वीरगंज (पर्सा), ६ असोज । वीरगंजमा विश्वविद्यालय स्थापना गर्ने अभियान चलेको दुई दशकभन्दा बढी भइसक्यो । विश्वविद्यालय बने वीरगंजको शैक्षिक पहिचान अझ बलियो हुने आशासहित तत्कालीन समयमा हरिखेतान बहुमुखी क्याम्पसका शिक्षक तथा कर्मचारीले आफ्नो एक दिनको तलबसमेत सहयोग गरेका थिए । तर, विश्वविद्यालय स्थापना हुन सकेन ।
अभियानका क्रममा संकलित रकम कहाँ र कसरी प्रयोग भयो भन्ने प्रश्नसमेत अहिले उठेको छ । यहीबीच विश्वविद्यालयका लागि संकलित रकम रहेको खाताबाट तत्कालीन हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले अनुसन्धान अघि बढाएपछि सहयोग गर्ने शिक्षक तथा कर्मचारी थप अन्योल र निराशामा परेका छन् ।
वीरगंजमै विश्वविद्यालय स्थापना हुने र त्यसको आधार हरिखेतान बहुमुखी क्याम्पस बन्ने प्रस्तावले त्यतिबेला क्याम्पसका शिक्षक तथा कर्मचारीमा उत्साह थपेको थियो । स्थानीयस्तरमै उच्च शिक्षाको बलियो संरचना बन्ने अपेक्षाले उनीहरूले आफ्नो तलबबाट समेत योगदान गरेका थिए । तर, वर्षौं बित्दा पनि विश्वविद्यालयको योजना अघि बढ्न नसक्नु र संकलित रकमको निकासीबारे अनुसन्धान सुरु हुनु उनीहरूका लागि थप निराशाको विषय बनेको छ । हाल हरिखेतान बहुमुखी क्याम्पसका प्रमुख रहेका किशोरी राय त्यसबेला क्याम्पसमै अध्यापनरत थिए । विश्वविद्यालयका लागि तलब योगदान गर्नेहरूमध्ये उनी पनि एक हुन् ।
रायका अनुसार वीरगंजमा विश्वविद्यालय स्थापना हुनु केवल एउटा शैक्षिक संस्था निर्माण हुनु मात्र नभई समग्र वीरगंजको प्रतिष्ठासँग जोडिएको विषय थियो । ‘वीरगंजमा विश्वविद्यालय बन्ने कुरा वीरगंजकै शानको विषय थियो । स्थानीय शिक्षाको विकासमा पनि यसले ठूलो योगदान गर्छ भन्ने लागेको थियो । त्यसैले हामीले उत्साहित भएर सहयोग गरेका थियौं,’ रायले भने, ‘तर यति लामो समय बितिसक्दा पनि विषय अलमलमा रहनु र अहिले रकमको विषयमा अनुसन्धानसम्म हुनुले हामी निराश भएका छौं ।’
दुई करोडभन्दा बढी रकम संकलन भएको दाबी
वीरगंज विश्वविद्यालय स्थापना अभियानमा पर्साका तत्कालीन ८२ गाविसमध्ये अधिकांशले आर्थिक सहयोग गरेका थिए । बारा र पर्साबाट निर्वाचित तत्कालीन संविधानसभा सदस्यहरूबाट समेत रकम प्राप्त भएको थियो । उद्योगी, व्यवसायी तथा विभिन्न सामाजिक संघसंस्थाले पनि अभियानमा योगदान गरेका थिए । अभियानका क्रममा दुई करोड रुपैयाँभन्दा बढी रकम संकलन भएको बताइन्छ ।
त्यसैक्रममा बारा–पर्साका उद्योगी तथा व्यवसायीको छाता संस्था वीरगंज उद्योग वाणिज्य संघले ५१ लाख रुपैयाँ सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो । तर, जग्गा खरिद भएपछि मात्र रकम उपलब्ध गराउने निर्णय भएका कारण संघले प्रतिबद्धता जनाएको रकम भने हस्तान्तरण नगरेको संघका पूर्वअध्यक्ष प्रदीप केडियाले बताए । त्यतिबेला संघका कोषाध्यक्ष रहेका केडियाका अनुसार विश्वविद्यालयका लागि आवश्यक जग्गा व्यवस्थापन हुन नसकेपछि संघबाट रकम उपलब्ध गराउने अवस्था आएन ।
‘जग्गा किनेपछि रकम दिने भन्ने निर्णय भएको थियो । जग्गा खरीद नै नभएपछि हाम्रो तर्फबाट रकम दिनुपर्ने अवस्था आएन,’ उनले भने । त्यसबेला वीरगंजको गण्डक क्षेत्रनजिक रहेको चिनी मिलको जग्गा विश्वविद्यालय सञ्चालनका लागि प्रयोग गर्ने सम्भावनाबारे समेत चर्चा चलेको थियो । तर, जग्गाको व्यवस्थापन हुन नसकेपछि विश्वविद्यालय स्थापनाको प्रक्रिया नै अगाडि बढ्न सकेन ।
विश्वविद्यालय बनेन, खाताको रकम निकासीमाथि अनुसन्धान
विश्वविद्यालय स्थापना अभियानका क्रममा संकलित रकम वीरगंजस्थित कुमारी बैंकको खातामा जम्मा गरिएको थियो । अहिले यही खाताबाट रकम निकासी भएको विषय प्रहरी अनुसन्धानको केन्द्रमा परेको छ । प्रहरीका अनुसार वीरगंज विश्वविद्यालयको नाममा कुमारी बैंकको वीरगंज शाखामा रहेको खाताबाट तत्कालीन हरिखेतान बहुमुखी क्याम्पस प्रमुख भगवानप्रसाद यादवले चेकमार्फत रकम निकालेको विषयमा अनुसन्धान भइरहेको छ ।
कीर्ते गरी रकम निकाली व्यक्तिगत रूपमा अपचलन गरेको आरोपसम्बन्धी विषयमा अनुसन्धान अघि बढाइएको प्रहरीको भनाइ छ । सीआईबीले अनुसन्धानसम्बन्धी फाइल जिल्ला प्रहरी कार्यालय पर्सामा पठाएको छ । पर्साका प्रहरी उपरीक्षक पवन भट्टराईले घटनाबारे अनुसन्धान भइरहेको बताए । ‘बैंकसँग आवश्यक विवरण मागेर बुझ्ने काम भइरहेको छ । अनुसन्धानका क्रममा प्राप्त तथ्यका आधारमा थप प्रक्रिया अघि बढ्छ,’ भट्टराईले भने ।
बैंकको विवरणले देखायो चेकमार्फत रकम निकासी
विश्वविद्यालयको खातासम्बन्धी विवरण जिल्ला प्रशासन कार्यालय पर्साले पनि मागेको थियो । प्रशासन कार्यालयले गत साउन १ गते कुमारी बैंकको वीरगंज शाखालाई पत्र पठाउँदै खाताको विवरण उपलब्ध गराउन भनेको थियो ।
बैंकले साउन ११ गते प्रशासनलाई पठाएको जवाफमा वीरगंज विश्वविद्यालयको नाममा रहेको ००३०००३८९१८००००१ नम्बरको चल्ती खाताबाट भगवानप्रसाद यादवले चेकमार्फत रकम झिकेको विवरण उपलब्ध गराएको छ । यस विषयमा यादवसँग प्रतिक्रिया लिन खोज्दा उनले विस्तृत रूपमा बोल्न चाहेनन् । ‘भेटेर कुरा गरौंला’ भन्दै उनले फोन काटेपछि पुनः सम्पर्कमा समेत आएनन् ।
दुई दशकअघि वीरगंजमा विश्वविद्यालय बनाउने सपना बोकेर शिक्षक, कर्मचारी, स्थानीय तह, जनप्रतिनिधि, उद्योगी–व्यवसायी तथा सामाजिक संस्थाले गरेको आर्थिक योगदान अहिले विश्वविद्यालय स्थापनाभन्दा फरक कारणले चर्चामा आएको छ । विश्वविद्यालयको सपना पूरा हुन नसकेको अवस्थामा संकलित रकमको निकासीसम्बन्धी अनुसन्धानले त्यसबेलाका सहयोगकर्ता र सरोकारवालामाझ रकमको पारदर्शिता तथा वास्तविक प्रयोगबारे थप प्रश्न खडा गरेको छ ।







प्रतिक्रिया दिनुहोस् !