वीरगंज (पर्सा), ११ असोज । पर्साको धोबिनी गाउँपालिका–५ धोबिनीमा घरमा चोरी गर्ने क्रममा ६२ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले तीन युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा स्थानीय १८ वर्षीय चन्दन कुमार पटेल, १८ वर्षीय राज कपुर बैठा र १८ वर्षीय रामु पासवान रहेका छन् । प्रहरीका अनुसार गत आइतबार राति श्रीनिवास साह तुराहाको घरमा चोरी गर्न पुगेका तीनै जनाले उनकी पत्नी लखरजिया देवीको हत्या गरी नगद तथा गरगहना लिएर फरार भएका थिए ।
घटनाको प्रारम्भिक अनुसन्धानअनुसार, असोज ४ गते आइतबार राति करिब ११ बजे पटेल, बैठा र पासवान बैठाको घरमा भेला भएर गाँजा सेवन गरेका थिए । त्यसपछि उनीहरूले लखरजिया देवीको घरमा चोरी गर्ने योजना बनाएको प्रहरीको भनाइ छ । योजना अनुसार तीनै जना घरको पछाडिको पर्खाल चढेर दुई तल्ले पक्की घरको माथिल्लो तलामा पुगेका थिए । झ्यालबाट भित्र प्रवेश गरेपछि उनीहरूले स्टिलको दराज तोडेर त्यसमा राखिएको नगद तथा गरगहना निकालेका थिए । त्यसपछि अर्को कोठामा रहेको टिनको बाक्साको ताल्चा फुटाउने क्रममा आवाज सुनेर लखरजिया देवी ब्युँझिएकी थिइन् ।
तोडफोड भइरहेको थाहा पाएपछि माथिल्लो तलामा पुगेकी लखरजिया देवीलाई देखेपछि तीनै जनाले फलामको धारिलो वस्तुले प्रहार गरेको र उनको मृत्यु भएपछि नगद तथा गरगहना लिएर फरार भएको प्रहरी अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । सोमबार बिहान लखरजिया देवी आफ्नै कोठामा मृत अवस्थामा भेटिएकी थिइन् । उनको कोठामा रहेको दराज र बाक्सा फुटाइएको अवस्थामा भेटिएको थियो भने नगद तथा गरगहना चोरी भएको थियो ।
घटनापछि अनुसन्धानलाई तीव्र बनाएको प्रहरीले पटेललाई शुक्रबार वीरगंजबाट तथा बैठा र पासवानलाई शनिबार धोबिनी गाउँबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए । प्रहरीले पक्राउ परेका उनीहरूको साथबाट चोरी भएको रकम, सुनका गरगहना, गाडीको स्प्रिङ पत्ता एक थान, पिलास एक थान र चक्कु एक थान बरामद गरेको जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको छ । उनीहरूविरुद्ध कर्तव्य ज्यानसम्बन्धी कसुरमा पर्सा जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ । 









प्रतिक्रिया दिनुहोस् !