वीरगंज (पर्सा), ६ असोज । वीरगंज महानगरपालिका–२० अपौनीमा सार्वजनिक जग्गा अतिक्रमण गरी बनाइएका घर तथा टहरा हटाइएको छ । नगर प्रमुख राजेशमान सिंहको निर्देशनमा मंगलबार भौतिक अतिक्रमण नियन्त्रण समितिका संयोजक एवं वडा नं. ५ का अध्यक्ष प्रदीपकुमार चौरसियाको नेतृत्वमा नेपाल प्रहरी र नगर प्रहरीको संयुक्त टोलीले अतिक्रमण हटाएको हो ।
स्थानीय हृदयनारायण सिंह, लक्ष्मण पण्डित, रमेश सिंह, कृपानारायण सिंह, नन्दकिशोर पुरीलगायत दर्जनौँ व्यक्तिले अतिक्रमण गरी बनाएका संरचना हटाएर सार्वजनिक जग्गा खाली गराइएको महानगरपालिकाले जनाएको छ । अतिक्रमणका कारण विगत ६ वर्षदेखि रोकिएको करिब रु. ८४ करोडको विकास योजना अब अघि बढ्ने भएको छ ।
‘स्वच्छन्द निर्माण सेवा’ले ठेक्का सकार गरे पनि जग्गा खाली नभएका कारण काम सुरु हुन सकेको थिएन । लामो समयदेखि रोकिएको विकास योजना अघि बढ्ने भएपछि स्थानीयवासीले महानगरपालिकाको कदमको स्वागत गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !