वीरगंज (पर्सा), ८ असोज । पर्सामा असोज ९ गते शुक्रबारदेखि ११ गतेसम्म अति भारी वर्षा, मेघगर्जन, चट्याङ तथा हावाहुरीको सम्भावनालाई मध्यनजर गर्दै जिल्ला विपद् व्यवस्थापन समितिले उच्च सतर्कता अपनाउने निर्णय गरेको छ । समितिले नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीका उद्धार टोलीलाई आवश्यक सामग्रीसहित २४ घण्टा तयारी अवस्थामा राख्ने तथा जिल्ला आपत्कालीन कार्य सञ्चालन केन्द्र सञ्चालनमा ल्याउने निर्णय गरेको छ ।
यस्तै, जोखिमयुक्त नदीतटीय तथा डुबान सम्भावित क्षेत्रमा माइकिङ र जनचेतनामूलक सूचना प्रवाह गर्ने, जोखिममा रहेका नागरिकलाई सुरक्षित स्थानमा सार्ने तथा अस्पताल र एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ । भारी वर्षाका कारण सडक अवरुद्ध भए तत्काल बाटो खुलाउन जेसीबी तथा हेभी उपकरण तयारी अवस्थामा राखिने समितिले जनाएको छ ।
सर्वसाधारणलाई अत्यावश्यक कामबाहेक घरबाहिर ननिस्कन र सुरक्षित स्थानमा रहन आग्रह गरिएको छ ।







प्रतिक्रिया दिनुहोस् !