वीरगंज (पर्सा), ३ असोज । नेकपा एमालेका नेता एवं पर्साको जगरनाथपुर गाउँपालिकाका पूर्वअध्यक्ष जालिम मियाँका जेठा छोरा नासिर अहमदलाई प्रहरीले हत्या तथा सार्वजनिक न्यायविरुद्धको कसुरमा पक्राउ गरेको छ । पाँच वर्षअघि भएको एक युवतीको मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा प्रहरीले नासिरलाई पक्राउ गरेको हो ।
जगरनाथपुर गाउँपालिका–५ घर भई हाल वीरगंज महानगरपालिका–१३ मुर्लीमा बस्दै आएका ४६ वर्षीय नासिरलाई जिल्ला प्रहरी कार्यालय पर्साको टोलीले शुक्रबार साँझ मुर्लीबाट नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक चक्रबहादुर मल्लले जानकारी दिए ।
प्रहरीका अनुसार नासिरमाथि आफ्नै भाइ जाफिर अहमदकी सालीको हत्या गरेको आरोप छ । जाफिरको जगरनाथपुर–४ घर भएकी अविवाहित सालीको मृत्यु भएपछि शव प्रहरीलाई जानकारी नदिई वीरगंज–१३ मुर्लीस्थित कब्रस्तानमा गाड्ने प्रयास गरिएको घटनामा नासिरसहित अन्य व्यक्तिको संलग्नता रहेको आरोप थियो ।
घटना २०७८ साल असोज २१ गते को हो । युवतीको मृत्यु भएपछि उनको शव गाउँबाट वीरगंजको मुर्ली ल्याएर गोप्य रूपमा दफन गर्न खोजिएको अवस्थामा प्रहरीले हस्तक्षेप गरेको थियो । शव गाड्ने क्रममा नासिर, जाफिरलगायतका व्यक्तिहरू संलग्न रहेको आरोप त्यसबेलै लागेको थियो ।
प्रहरीका अनुसार ती युवतीमाथि जबर्जस्ती करणी भएको र त्यसपछि अत्यधिक रक्तश्रावका कारण सिकिस्त भएकी थिइन् । गाउँकै एक क्लिनिकमा उपचारका क्रममा उनको मृत्यु भएको बताइएको छ । मृत्यु भएपछि घटनाबारे प्रहरीलाई तत्काल जानकारी नदिई शव गुपचुप रूपमा मुर्ली ल्याएर कब्रस्तानमा गाड्न खोजिएको प्रहरीको भनाइ छ ।
घटनापछि प्रहरीले अनुसन्धान अघि बढाए पनि मुख्य आरोपितमध्येका नासिरलाई भने करिब पाँच वर्षपछि पक्राउ गरिएको हो । लामो समयसम्म घटनाको अनुसन्धान प्रभावकारी रूपमा अघि नबढेको र त्यसबेला जालिम मियाँको राजनीतिक पहुँचका कारण प्रहरी अनुसन्धान प्रभावित भएको आरोपसमेत लाग्दै आएको थियो । यद्यपि, उक्त आरोपको स्वतन्त्र पुष्टि भएको छैन ।
पाँच वर्षपछि नासिर पक्राउ परेसँगै उक्त पुरानो मृत्यु प्रकरण पुनः अनुसन्धानको केन्द्रमा आएको छ । प्रहरीले घटनामा संलग्न अन्य आरोपितहरूको समेत खोजी भइरहेको जनाएको छ। उनीहरू हालसम्म फरार रहेको प्रहरीको भनाइ छ । प्रहरीले नासिरमाथि लागेको आरोपबारे थप अनुसन्धान भइरहेको जनाएको छ ।







प्रतिक्रिया दिनुहोस् !