वीरगंज (पर्सा), ५ असोज । वीरगंजको मुख्य सडक विस्तारका क्रममा सडक सीमाभित्र पर्ने धार्मिक तथा ऐतिहासिक महत्वका मठमन्दिर, मस्जिद तथा अन्य धार्मिक संरचना नभत्काइने भएको छ । धार्मिक सम्पदाको संरक्षण गर्दै सडक विस्तारको काम अघि बढाइने वीरगंज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले बताए ।
मुख्य सडक विस्तारबाट प्रभावित घरधनी तथा उनीहरूका प्रतिनिधिसँग सोमबार भएको छलफलमा मेयर सिंहले धार्मिक तथा ऐतिहासिक महत्वका संरचनालाई यथास्थानमै संरक्षण गर्ने गरी सडक निर्माण अघि बढाउन सम्बन्धित निकायलाई आग्रह गरिसकेको जानकारी दिए । उनका अनुसार धार्मिक संरचनाको संरक्षणलाई समेत प्राथमिकतामा राखेर सडक विस्तारको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिएको छ ।
सडक विस्तारका क्रममा महावीरस्थान मन्दिर, बिर्ता मन्दिर, अलखियामठ तथा छपकैयास्थित इदगाह र कबरगाहलगायतका धार्मिक संरचना यथास्थानमै रहनेछन् ।
प्रभावित घरधनीलाई नक्सापासमा छुट र सहुलियत
छलफलका क्रममा सडक विस्तारबाट प्रभावित घरधनीका समस्या तथा गुनासो सम्बोधन गर्दै मेयर सिंहले नयाँ संरचना निर्माणका क्रममा कायम गर्नुपर्ने ५ फिट सेडब्याकको व्यवस्थामा समेत पुनर्विचार गरिने बताए । मुख्य सडक क्षेत्रमा स्थानीयलाई आवश्यक सुविधा र सहजता उपलब्ध हुने गरी महानगरपालिकाले सहजीकरण गर्ने उनको भनाइ थियो ।
सडक विस्तारका कारण घर तथा संरचना प्रभावित भएका घरधनीलाई नयाँ भवन निर्माण गर्दा नक्सापासमा आवश्यक छुट तथा सहुलियत उपलब्ध गराउन महानगरपालिका तयार रहेको उनले स्पष्ट पारे । यसका लागि आगामी नगरसभाबाट आवश्यक निर्णय गराउने तयारी भइरहेको मेयर सिंहले जानकारी दिए ।
प्रभावित घरधनीले सुनाए समस्या
भेटघाटमा सडक विस्तारबाट प्रभावित घरधनीका प्रतिनिधिहरूले आफूहरूले भोग्नुपरेका समस्या, सम्भावित क्षति तथा नयाँ संरचना निर्माणका क्रममा उत्पन्न हुन सक्ने व्यावहारिक कठिनाइबारे महानगर प्रमुखको ध्यानाकर्षण गराएका थिए ।
छलफलमा सज्जन घिरैया, ओमप्रकाश सिकारिया, सुमन क्याल, निरञ्जन चौधरी, प्रमोद सर्राफलगायत प्रभावित घरधनीका प्रतिनिधिहरूको सहभागिता रहेको थियो । धार्मिक सम्पदाको संरक्षण र प्रभावित घरधनीका समस्यालाई सम्बोधन गर्दै मुख्य सडक विस्तार अघि बढाउने महानगरपालिकाको प्रतिबद्धताले लामो समयदेखि अन्योलमा रहेका सडक प्रभावित क्षेत्रका बासिन्दामा केही सहजताको अपेक्षा जगाएको छ ।







प्रतिक्रिया दिनुहोस् !