मलङ्गवा (सर्लाही), १२ असोज । नेत्ररोगसम्बन्धी मेडिकल उपकरण तथा सामग्री आपूर्ति गर्दै आएको वैष्णो मेडिसेल्स प्रा.लि.का सञ्चालक रवि कुमार अग्रवालको नेपाली नागरिकताको वैधानिकतामाथि प्रश्न उठाउँदै जिल्ला प्रशासन कार्यालय, सर्लाहीमा उजुरी परेपछि प्रशासनले उनको नागरिकता फाइल झिकाएर छानबिन प्रक्रिया अघि बढाएको छ । नागरिकताको विषयसँगै अग्रवालसँग जोडिएको मेडिकल उपकरण आपूर्तिको कारोबार र विभिन्न आँखा अस्पतालमा भएका खरिद प्रक्रियासमेत सार्वजनिक चासोको विषय बनेको छ ।
अग्रवालले सर्लाहीको मलंगवाबाट नेपाली नागरिकता लिँदा पेस गरेका कागजात र नागरिकता जारी गर्ने क्रममा अपनाइएको प्रक्रियाको वैधानिकता परीक्षण गर्न माग गर्दै उजुरी परेको हो । उजुरीमा उनको पारिवारिक विवरण, जन्म तथा नाता प्रमाणित, स्थानीय तहको सिफारिस, सनाखतलगायत नागरिकता प्राप्तिका लागि पेस गरिएका सम्पूर्ण कागजातको प्रमाणित प्रतिलिपि झिकाएर परीक्षण गर्न माग गरिएको छ । उजुरीमा अग्रवालका बुवा, आमा तथा दाजुभाइसमेत भारतीय नागरिक रहेको दाबी गरिएको छ । अग्रवालले नेपाली नागरिकता प्राप्त गर्दा कुन कानुनी आधार र कागजात प्रस्तुत गरेको विषय छानविनको घेरामा परेको हो । उनको नागरिकता जारी गर्ने प्रक्रियासमेत छानबिन गर्न माग गरिएको छ ।
जिल्ला प्रशासन कार्यालय सर्लाहीले भने उजुरीका आधारमा सम्बन्धित अभिलेख मगाएर प्रक्रिया अघि बढाएको जनाएको छ । सर्लाहीका सहायक प्रमुख जिल्ला अधिकारी होमप्रसाद घिमिरेका अनुसार अग्रवालको नागरिकतासम्बन्धी उजुरी परेको र आवश्यक अभिलेख झिकाएर छानबिन भइरहेको छ । उनले भने, ‘उनको नागरिकतासम्बन्धी विषयमा उजुरी परेको छ । हामीले अभिलेख मगाएर छानबिन गरिरहेका छौँ । छानबिनपछि मात्र के भएको हो भन्ने थाहा हुन्छ ।’ 
अग्रवालको नागरिकता विवादको विषयसँगै उनको व्यावसायिक गतिविधि पनि चर्चामा आएको छ । काठमाडौंको त्रिपुरेश्वरमा दर्ता रहेको वैष्णो मेडिसेल्स प्रा.लि. नेत्ररोगसम्बन्धी मेडिकल उपकरण, मेसिन तथा अन्य सामग्रीको बिक्री–वितरण र बिक्रीपछिको सेवामा संलग्न रहेको विवरण सार्वजनिक अभिलेखमा देखिन्छ । कम्पनीले फाको तथा भिट्रियोरेटिनल मेसिन, अपरेटिङ माइक्रोस्कोप, लेजर, स्लिट ल्याम्पलगायत नेत्र शल्यक्रिया तथा उपचारमा प्रयोग हुने उपकरण आपूर्ति गर्दै आएको उल्लेख छ । केही अन्तर्राष्ट्रिय मेडिकल उपकरण ब्रान्डले नेपालका लागि वैष्णो मेडिसेल्सलाई आधिकारिक विक्रेताका रूपमा उल्लेख गरेको अभिलेखसमेत भेटिन्छ ।
कम्पनीको कारोबारसँग सम्बन्धित यही विवरणका कारण विभिन्न आँखा अस्पताल तथा स्वास्थ्य संस्थामा उसले गरेको भनिएको आपूर्तिको खरिद प्रक्रिया पनि परीक्षणको विषय बन्न सक्ने देखिएको छ । विशेषगरी तिलगंगा आँखा अस्पताल, मेची आँखा अस्पताल र बारा जिल्लाको परवानीपुर स्थित आर.एम. केडिया आँखा अस्पताललगायत संस्थासँग जोडिएका खरिद तथा आपूर्तिका कागजात सार्वजनिक चासोमा परेका छन् ।
यस्ता खरिदमा बोलपत्र कसरी आह्वान गरियो, कति कम्पनीले प्रतिस्पर्धा गरे, प्राविधिक मूल्यांकनका आधार के थिए, मूल्य तुलना कसरी गरियो, छनोटको आधार के बनाइयो तथा सम्झौता र भुक्तानी प्रक्रिया कसरी अघि बढ्यो भन्ने विषय सम्बन्धित कागजातबाट मात्र स्पष्ट हुन सक्छ । त्यस्तै, एउटै कम्पनीले विभिन्न स्वास्थ्य संस्थामा पटक–पटक आपूर्ति गरेको भए त्यसको कारण, प्रतिस्पर्धाको अवस्था र खरिद प्रक्रियाको पारदर्शितासमेत सम्बन्धित फाइल परीक्षणबाट स्पष्ट गर्न सकिने विषय हुन् ।
तिलगंगा आँखा प्रतिष्ठानबाट शल्यक्रियामा प्रयोग हुने उपकरण हराएको सम्बन्धी छुट्टै प्रकरणमा समेत नेपालमा उक्त उपकरणको आधिकारिक विक्रेता वैष्णो मेडिसेल्स रहेको उल्लेख भएको सार्वजनिक अनुसन्धान विवरणमा देखिन्छ । यद्यपि, कुनै उपकरणको आधिकारिक विक्रेता हुनु वा कुनै अस्पतालमा सामग्री आपूर्ति गर्नु मात्रका आधारमा कम्पनी वा सम्बन्धित व्यक्तिले अनियमितता गरेको निष्कर्ष निकाल्न सकिँदैन । त्यसका लागि सम्बन्धित खरिदका मूल कागजात, बोलपत्र, प्रतिस्पर्धा, प्राविधिक तथा आर्थिक मूल्यांकन, सम्झौता र भुक्तानी अभिलेख आवश्यक हुन्छ ।
त्यसैले अहिले यस प्रकरणमा दुई छुट्टाछुट्टै पक्ष महत्वपूर्ण देखिएका छन् । पहिलो, अग्रवालले नेपाली नागरिकता प्राप्त गर्दा पेस गरेका कागजात र त्यसका आधारमा नागरिकता जारी गरिएको प्रशासनिक प्रक्रिया र दोस्रो, वैष्णो मेडिसेल्सले विभिन्न स्वास्थ्य संस्थामा मेडिकल उपकरण आपूर्ति गर्दा अपनाइएको खरिद तथा व्यावसायिक प्रक्रिया ।
नागरिकताको विषयमा सर्लाही प्रशासनले अभिलेख झिकाएर छानबिन थालेको अवस्थामा अब अग्रवालले नागरिकता प्राप्त गर्दा कुन कागजात पेस गरेका थिए, ती कागजात कहाँबाट प्रमाणित भएका थिए, सम्बन्धित स्थानीय तहले के सिफारिस गरेको थियो, सनाखत कसले गरेको थियो र प्रशासनले कुन कानुनी आधारमा नागरिकता जारी गरेको थियो भन्ने विषय छानबिनबाट स्पष्ट हुनेछ ।
त्यसैगरी, वैष्णो मेडिसेल्सको आपूर्तिसँग सम्बन्धित खरिद फाइल परीक्षण भएमा कम्पनीले विभिन्न आँखा अस्पतालबाट प्राप्त गरेका ठेक्का तथा आपूर्तिको प्रक्रिया प्रतिस्पर्धात्मक र नियमानुसार थियो वा थिएन भन्ने तथ्यसमेत कागजातका आधारमा छुट्टै स्पष्ट गर्न सकिनेछ । यस विषयमा वैष्णो मेडिसेल्स प्रालिका सञ्चालक रवि कुमार अग्रवालको प्रतिक्रिया प्राप्त हुन सकेको छैन । उनको प्रतिक्रिया प्राप्त भए समाचारमा समावेश गरिनेछ ।










प्रतिक्रिया दिनुहोस् !