कंकालिनी (सप्तरी), ११ असोज । सप्तकोशी नदीमा आएको बाढीका कारण सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका कोशी तटीय बस्ती प्रभावित भएका छन् । बाढी बस्तीमा पस्दा करिब पाँच सय घरपरिवार प्रभावित भएको नगरपालिकाले जनाएको छ । नगरपालिकाका अनुसार वडा नम्बर ५, ७, १२ र १३ का विभिन्न बस्तीमा बाढीको पानी पसेको छ। कोशी नदीको बीच भागमा रहेको वडा नम्बर १३ को गोबरगाढा बस्ती भने पूर्ण रूपमा डुबानमा परेको छ ।
घर, आँगन तथा बस्तीमा पानी पसेपछि प्रभावित परिवारलाई सुरक्षित तथा अग्लो स्थानमा सारिएको छ । उनीहरूका लागि पाल टाँगेर बस्ने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । बाढी प्रभावितका लागि नगरपालिकाले शनिबारदेखि निःशुल्क भोजनको व्यवस्था समेत गरेको छ । शनिबार मात्रै करिब एक हजार जनाले उक्त मेसबाट खाना खाएको नगरपालिकाले जनाएको छ । बाढीका कारण वडा नम्बर ७ र १२ मा दुई–दुई गरी चार परिवारका घर भत्किएका छन् । घर भत्किएपछि ती परिवारलाई सुरक्षित स्थानमा सारिएको छ ।
यस्तै, सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका–५ मा पनि सप्तकोशी नदीको बाढी पसेको छ। त्यहाँ करिब १५ घरपरिवार प्रभावित भएका छन ्। बाढी प्रभावित परिवारहरू छिमेकीको घरमा आश्रय लिएर बसेका छन् । जिल्ला विपद् व्यवस्थापन समितिका अनुसार सप्तकोशी नदीको बहाव भने क्रमशः घट्दै गएको छ । समाचार तयार पार्दासम्म कोशी नदीमा २ लाख १७ हजार ४५ क्युसेकभन्दा बढी पानीको बहाव मापन गरिएको छ । कोशी ब्यारेजका २६ वटा ढोका खुला राखिएको जनाइएको छ । 









प्रतिक्रिया दिनुहोस् !