कलैया (बारा), ५ असोज । बारा निर्वाचन क्षेत्र नम्बर ३ का सांसद अरविन्द साहले लामो समयदेखि अलपत्र निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको काम सार्वजनिक–निजी साझेदारी अर्थात् पीपीपी मोडेलमार्फत तत्काल अघि बढाउन सरकारसँग माग गरेका छन् ।
सोमबार प्रतिनिधिसभाको बैठकमा बोल्दै सांसद साहले विमानस्थल निर्माणका लागि अध्ययन, मुआब्जा, तारबार तथा अन्य पूर्वाधारमा राज्यले अर्बौँ रुपैयाँ खर्च गरिसकेको बताए । उनले सुरुवाती चरणमा करिब ३ हजार हेक्टर क्षेत्रफलमा निर्माण सुरु गरी आवश्यकताअनुसार विस्तार गर्न सुझाव दिए ।
सांसद साहले विमानस्थल निर्माणबाट प्रभावित स्थानीयलाई वैकल्पिक जग्गा र उचित क्षतिपूर्तिसहित सम्मानजनक पुनर्स्थापना गर्नुपर्नेमा जोड दिए । उनले लामो समयदेखि रोकिएको परियोजनाको ठोस निर्माण प्रक्रिया तत्काल अघि बढाउन सरकारको ध्यानाकर्षण गराए ।







प्रतिक्रिया दिनुहोस् !