भंगहा (महोत्तरी), १२ असोज । महोत्तरीको भंगहा नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत लामो समयदेखि कार्यालयमा हाजिर नभएको भन्दै नगरप्रमुख सञ्जीवकुमार साहले नगरपालिका कार्यालयसहित ९ वटै वडा कार्यालयमा तालाबन्दी गरेका छन् । प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था नभए तीन दिनभित्र अत्यावश्यक सेवाबाहेक नगरपालिकाका सम्पूर्ण कामकाज बन्द गर्ने चेतावनी दिएका नगरप्रमुख साहले आफ्नो अल्टिमेटम सकिएपछि सोमबार आफैं नगरपालिका र वडा कार्यालयमा तालाबन्दी गरेका हुन् ।
तालाबन्दी गरेपछि नगरपालिकाका सबै कार्यालयका चाबी उनले महोत्तरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवलाई बुझाएका छन् । नगरप्रमुख साहले तत्काल प्रमुख प्रशासकीय अधिकृतलाई कार्यालयमा हाजिर गराएर प्रशासनिक, वित्तीय तथा नियमित सेवा प्रवाह सुचारु गर्न माग गरेका छन् ।
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयअन्तर्गत स्थानीय तह कर्मचारी प्रशासन शाखाले गत भदौ १ गते खिमराज भुसाललाई भंगहा नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतका रूपमा खटाएको थियो । तर, मन्त्रालयबाट खटाउने पत्र आएको लामो समय बितिसक्दा पनि भुसाल नगरपालिकामा हाजिर नभएको नगरप्रमुख साहको भनाइ छ ।
प्रमुख प्रशासकीय अधिकृतको व्यवस्था गर्न आफूले पटक-पटक मन्त्रालय पुगेर पहल गरे पनि समस्या समाधान नभएको साहले बताएका छन् । मन्त्रीसँग प्रत्यक्ष भेटेर समस्या राख्ने प्रयास गरे पनि भेट हुन नसकेको र स्वकीय सचिवमार्फत समस्या जानकारी गराउँदा समेत समाधानका लागि ठोस पहल नभएको उनको गुनासो छ ।
प्रमुख प्रशासकीय अधिकृत नहुँदा कार्यपालिकाका निर्णय कार्यान्वयनदेखि नगरपालिकाका नियमित प्रशासनिक तथा वित्तीय काम प्रभावित भइरहेको नगरप्रमुख साहले बताएका छन् । कर्मचारीको तलबभत्ता, विकास योजना तथा दैनिक सेवा प्रवाहमा समेत समस्या देखिएको उनको भनाइ छ । लामो समयदेखि प्रमुख प्रशासकीय अधिकृतविहीन हुँदा नगरपालिकाको कामकाज प्रभावित भइरहेकाले तत्काल समस्या समाधान गर्नुपर्ने उनले बताएका छन् । माग सम्बोधन नभए थप कडा कदम चाल्न बाध्य हुने चेतावनीसमेत नगरप्रमुख साहले दिएका छन् ।










प्रतिक्रिया दिनुहोस् !