वीरगंज (पर्सा), १२ असोज । वीरगंज महानगरपालिकाले त्रिभुवन राजपथअन्तर्गत विस्तार भइरहेको मुख्य सडकसँगै विद्युत् वितरण प्रणालीसमेत भूमिगत गर्न आवश्यक बजेट तत्काल व्यवस्था गर्न ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयसँग आग्रह गरेको छ ।
महानगर प्रमुख राजेशमान सिंहले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीलाई पत्र पठाउँदै सडक विस्तारपछि विद्युत्का तार पुनः ओभरहेड प्रणालीमै राखिए भविष्यमा सडक मर्मत, थप विस्तार, यातायात व्यवस्थापन र शहरी सौन्दर्यीकरणमा दीर्घकालीन समस्या सिर्जना हुने भन्दै अहिले नै भूमिगत प्रणाली निर्माण गर्न माग गरेका हुन् ।
महानगरले सडक विस्तारको काम सुरु भएदेखि नै नयाँ सडकखण्डसँगै विद्युत्का तार भूमिगत गर्नुपर्ने धारणा राख्दै आएको थियो । तर डिभिजन सडक कार्यालय, हेटौँडाले नयाँ सडक डिजाइनअनुसार विद्युत् तारलाई हालकै ओभरहेड प्रणालीबाटै व्यवस्थापन गर्ने तयारी गरेको जानकारी दिएपछि महानगरले भूमिगत विद्युत् प्रणालीका लागि पुनः मन्त्रालयस्तरमा पहल अघि बढाएको हो ।
सडक विस्तारसँगै तार भूमिगत गर्ने महानगरको माग
त्रिभुवन राजपथअन्तर्गत गण्डक–घण्टाघर–भन्सार सडकखण्डको दायाँ–बायाँ २५/२५ मिटर विस्तारको काम अन्तिम चरणमा पुगेको छ । यही अवसरमा सडकसँगै विद्युत् वितरण प्रणाली पनि भूमिगत गर्नुपर्ने महानगरको जोड छ ।
महानगरको तर्क छ अहिले सडक विस्तार गरेर फेरि विद्युत्का पोल र तार सडककै छेउमा राखिए भविष्यमा त्यसलाई हटाउन वा पुनः व्यवस्थापन गर्न थप खर्च र समय लाग्नेछ । त्यसैले सडक निर्माणसँगै विद्युत् प्रणालीलाई पनि दीर्घकालीन योजनाअनुसार भूमिगत गर्नु उपयुक्त हुन्छ ।
वीरगंज देशकै प्रमुख औद्योगिक, व्यापारिक तथा सीमावर्ती शहर भएकाले मुख्य सडकलाई आधुनिक, सुरक्षित र व्यवस्थित बनाउने योजनासँग भूमिगत विद्युत् प्रणालीलाई जोड्नुपर्ने महानगरको भनाइ छ ।
पोल हटेपछि सडकको स्वरूप नै बदलिने अपेक्षा
विद्युत्का तार भूमिगत गरिए मुख्य सडकमा रहेका विद्युत् पोल हटाउन सकिनेछ । यसबाट सडकको दृश्य सौन्दर्यमा सुधार आउनुका साथै विद्युत् वितरण प्रणाली थप सुरक्षित र व्यवस्थित हुने महानगरको अपेक्षा छ ।
विशेषगरी सीमावर्ती व्यापारिक शहरका रूपमा तीव्र आवागमन हुने वीरगंजको मुख्य सडकमा पोल र तारको जालो हटाउँदा सडक व्यवस्थापन, यातायात सञ्चालन र शहरी सौन्दर्यीकरणमा समेत सकारात्मक प्रभाव पर्ने महानगरको दाबी छ ।
‘अहिले नगरे फेरि महँगो पर्छ’
महानगर प्रमुख सिंहले सडक विस्तारको काम सकिएपछि भूमिगत विद्युत् प्रणाली निर्माण गर्न खोज्दा पुनः सडक खन्नुपर्ने अवस्था आउन सक्ने भन्दै सडक निर्माणकै क्रममा आवश्यक पूर्वाधार तयार गर्नुपर्नेमा जोड दिएका छन् ।
यसका लागि ऊर्जा मन्त्रालय, नेपाल विद्युत् प्राधिकरण, सडक विभाग तथा सम्बन्धित निकायबीच आवश्यक समन्वय गरेर काम अघि बढाउन उनले आग्रह गरेका छन् । महानगरले भूमिगत विद्युत् प्रणालीका लागि आवश्यक बजेट तत्काल सुनिश्चित गर्न र सम्बन्धित निकायलाई आवश्यक निर्देशन दिनसमेत मन्त्रालयसँग माग गरेको छ ।
सडक विस्तारसँगै पोल र तार हटाएर भूमिगत विद्युत् प्रणाली निर्माण गर्ने महानगरको प्रस्ताव कार्यान्वयन भए वीरगंजको मुख्य सडकको पूर्वाधार र स्वरूप दुवैमा दीर्घकालीन परिवर्तन आउने अपेक्षा गरिएको छ ।










प्रतिक्रिया दिनुहोस् !