वीरगंज (पर्सा), ४ असोज । मधेश प्रदेशमा पछिल्लो एक महिनामा प्याजको मूल्य दोब्बर पुगेको छ । भारतीय बजारमा प्याजको मूल्य बढेसँगै त्यसको प्रत्यक्ष असर मधेशका बजारमा परेको हो । मधेश प्रदेशका बजारमा भदौ महिनामा प्रतिकेजी ६० रुपैयाँ रहेको प्याजको थोक मूल्य अहिले बढेर ८५ देखि ९० रुपैयाँसम्म पुगेको छ । ढुवानी, भण्डारण र खुद्रा व्यापारीको नाफासमेत जोडिँदा उपभोक्ताले प्रतिकिलो १ सय ५ देखि १ सय १० रुपैयाँसम्म तिर्नुपरेको छ ।
व्यवसायीहरूका अनुसार भारतमा आन्तरिक व्यवस्थापनमा कडाइ गरिएपछि त्यहाँकै बजारमा प्याजको मूल्य बढेको हो । भारतबाट आयात हुने प्याजको थोक मूल्य बढ्दा त्यसको असर नेपालमा समेत परेको उनीहरूको भनाइ छ । मधेशमा प्याजको उत्पादन हुने क्षेत्र पर्याप्त भए पनि बजारको माग धान्न भारतमै निर्भर हुनुपरेको व्यवसायीहरू बताउँछन् । उत्पादन, भण्डारण र व्यवस्थापनमा सरकारले पर्याप्त ध्यान दिन नसक्दा आयातमा निर्भरता बढेको उनीहरूको भनाइ छ । अहिले नेपालमा आयात हुने प्याजमध्ये करिब ७० प्रतिशत भारतको महाराष्ट्रस्थित नासिक र ३० प्रतिशत मध्य प्रदेशको इन्दोरबाट आउने गरेको व्यवसायीहरू बताउँछन् ।
कृषि ज्ञान केन्द्रका अनुसार आर्थिक वर्ष २०८१/८२ मा धनुषामा ८ सय ३२ हेक्टर क्षेत्रफलमा प्याज खेती गरिएको थियो । उक्त क्षेत्रबाट १३ हजार ४ सय १७ मेट्रिकटन प्याज उत्पादन भएको थियो । त्यस्तै, मधेश प्रदेशका आठवटै जिल्लामा १० हजार ७ सय ५९ हेक्टर क्षेत्रफलमा गरिएको खेतीबाट १ लाख ५४ हजार ६ सय १३ मेट्रिकटन प्याज उत्पादन भएको थियो ।
प्रदेशमा उल्लेख्य परिमाणमा प्याज उत्पादन भए पनि उत्पादनको समयमा बजार व्यवस्थापन र भण्डारणको उचित व्यवस्था नहुँदा किसानले उत्पादन गरेको प्याज लामो समयसम्म सुरक्षित राख्न नसक्ने अवस्था रहेको व्यवसायीहरूको भनाइ छ । त्यसले बजारमा स्वदेशी उत्पादनको उपलब्धता घट्दा आयातमा निर्भरता बढ्ने गरेको उनीहरू बताउँछन् ।
प्याजसँगै मधेशका बजारमा अन्य दैनिक उपभोग्य वस्तुको मूल्यसमेत बढेको छ । चामल, दाल, तेल, चिनी, पिठोलगायतका खाद्यवस्तुको मूल्य बढ्दा न्यून तथा मध्यम आम्दानी भएका परिवार बढी प्रभावित भएका छन् । विराटनगर बजारमा चिनीको मूल्य प्रतिकिलो १ सय ३० देखि १ सय ५० रुपैयाँसम्म पुगेको छ । एक महिनाअघि ७० देखि ९० रुपैयाँमा पाइने चिनीको मूल्यमा उल्लेख्य वृद्धि भएको हो । जीरा मसिनो चामलको २५ केजीको बोरा २७ सय रुपैयाँ पुगेको छ भने एक महिनाअघि उक्त चामल २२ सयदेखि २३ सय रुपैयाँसम्ममा पाइन्थ्यो ।
खानेतेलको मूल्यसमेत एक महिनामा प्रतिलिटर २ सय ८० रुपैयाँबाट बढेर ३ सय ३० रुपैयाँ पुगेको छ । रहर दाल प्रतिकिलो २ सय १०, मुसुरो १ सय ३५, चना १ सय ६०, कालो दाल २ सय २०, मुङ दाल १ सय ८० र पिठो ९० रुपैयाँमा किनबेच भइरहेको छ । उपभोक्तावादीहरूले अत्यावश्यक वस्तुको मूल्य निर्धारण र बजार अनुगमन प्रभावकारी हुन नसक्दा उपभोक्ता मारमा परेको बताएका छन् । उनीहरूका अनुसार अत्यावश्यक उपभोग्य वस्तुका लागि स्पष्ट मापदण्ड र मूल्य निर्धारण प्रणाली नहुँदा बजारमा मूल्य अस्वाभाविक रूपमा बढ्ने गरेको छ ।
व्यापारीहरूले भने इरान–अमेरिका द्वन्द्वका कारण इन्धनको मूल्य बढ्दा ढुवानी खर्चसमेत बढेको र त्यसको प्रभाव उपभोग्य वस्तुको मूल्यमा परेको दाबी गरेका छन् । उत्पादन तथा ढुवानी लागत बढेकाले बजार मूल्य बढेको उनीहरूको तर्क छ । उपभोक्ताहरूले भने बजार अनुगमनलाई प्रभावकारी बनाउन, मूल्यसूची अनिवार्य गर्न र उत्पादन तथा भण्डारण व्यवस्थापनमा सरकारको ध्यान जानुपर्ने माग गरेका छन् ।







प्रतिक्रिया दिनुहोस् !