वीरगंज (पर्सा), ८ असोज । पर्साको प्रमुख व्यापारिक तथा औद्योगिक मार्गका रूपमा रहेको वीरगंज–पोखरिया सडकखण्ड लामो समयदेखि खाल्डाखुल्डीले जीर्ण बन्दै गए पनि यसको प्रभावकारी मर्मतसम्भार हुन सकेको छैन । सडकको अवस्था दिनप्रतिदिन बिग्रिँदै जाँदा दैनिक आवतजावत गर्ने हजारौँ यात्रु तथा मालवाहक सवारीसाधन जोखिम मोलेर यात्रा गर्न बाध्य छन् ।
वीरगंजको एकीकृत सुरक्षा जाँच चौकी (आइसिपी), सुक्खा बन्दरगाह, परवानीपुरलगायतका प्रमुख व्यापारिक तथा औद्योगिक क्षेत्र जोड्ने यस सडकका विभिन्न स्थानमा ठूला–ठूला खाल्डा परेका छन् । लामो समयसम्म मर्मत नहुँदा कतिपय ठाउँमा सडकको सतह नै असमान र जीर्ण बनेको स्थानीय तथा सवारी चालकहरू बताउँछन् ।
विशेषगरी ट्रक, ट्याङ्कर, लरीलगायत भारी तथा मालवाहक सवारीसाधनको निरन्तर चाप रहने भएकाले सडक थप बिग्रिँदै गएको चालकहरूको भनाइ छ । खाल्डाखुल्डी छल्दै सवारी चलाउनुपर्ने बाध्यताका कारण गति घटाउनुपरेको र त्यसले यात्राको समयसमेत बढाएको उनीहरू बताउँछन् । ‘एउटा खाल्डो छल्न खोज्दा अर्को खाल्डोमा पुग्ने अवस्था छ । सडक बिग्रिएपछि सवारी चलाउन जोखिम त हुन्छ नै, यात्रा समय पनि बढ्छ । गति कम गरेर चलाउँदा समय बढी लाग्छ, तीव्र गतिमा चलाउँदा दुर्घटनाको डर हुन्छ,’ सवारी चालक रवीन्द्र पटेलले भने ।
उनका अनुसार सडकको दुरवस्थाले चालकलाई मात्र होइन, सवारीसाधनलाई समेत प्रत्यक्ष क्षति पुर्याइरहेको छ । गहिरा खाल्डामा सवारी पर्दा टायर, सस्पेन्सन, स्टेरिङलगायतका पार्टपुर्जामा क्षति पुग्ने भएकाले सञ्चालन खर्च बढिरहेको चालकहरूको गुनासो छ । रातिको समयमा सडकका खाल्डाखुल्डी स्पष्ट देखिन नसक्दा दुर्घटनाको जोखिम झनै बढ्ने चालकहरू बताउँछन् ।
विशेषगरी भारी सवारीसाधनलाई असमान सडकमा नियन्त्रण गर्न कठिन हुने भएकाले सामान्य सावधानी अपनाउँदा पनि दुर्घटनाको जोखिम पूर्ण रूपमा टार्न नसकिने उनीहरूको भनाइ छ । स्थानीय नेता नेजामुद्दीन समानीले सडक प्रयोग गर्ने सवारीसाधनबाट विभिन्न शीर्षकमा कर तथा शुल्क उठाइए पनि सडकको नियमित मर्मतसम्भारमा पर्याप्त ध्यान नदिइएको गुनासो गरे । सडकलाई सुरक्षित र व्यवस्थित नबनाई केवल ट्राफिक व्यवस्थापनबाट दुर्घटनाको जोखिम घटाउन कठिन हुने उनको भनाइ छ ।
वीरगंजको सुक्खा बन्दरगाह, आइसिपी तथा विभिन्न औद्योगिक क्षेत्रलाई जोड्ने महत्वपूर्ण मार्ग भएकाले वीरगंज–पोखरिया सडक व्यापारिक तथा औद्योगिक ढुवानीका दृष्टिले समेत महत्वपूर्ण मानिन्छ । तर सडकको खराब अवस्थाले मालसामान ढुवानीमा ढिलाइ हुनुका साथै व्यवसायी तथा यातायात क्षेत्रको सञ्चालन लागतसमेत बढाइरहेको स्थानीयको गुनासो छ ।
स्थानीयवासी र सवारी चालकहरूले तत्काल सडकका खाल्डाखुल्डी पुर्न र अत्यधिक जीर्ण स्थानमा मर्मत गर्न माग गरेका छन् । उनीहरूले तत्कालीन रूपमा सडक मर्मतसँगै दीर्घकालीन समाधानका लागि सडक स्तरोन्नति गर्नुपर्ने बताएका छन् ।
त्यसैगरी सडकको नियमित अनुगमन, समयमै मर्मतसम्भार तथा सडकको क्षमताभन्दा बढी भार बोकेर सञ्चालन हुने सवारीसाधनको व्यवस्थापनमा समेत सम्बन्धित निकायले प्रभावकारी ध्यान दिनुपर्ने उनीहरूको माग छ । व्यापार र उद्योगको प्रमुख आवागमन मार्गका रूपमा प्रयोग हुँदै आएको सडक लामो समयसम्म बेवास्तामा पर्दा यसको असर यात्रुको सुरक्षादेखि व्यापारिक ढुवानीसम्म परेको भन्दै स्थानीयले अब तत्काल ठोस कदम चाल्न सम्बन्धित निकायसँग माग गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !