी आफ्नै व्यवसाय सञ्चालन गर्नु राम्रो रहेछ,’ मियाँले भने ।
उनका अनुसार विदेशमा कमाएको पूँजीसँगै त्यहाँबाट प्राप्त सीप र अनुभवलाई स्वदेशमै प्रयोग गर्न सके आफ्नै ठाउँमा आयआर्जनको अवसर सिर्जना गर्न सकिन्छ । ‘विदेशमा पाँच वर्ष बसेर फर्किएँ। अहिले आफ्नै देशमा आफ्नै व्यवसाय गरेर काम गर्दा बढी सन्तुष्टि मिलेको छ,’ उनले भने ।
वैदेशिक रोजगारीबाट फर्किएर गाउँमै व्यवसाय सुरु गरेका मियाँको अनुभवले विदेशबाट फर्किएका युवाका लागि स्वदेशमै उद्यम गर्ने सम्भावना देखाएको छ । विदेशमा श्रम र समय खर्च गरेर आर्जन गरेको सीप, अनुभव र पूँजीलाई आफ्नै ठाउँमा लगानी गर्न सके रोजगारीको खोजीमा पुनः विदेशिनुपर्ने बाध्यता कम गर्न सकिने उनको यात्राले देखाएको छ ।










प्रतिक्रिया दिनुहोस् !