वीरगंज (पर्सा), १० असोज । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा परी लामो समयदेखि बेपत्ता रहेका मधेशका दुई जनाको वास्तविक शव फेला नपरेपछि परिवारले कुशको प्रतीकात्मक शव बनाएर धार्मिक विधिअनुसार अन्तिम संस्कार गरेका छन् ।बाढीमा बेपत्ता भएका बाराको सुवर्ण गाउँपालिका–१ सोलकपुर कुम्हटोलीका नेपाली सेनाका जवान सुरजकुमार साह र महोत्तरीको मटिहानी नगरपालिका–७ का गंगाराम मण्डलको परिवारले शनिबार आ–आफ्नो परम्पराअनुसार अन्तिम संस्कार गरेका हुन् । दुवै परिवारले लामो समयसम्म खोजी तथा अवस्थाबारे जानकारी पाउने प्रतीक्षा गरे पनि कुनै ठोस खबर नआएपछि प्रतीकात्मक रूपमा अन्तिम संस्कार गर्ने निर्णय गरेका थिए ।
सैनिक जवान साहको सैनिक सम्मानसहित अन्तिम संस्कार
सुवर्ण गाउँपालिका–१ स्थित तीयर नदी किनारमा नेपाली सेनाका जवान साहको कुशको शव बनाएर अन्तिम संस्कार गरिएको हो । अन्तिम संस्कारअघि नेपाली सेनाले उनलाई सैनिक सम्मानसहित सलामी अर्पण गरेको थियो । श्रीनाथ गणमा कार्यरत साह भदौ १० गते रसुवामा भोटेकोशी नदीमा बाढी आउँदा ड्युटीमै थिए । बाढीपछि उनी सम्पर्कविहीन भएका थिए । परिवार, आफन्त तथा सुरक्षा निकायले उनको खोजी निरन्तर गरे पनि एक महिनासम्म उनको अवस्था पत्ता लाग्न सकेन ।
वास्तविक शव फेला नपरेपछि परिवारले धार्मिक तथा सामाजिक मान्यताअनुसार कुशको प्रतीकात्मक शव तयार गरी अन्तिम संस्कार गरेको हो । लामो समयसम्म छोराको अवस्थाबारे पर्खाइमा रहेको परिवारका लागि शनिबारको संस्कार अत्यन्त भावुक र पीडादायी क्षण बनेको थियो । साहको अन्तिम संस्कारमा सुवर्ण गाउँपालिकाका अध्यक्ष राजेश यादव, नेपाली कांग्रेसका नेता सतेन्द्र यादव, जेन्जी अगुवा अजय यादव, नेपाली सेनाका प्रतिनिधि तथा स्थानीय बासिन्दाको सहभागिता रहेको थियो ।
३२ दिनपछि गंगारामको पनि प्रतीकात्मक अन्त्येष्टि
यस्तै, रसुवा बाढीमा बेपत्ता भएका महोत्तरीको मटिहानी नगरपालिका–७ का गंगाराम मण्डलको पनि ३२ दिनपछि कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गरिएको छ । उनको अन्तिम संस्कारमा १७ वर्षीय छोरा आदित्यराज मण्डलले मुखाग्नि दिएका थिए ।गंगारामले भदौ ९ गते परिवारसँग अन्तिमपटक कुराकानी गरेका थिए । त्यसपछि उनी सम्पर्कविहीन भएका हुन् । रसुवामा पर्यटकलाई मानसरोवर यात्रामा लैजाने रिचा ट्रेक नामक संस्थामा कुकका रूपमा कार्यरत गंगाराम बाढी आएपछि बेपत्ता भएका थिए ।
बाढी आएको दिनदेखि नै परिवारजनले उनको अवस्था पत्ता लगाउने प्रयास गर्दै आएका थिए । तर ३२ दिनसम्म पनि कुनै जानकारी प्राप्त नभएपछि परिवारले धार्मिक विधिअनुसार कुशको शव बनाएर अन्तिम संस्कार गरेको हो । गंगारामको परिवारमा वृद्ध बुवा–आमा, श्रीमती र चार सन्तान छन् । लामो समयसम्म आफन्त फर्किने आशामा बसेको परिवार अन्ततः वास्तविक शवसमेत नदेखी प्रतीकात्मक अन्त्येष्टि गर्न बाध्य भएको हो ।
अझै सम्पर्कविहीन छन् महोत्तरीका नौ जना
रसुवामा आएको बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा पहिचानको क्रम जारी रहे पनि महोत्तरीका केही परिवार अझै अनिश्चितताको अवस्थामै छन् । जिल्ला प्रशासन कार्यालय महोत्तरीका अनुसार रसुवा बाढीमा परी जिल्लाका ९ जना अझै सम्पर्कविहीन छन् भने ८ जना सम्पर्कमा आइसकेका छन् ।
वास्तविक शव फेला नपरेका अवस्थामा कुशको प्रतीकात्मक शव बनाएर अन्तिम संस्कार गर्नुपर्ने बाध्यताले रसुवा बाढीको त्रासदी कति गहिरो थियो भन्ने देखाएको छ । एकातिर बेपत्ताको खोजीको आशा र अर्कोतिर लामो प्रतीक्षापछि अन्तिम संस्कार गर्नुपर्ने बाध्यता—पीडित परिवारका लागि यो विपद्को सबैभन्दा कठोर पाटो बनेको छ । 









प्रतिक्रिया दिनुहोस् !