वीरगंज (पर्सा), ६ असोज । स्वास्थ्य बीमामार्फत उपचार लिन वीरगंजस्थित नारायणी अस्पताल पुग्ने बिरामीका लागि उपचार पाउनुअघि नै अर्को परीक्षा सुरु हुन्छ ओपीडीको पुर्जा पाउने परीक्षा । बिहानैदेखि अस्पताल पुगेर घण्टौँ लाइनमा बसे पनि निर्धारित संख्या पूरा भएपछि पुर्जा काट्ने काउन्टर बन्द हुन्छ । त्यसपछि पालो कुर्दाकुर्दै रहेका बिरामी उपचार नपाई घर फर्किन बाध्य हुन्छन् ।
बाराको कलैया उपमहानगरपालिका–२१ का शिवपुजन चौरसियाले सोमबार यही समस्या भोगे । उनी दिदीको उपचारका लागि बिहान अस्पताल पुगेका थिए । बिहान साढे ९ बजे अस्पताल पुगेकी उनकी दिदी करिब ११ बजेसम्म स्वास्थ्य बीमाको ओपीडी पुर्जा लिन लाइनमा बसिन् । तर काउन्टरमा पुग्ने समय आउनुअघि नै जनरल मेडिकल ओपीडीको निर्धारित संख्या पूरा भयो । पुर्जा वितरण बन्द भएपछि उपचारको आशामा अस्पताल पुगेकी उनकी दिदी उपचार नै नगरी घर फर्किनुपर्यो ।
चौरसियाका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकल ओपीडीमा दैनिक ३२५ जनाको मात्र पुर्जा काट्ने व्यवस्था छ । उक्त संख्या पूरा भएपछि लाइनमा रहेका बिरामीको पालो आए पनि उनीहरूले उपचार पाउने अवस्था हुँदैन । ‘बिहानै आएर लाइनमा बस्नुपर्छ । घण्टौँ कुर्दाकुर्दै कोटा सकिन्छ । त्यसपछि उपचार नै नगरी फर्किनुपर्छ,’ उनले गुनासो गरे ।
बाराकै सुवर्ण गाउँपालिका–४ का सत्रुधन यादवको अनुभव पनि उस्तै छ । उनी बिहान सवा ९ बजे आमालाई लिएर नारायणी अस्पताल पुगेका थिए । करिब ११ बजेसम्म लाइनमा बसेपछि पुर्जा वितरण बन्द भयो । उनकी आमाले पनि उपचार सेवा पाउन सकिनन् ।
ज्येष्ठ नागरिक र टाढाबाट आउने बिरामी झन् मारमा
स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीमध्ये ज्येष्ठ नागरिक, अशक्त तथा टाढाका ग्रामीण क्षेत्रबाट आउनेहरूका लागि छुट्टै सहज व्यवस्था नहुँदा समस्या थप जटिल बनेको बिरामीहरूको गुनासो छ । अस्पतालमा एउटै लाममा ठूलो संख्यामा बिरामी बस्नुपर्ने र तोकिएको संख्या पुगेपछि लाइनमा बसेकाहरूले समेत सेवा नपाउने अवस्था रहेको उनीहरू बताउँछन् ।
स्वास्थ्य समस्या लिएर बिहानै अस्पताल पुगेका बिरामीका लागि उपचारभन्दा पहिले पुर्जा पाउनु नै चुनौती बनेको उनीहरूको भनाइ छ । त्यसमा पनि स्वास्थ्य बीमामार्फत उपलब्ध हुने औषधि पर्याप्त नपाउने गुनासो बिरामीको छ । बीमाबाट पाइने औषधि अस्पतालमा उपलब्ध नभएपछि कतिपय महँगा औषधिसमेत बाहिरका पसलबाट किन्नुपर्ने बाध्यता रहेको उनीहरू बताउँछन् ।
जनशक्ति अभावले कोटा तोक्नुपरेको अस्पतालको दाबी
अस्पताल प्रशासन भने सीमित जनशक्ति र भौतिक पूर्वाधारका कारण ओपीडीमा कोटा निर्धारण गर्नुपरेको बताउँछ । नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा. चितरञ्जन साहका अनुसार स्वास्थ्य बीमाअन्तर्गत जनरल मेडिकलतर्फ दैनिक ३२५, हृदय रोगतर्फ ५० र डायलाइसिसतर्फ ४० जनाको मात्र पुर्जा काट्ने गरिएको छ ।
‘पर्याप्त चिकित्सक भएको भए कोटा तोक्नुपर्ने अवस्था आउँदैनथ्यो,’ साहले भने, ‘तर सीमित जनशक्तिका कारण अहिलेको व्यवस्थापन गर्नुपरेको हो ।’ अस्पतालमा ओपीडीसहित दैनिक करिब १ हजार ४ सय नयाँ बिरामी आउने गरेका छन् । तर स्वीकृत दरबन्दीअनुसार आवश्यक जनशक्ति उपलब्ध नहुँदा सेवा व्यवस्थापन गर्न कठिन भइरहेको अस्पताल प्रशासनको भनाइ छ ।
३२८ शय्या सञ्चालनमा, दरबन्दी भने पुरानै
अस्पतालका सूचना अधिकारी डा. उदय सिंहका अनुसार अहिले नारायणी अस्पतालमा ३२८ शय्या सञ्चालनमा छन् । तर अस्पतालको जनशक्ति संरचना भने पुरानै दरबन्दीअनुसार कायम छ । पछिल्लो समय आईसीयू, डायलाइसिस, एनआईसीयू, पीआईसीयूलगायतका सेवा थपिए पनि ती सेवाको आवश्यकताअनुसार जनशक्ति थप हुन सकेको छैन । यसको प्रत्यक्ष असर बिरामीको सेवा प्रवाहमा परेको अस्पताल प्रशासनको भनाइ छ ।
४५ शय्याको मेडिकल ओपीडीमा दैनिक ७० नयाँ बिरामी
अस्पतालको पूर्वाधारको अवस्था पनि बिरामीको चापअनुसार विस्तार हुन सकेको छैन । कतिपय सेवा र काउन्टरसमेत टहराबाट सञ्चालन गर्नुपर्ने अवस्था रहेको अस्पताल प्रशासनले जनाएको छ । मेडिकल ओपीडीमा ४५ शय्या मात्रै छन् । तर दैनिक ६० देखि ७० जना नयाँ बिरामी थपिने गरेका छन् ।
क्षमताभन्दा बढी बिरामी थपिँदा भर्नाका लागि समेत बिरामीले तीन दिनसम्म कुर्नुपर्ने अवस्था रहेको सूचना अधिकारी सिंहले बताए । अस्पतालमा बिरामीको संख्या निरन्तर बढिरहेको भए पनि त्यसअनुसार शय्या, चिकित्सक, स्वास्थ्यकर्मी र भौतिक पूर्वाधार विस्तार हुन नसकेको अवस्था छ ।
मन्त्रालयमा पत्राचार, समस्या भने उस्तै
अस्पताल प्रशासनले आवश्यक जनशक्ति र भौतिक पूर्वाधार थप गर्न स्वास्थ्य मन्त्रालयमा पटकपटक पत्राचार गर्दै आएको जनाएको छ । तर अपेक्षित रूपमा सुधार हुन सकेको छैन । एकातिर सरकारी अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीको संख्या बढिरहेको छ भने अर्कोतर्फ सीमित जनशक्ति र पूर्वाधारका कारण उपचार सेवामै सीमा लगाउनुपर्ने अवस्था छ ।
दैनिक ३२५ जनाको कोटा पूरा भएपछि घण्टौँ लाइनमा बसेका बिरामीसमेत उपचारबाट वञ्चित हुनु स्वास्थ्य बीमाको सेवा पहुँच र अस्पतालको क्षमताबीचको ठूलो खाडलको संकेत हो । बढ्दो बिरामी चापअनुसार जनशक्ति, शय्या र पूर्वाधार विस्तार नगरेसम्म नारायणी अस्पतालमा स्वास्थ्य बीमामार्फत उपचार लिन आउने बिरामीको पुर्जा पाउनेदेखि उपचार पूरा गर्ने अवस्थासम्मको समस्या समाधान हुन कठिन देखिन्छ ।







प्रतिक्रिया दिनुहोस् !