मौलापुर (रौतहट), १० असोज । रौतहटको लालबकैया नदीमा बेपत्ता भएका बाराका एक युवकको करिब २७ घण्टापछि शव फेला परेको छ । बाराको सिम्रौनगढ नगरपालिका–११ कटहरिया टोलका २७ वर्षीय सचिन्द्र यादवको शव शनिबार अपराह्न करिब ४ बजे नदी किनारमा फेला परेको हो । प्रहरीका अनुसार यादवको शव मौलापुर नगरपालिका–४ स्थित घटनास्थलबाट करिब १०–१२ किलोमिटर तल फतुवा क्षेत्रको लालबकैया नदी किनारमा फेला परेको हो ।
यादव शुक्रबार दिउँसो करिब १ बजे मौलापुर–४ स्थित लालबकैया नदीको पुलबाट नदीमा हाम फालेपछि बेपत्ता भएका थिए । उनी आफ्ना दाइ ३५ वर्षीय सिकिन्द्र यादवले चलाएको मोटरसाइकलमा कचोर्वाबाट गरुडा उपचारका लागि जाँदै थिए । मौलापुरस्थित पुलमा पुगेपछि सचिन्द्रले मोटरसाइकल रोक्न लगाएर ओर्लिएको र त्यसपछि नदीमा हाम फालेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी बसन्त गौतमले जानकारी दिए । प्रहरीका अनुसार सचिन्द्रको मानसिक स्वास्थ्यसम्बन्धी समस्या रहेको परिवारबाट जानकारी प्राप्त भएको थियो ।
घटनालगत्तै बेपत्ता युवकको खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरीको टोली परिचालन गरिएको थियो । इलाका प्रहरी कार्यालय मौलापुरका प्रमुख इन्स्पेक्टर भरत केसीको कमान्डमा प्रहरी टोली तथा सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प देवाही गोनाहीबाट इन्स्पेक्टर दिलबहादुर नेपालीको नेतृत्वमा गोताखोरसहितको टोली खोजीमा खटिएको थियो ।
लालबकैया नदीमा पानीको तीव्र बहाव र गहिराइका कारण खोजी कार्य चुनौतीपूर्ण बनेको थियो। कठिन परिस्थितिका बाबजुद सुरक्षाकर्मीले शुक्रबारदेखि नै नदी तथा आसपासका क्षेत्रमा निरन्तर खोजी गरिरहेका थिए । शनिबार अपराह्न खोजीका क्रममा फतुवा क्षेत्रस्थित नदी किनारमा यादवको शव फेला परेको प्रहरीले जनाएको छ ।
शव फेला परेपछि प्रहरीले आवश्यक कानुनी प्रक्रिया अघि बढाएको छ । इलाका प्रहरी कार्यालय मौलापुरका अनुसार शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल गौर पठाउने तयारी भइरहेको छ । 









प्रतिक्रिया दिनुहोस् !